सभापतिमा सहयोग माग्न बोहोराटार पुगेका निधिलाई पौडेलले फर्काए यस्तो जवाफ


सभापतिमा सहयोग माग्न बोहोराटार पुगेका निधिलाई पौडेलले फर्काए यस्तो जवाफ

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । बुधबार विहान निधि पौडेल निवास बोहोराटार पुगेका थिए ।

सभापति शेरबहादुर देउवा समर्थन गर्न सक्ने बताएपनि १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधिले संस्थापन इतर पक्षसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

असार ७ गते यता निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच निरन्तर छलफल गरिरहेका छन् ।

केन्द्रीय सदस्यको भेला बोलाउने र १३ औं महाधिवेशनका सभापतिका उम्मेदवारसँग छलफल गर्ने  निधि, कोइराला र सिंहबीच मंगलबार सहमति भएको थियो ।

सहमति भएको भोलिपल्ट उपसभापति निधिले वरिष्ठ नेता पौडेललाई भेट्न बोहोराटार पुगेर आफू सभापतिमा उपयोग गर्न आग्रह थियो। 

तर पौडेलले सभापतिको उम्मेदवारी भन्दा स्वच्छ र निष्पक्ष महाधिवेशन हुने गरी तयारीमा लाग्न निधिलाई जवाफ फर्काए ।

निधि नेतृत्वको समायोजनका कामहरू र क्रियाशील सदस्यतामा देखिएका विवादबारे हल गर्न सहयोगी भूमिका खेल्न निधिलाई पौडेलको आग्रह थियो ।

उम्मेदवारी खडा गरेर दगुर्नुभन्दा महाधिवेशनको पृष्ठभूमि तयार गर्न निधिलाई आग्रह गरेको पौडेलले बताए ।

‘उहाँलाई पहिले महाधिवेशन गराउन आफ्नो तर्फको जिम्मेवारी पनि पूरा गर्नुस् । अनि सभापतिमा कसले कसलाई सहयोग गर्ने कुरा त्यसपछि कुरा गरौंला भनेँ’, पौडेलले भने । 

सभापतिको उम्मेदवारीभन्दा समायोजनको विवाद टुंग्याउने र क्रियाशील सदस्यताको मापदण्ड तत्काल पारित गर्ने कुरामा जोड दिनुपर्नेमा निधिसँग पौडेलको जोड थियो । 

निधिले समायोजनको विवाद सकिएको र क्रियाशील सदस्यता विवाद मिलाउन पनि लागि परेको पौडेललाई बताएका थिए । लामो समय देउवासँग सहकार्य गरेका निधिले यतिबेला देउवा इतरसँग बढाएको सम्बन्धलाई पौडेलले निको मानेका छैन ।

देउवाको नेतृत्वमा आफ्नो मान्छेले भोगेको उत्पीडनमा निधि पनि त्यतिकै सहभागी भएको पौडेलको भनाइ छ । निधिसँग सहकार्यको सम्भावना नभएको पौडेलले बताएका थिए ।
-रातोपाती