सुप्रसिद्ध लघुकथा लेखक डा. सतीषराज पुष्करणा रहेनन्


लेखक : लेखापढी      १५ असार २०७८, मंगलवार १६:०६ मा प्रकाशित     
सुप्रसिद्ध लघुकथा लेखक डा. सतीषराज पुष्करणा रहेनन्

वैशाख १५ । काठमाडौं
हिन्दीका सुप्रसिद्ध लघुकथा लेखक एवम् समालोचक डा. सतीषराज पुष्करणाको हिजो २०२१ जुन २८ का दिन निधन भएको छ । उनको निधनमा भारतका विभिन्न लेखकले सम्वेदना प्रकट गरेका छन् ।

लघुकथाकार डा. सतीशराज पुष्करणाको जन्म ५ अक्टोबर १९४६ (विजयादशमी) का दिन भारतको उत्तर प्रदेशको बरेलीमा इन्दुरानी पुष्करणा एवम् पण्डित गिरधारीलाल पुष्करणाका सुुपुत्रका रुपमा भएको थियो । वर्तमानमा उनको बसोबास बिहारको पटनामा रहेको थियो । उनले बियस्सी, विशारद, एमडिएच (होम्योपैथिक) एवम् पटकथा लेखनमा डिप्लोमा उत्तीर्ण गरेको पाइन्छ । पुष्करणाले सन १९६६ देखि १९७६ सम्म शिक्षण सेवामा बिताएको पाइन्छ । उनलाई हिन्दी, अंग्रेजी एवम् पंजाबी भाषाको राम्रो ज्ञान थियो । उनका लघुकथा पंजाबी, उर्दु, मैथिली, भोजपुरी, तमिल, अंगेजी, तेलगु, गुजराती एवम् कन्नड भाषामा अनुवाद भएर प्रकाशित छन् । उनी लघुकथा, कथा, गजल, हाइकु, ताँका, समीक्षा, आलोचना, लेख एवम् निबन्ध लेखनमा पारंगत थिए ।

उनका प्रकाशित लघुकथा कृतिमा वर्तमान के झरोखे से, प्रसंगवश, उजाले की ओर, बदलती हवा के साथ, जहर के खिलाफ, आग की नदी रहेका छन् । उनका उपन्यास, कथा, खण्डकाव्य एवम् महाकाव्य, समालोचना, कविता, हाइकु, ताँका विधामा चालिस पुस्तक प्रकाशित छन् । उनले सम्पादन गरेका लघुकथा सम्बद्ध पुस्तकमा हिन्दीकी चर्चित लघुकथाएँ, बिहारकी हिन्दी लघुकथाएँ, मन्टो और उसकी लघुकथाएँ, समकालीन हिन्दी लघुकथाएँ रहेका छन् । लघुकथा सम्बद्ध समालोचना सम्पादन कृतिमा लघुकथा ः बहस के चौराहे पर, लघुकथा की रचना प्रक्रिया, लघुकथा ः एक सम्वाद, लघुकथा ः सिर्जना और समीक्षा, लघुकथाका सौन्दर्यशास्त्र रहेका छन् । त्यसरी नै सौजन्य सम्पादन कृतिमा ज्योत्सना, अवसर, युवारश्मि, कथाघाट एवम् प्राच्य ज्ञान दर्पण रहेका छन् । उनले विभिन्न पत्रपत्रिकाका लघुकथा अंकको समेत संयोजन गरेका थिए । यसमा पटनाकी हिन्दी लघुकथाएँ, दिल्लीकी हिन्दी लघुकथाएँ, रायबरेलीकी हिन्दी लघुकथाएँ उलेख्य रहेका छन् । डा.पुष्करणाको रचना बिहार माध्यमिक पाठ्यक्रममा हिन्दी पाठ््यपुस्तक ‘साहित्य सरिता’मा सहानुभूति लघुकथा समावेश छ । कुरुक्षेत्र विश्वविद्यालयबाट लघुकथाकार डा. सतीशराज पुष्करणा पुस्तक प्रकाशित छ । यस बाहेक विभिन्न विद्यावारिधि शोधप्रबन्धमा उनको नाम ससम्मान समावेश छ । युद्ध, भागिरथी, पुनः पत्रिकाले पुष्करणा विशेषांक प्रकाशित गरेको छ । पुष्करणाको ‘दिप जल उठे’ लघुकथामा मेट्रो चैनल दिल्लीबाट पन्ध्र मिनटको टेलिफिल्म टेलिकास्ट भएको छ । उनले उत्तर महाराष्ट्र हिन्दी लघुकथामा विकलांगताका चित्रण विषयमा लेख पाठ गरेका छन् ।

डा. सतीशराज पुष्करणाले प्राप्त गरेका सम्मानमा लघुकथा गौरव (अन्तरराष्ट्रिय लघुकथा सम्मेलन, रायपुर, छत्तिसगढ), लघुकथा सम्मान (हिन्दी साहित्य सम्मेलन, प्रयाग), डा. परमेश्वर गोयल लघुकथा शिखर सम्मान, साहित्यकार संसद (समस्तीपुर) बाट अलगअलग दुई कार्यक्रममा खलील जिब्रान एवम् अज्ञेय नामित सम्मान रहेका छन् । यस बाहेक उनले भारतका विभिन्न संघसंस्थाबाट लघुकथा मार्तण्ड, साहित्य श्री (दुई पटक), विद्यावाचस्पति, लघुकथा शिरोमणि, लघुकथा सम्राट, लघुकथा भुषण, लघुकथा रत्न, लघुकथा महारथी आदि उपाधि प्राप्त गरेका छन् ।

हिन्दीका वरिष्ठ लघुकथाकार डा. सतीषराज पुष्करणाप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारजनप्रति हादिक समवेदना ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •