टेलिभिजनका कथा: संस्मरण


लेखक : लेखापढी      १४ असार २०७८, सोमबार १६:३१ मा प्रकाशित     
टेलिभिजनका कथा: संस्मरण

स्कुल जाँदै गर्दा बाटोमा कमलीले भनी “हिजो त हामी टिभी हेर्न गाको नी गणेशस्थान यादव दाईको घरमा ।” मैले पहिलो पटक सुनेँ, “टि.भी. के हो, टि. भी. भनेको ?” मेरो प्रश्नको जवाफमा उसले भनेकी थिई “एउटा बक्साजस्तो सानो भाँडोमा मान्छेहरू बोल्ने, हाँस्ने हिँड्ने सबै गर्दा रहेछन । त्यति मात्र हो र हाम्रो देशको राजारानी पनि देख्यौं हामीले टिभी मा ।”

उसको कुरा सुनेपछि मलाई पनि टिभी कहिले हेरौं जस्तो लाग्यो । स्कुलमा खुल्दुली लागिरह्यो ।

“मलाई पनि बोला है टिभी हेर्न जाने बेलामा । म पनि जान्छु ।” स्कुल छुटेर घर नजिक पुगेपछि मैले उसलाई भनेकी थिएँ । उसले “हुन्छ” भनेर टाउको हल्लाएकी थिई ।

माख्लापट्टिको झ्यालबाट मुन्टो उठाएर कति चोटी हेरेँ । नबोलाई जान्छे कि भनेर ।

बेलुका घरमा खुब कुरा गरेँ टिभीको । यस्तो आउँछ रे, उस्तो आउँछ रे भनेर । कहिले त्यो रात जाला जस्तो भयो । भोलिपल्ट कमलीले कुन बेला बोलाउँछे भनेर चनाखो भइरहेँ । माख्लापट्टिको झ्यालबाट मुन्टो उठाएर कति चोटी हेरेँ । नबोलाई जान्छे कि भनेर । उसको घरभन्दा अलि तल थियो हाम्रो घर । दश बजेतिर कमलीले आँगनबाट बोलाई, “तारे ! आइजो !!”

म कुदेर उसको आँगनमा पुगेँ कति छिटो । एउटा टोली नै बन्यो टिभी हेर्न जाने हामीसँग । मैयाँ दिदीको नेतृत्वमा हामी गणेस्थानतर्फ लाग्यौं । त्यतिखेर गाउँमा सबैको नाम बिगारेर बोलाउने चलन थियो । कमला (कमली, तारा (तारे), रेनुका (रेन)े, सबैको नाम पछाडी रे झुण्डाएर बोलाउँथे । कति मिठो लाग्यो त्यसरी बोलाउँदा पनि । कुनै बनावटी थिएन सम्बोधनमा । सरल र नि निस्वार्थी मन त गाउँमै भेटिन्छ अहिले पनि ।

त्यतिखेर तेस्रो सार्क शिखर सम्मेलन नेपालको काठमाडौंमा अर्थात हाम्रो देशमा भइरहेको रहेछ । कालो सिसा भएका गाडीहरूमा विदेशी आगन्तुक पाहुनाहरू आउदै गरेको देखिन्थ्यो भने राजा वीरेन्द्र र रानी ऐश्वर्यले हात मिलाएर पाहुनाहरूको स्वागत गरिरहेको दृश्य कैद हुन्थे हाम्रा आँखाहरूमा ।

टिभी भाको घरमा पुग्यौं हामी । यादव दाईको आमाले टिभी खोल्नुभयो । चप्पल बाहिर फुकालेर लस्करै बैठक कोठामा टिभी हेर्न बस्यांै । त्यतिखेर तेस्रो सार्क शिखर सम्मेलन नेपालको काठमाडौंमा अर्थात हाम्रो देशमा भइरहेको रहेछ । कालो सिसा भएका गाडीहरूमा विदेशी आगन्तुक पाहुनाहरू आउदै गरेको देखिन्थ्यो भने राजा वीरेन्द्र र रानी ऐश्वर्यले हात मिलाएर पाहुनाहरूको स्वागत गरिरहेको दृश्य कैद हुन्थे हाम्रा आँखाहरूमा । फोटोमा देखेको राजारानीलाई टिभीमा पहिलो चोटी देखेको थिएँ । यो सार्क शिखर सम्मेलन सन् १९८७ अर्थात् वि.स.२०४४ सालमा प्रधानमन्त्री मरिचमान सिंहको आयोजनामा भएको थियो । त्यस समारोहलाई मैले पहिलोचोटी टिभीमा हेरेको थिएँ ।

टिभीको विज्ञापन खुबै भयो गाउँमा । हामीले नै स्कुलमा सुनायौ धेरै कुराहरू टिभीका । चारैतिर यादव दाईको घरको टिभीको कुरा फैलिएपछि टिभी हेर्न आउने मान्छेको घुइँचो लाग्न थाल्यो घरमा । अब भने टिभी झ्यालमा राखेर देखाउन थाले । आँगनभरि मान्छेहरू हुन्थे । सार्क सम्मेलन सकिएपछि टिभी दिउँसो आउँदैनथ्यो । बेलुका ६ बजेदेखि प्रसारण हुन्थ्यो टेलिभिजन । हामी बेलुका राँको बालेर टिभी हेर्न गणेस्थानसम्म पुग्थ्यौं ।

दोस्रो टेलिभिजन लप्टन भिनाजुको घरमा ल्याएपछि भने हामीलाई दुरी कम भयो । त्यहाँ रामायण हेर्न जान्थ्यौं । उनीहरूले घरको बार्दलीमा टिभी राख्दिन्थे। आँगन पर्खालको डिलमा बसेर खुब हिन्दीमा रामायण हेरियो । भाइ पनि मसँग टिभी हेर्न जान थालेको थियो । केटाकेटी डराउँछन् अँध्यारोमा घर फर्किँदा भनेर भाउजू पनि जानुहुन्थ्यो हामीसँग । फर्किदाँ राँको बालेर फर्किन्थ्यौं । खुब रमाइलो हुन्थ्यो ।

बिस्तारै टेलिभिजन गाउँमा भित्रिने क्रम बढ्दै गयो ।

अब भने माख्लो घर नारायण दाइको घरमै टेलिभिजन आयो । एकदिन दाइले भन्नुभयो “राती राती टिभी हेर्न जाने होइन है कोहि पनि ।”

दाइ कुन बेला सुत्नुहोला र टिभी हेर्न जानु भनेर बसिराखेकी थिएँ । दाइ कोठामा छिरेपछि म र भाइ कानेखुशी गर्दै भर्र्याङ् ओर्लियौं र मूल ढोकामा बाहिरबाट ताल्चा लगाएर टिभी हेर्न गयौं । फर्किँदा भर्र्याङ्मा ठोकिएर नाकबाट धेरै रगत बग्यो । नाक दुखेर खपिनसक्नु हुदाँपनि कसैलाई केही नभनेर मुख छापेर पीडा लुकाएँ । शुक्रबार दाइ काठमाडाैंबाट घर आउनुहुन्थ्यो । हामी चहिँ दाइ नआए पनि हुन्थ्यो भन्ठान्थ्यौ । किनभने दाइले टिभी हेर्न जान दिनुहुन्थेन । दाइ स्वास्थकर्मी, आर्मी हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो । हप्तामा एकचोटी घर आउनुहुन्थ्यो ।

गुलाफ एकैचोटी फुल्छ लक्ष्मीप्रसाद देवकोटाको शकुन्तला महाकाव्यबाट बनेको टेलिफिल्म । खुब मन परेको थियोयो टेलिफिल्म मलाई । धुव्रचन्द्र गौतमको उपन्यास “अलिखित” मा पनि टेलिफिल्म बनेछ ।

टेलिफिल्म हेर्ने लत लागेको थियो । एक भाग नछुटाई हेरिन्थ्यो । गुलाफ एकैचोटी फुल्छ लक्ष्मीप्रसाद देवकोटाको शकुन्तला महाकाव्यबाट बनेको टेलिफिल्म । खुब मन परेको थियोयो टेलिफिल्म मलाई । धुव्रचन्द्र गौतमको उपन्यास “अलिखित” मा पनि टेलिफिल्म बनेछ । तराईको जनजीवनमा आधारित टेलिफिल्म । उपन्यासकार लिलाध्वज थापा को उपन्यास “धन मन” बाट बनेको टेलिफिल्म “धनमन” । रंगकर्मी, बेजोड अभिनयकी धनी निशा शर्मा र अंशुमाला खनालको एउटा कोठाको मान्छे, मलाई खुव मन परेको र मैले एक भाग पनि नछुटाई हेरेको टेलिफिल्महरू हुन् ।

त्यतिखेर सोचेको पनि थिइनँ । राँको बालेर टेलिभिजन हेर्न जाँदा यो टेलिभिजन स्थापना गर्ने नीर शाहज्यूसँग मेरो भेट होला भनेर । नसोचेकै भयो । साहित्य क्षेत्रले मलाई उहाँको हातबाट मायाको चिनो लिने अवसर दिलायो ।

x“अलिखित” टेलिफिल्म हेर्दा हाम्रो तराईमा यस्तो पिछडिएका गाउँबस्ती पनि छन् र जस्तो लाग्थ्यो ? साहित्य कर्मले त्यो माटो छुने अवसर पनि दिलायो । धन मन टेलिफिल्म हेर्न जाँदा नाक ठोकिएर महिनौंसम्म नाक छाम्दै हिँडेकी म । त्यसै टेलिफिल्मका लेखक र उपन्यासकार लिलाध्वज थापा साहित्य प्रतिष्ठानबाट कविता प्रतियोगितामा पहिलोचोटि सर्वोत्कृष्ट भई पुरस्कार पाउँदा खुशीले नाक बढेको पनि भुल्न कहाँ सक्छु र म ? अभिनय कला अति मनपर्ने रंगकर्मी र चलचित्रकर्मी निशा शर्मा, अंशुमाला खनाल र नायक सरोज खनालको माझमा मुक्तक सुनाएर सम्मानपत्र लिदाँ पनि मैले त्यति बेलाको टेलिभिजनमा हेरेकोू एउटा कोठाको मान्छेू सुनाएको थिए। निशा दिज्यु खुशी हुनुभएको थियो ।

काठमाडौंबाट ३० किलोमिटर पर बस्ने हामी काभ्रेवासीले भने २०४४ सालमा टेलिभिजन हेर्न पाएका थियौं ।

२०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको रहेछ । यस टेलिभिजनको संस्थापक नीर शाह हुनुहुन्छ भने २०४२ पुस १४ बाट नेपाल टेलिभिजको प्रसारण भएको रहेछ । काठमाडौंबाट ३० किलोमिटर पर बस्ने हामी काभ्रेवासीले भने २०४४ सालमा टेलिभिजन हेर्न पाएका थियौं । सत्तरीको दशकमा आइपुगेपछि १ वर्ष अगाडि वि.स. २०७७ मा नन्दकृष्ण जोशी दाइको निमन्त्रणामा साहित्यिक कार्यक्रम “चौतारी” मा भाग लिने सिलसिलामा नेपाल टेलिभिजनको स्टुडियोमा टेक्ने अवसर मिलेको थियो । जुन चिजहरूसँग लगाव हुन्छ, अवश्य साक्षत्कार हुने अवसर आफै जुर्दै आउँदो रहेछ ।


तारा केसी


(तारा केसी बहुविधाकी लेखक हुन् । उनले यस लेखमा आफ्नो बाल्यकालीन संस्मरणलाई प्रस्तुत गरेकी छिन् ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 231
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    231
    Shares