किनकी तँ अचानो होस्


लेखक : लेखापढी      १२ असार २०७८, शनिबार १५:४१ मा प्रकाशित     
किनकी तँ अचानो होस्

धारे, भुत्ते, लिँडे, लुतुरे हतियारहरू बर्सिरहँदासम्म,
घाँटी रेटीरेटी गिँड बनेर सकिन्जेलसम्म,
पीडाका आँसुले आकलझुकल पारिरहे पनि
ऐया दुख्यो भनेर पनि संकेत नगर्ने तँ
आफुलाइ खुकुरी भनेर नसोच्
किनकी तँ अचानो होस् ।

सभामै द्रौपदीको चिरहरण भएपनि मुकदर्शक रहँदासम्म,
रोदनभित्रको हाँसो लुकाएर चोटहरू सहिरहन्जेलसम्म,
अन्यायमा विद्रोह गर्न नसकेर जयकारको हवनकुण्डमा होमिइरहन्जेलसम्म,
ऐया दुख्यो भनेर पनि संकेत नगर्ने तँ
आफुलाइ खुकुरी भनेर नसोच्
किनकी तँ अचानो होस् ।

दु:खपछि सुख आउला भनेर पर्खि बसेसरि
भरिएको जोसिलो जवानीमा पनि आस मरेसरि
दृष्टिको पुञ्ज विलिन भएसरि जिउँदो लास बनेर
ऐया दुख्यो भनेर पनि संकेत नगर्ने तँ
आफूलाइ खुकुरी भनेर नसोच्
किनकी तँ अचानो होस् ।

आमाको धोति बेचेर पेटिकोटमा सिमित परिरहँदा
बुवाको कछाड बेचेर रक्सी खाँदै मातिइरहँदा
स्वाभिमान लिलाम गरेर शिर झुकाउँदै पश्चाताप गर्दा
ऐया दुख्यो भनेर पनि संकेत नगर्ने तँ
आफुलाइ खुकुरी भनेर नसोच्
किनकी तँ अचानो होस् ।

बिम्बबिम्बमा प्रतिबिम्बको नौलो आयाम नदेख्दासम्म,
पानीको स्वाद कफिभित्र खोज्ने बानि नछुटाउँदासम्म,
पिडाको बाँसुरीले मनको यथार्थ राग नचिन्दासम्म,
ऐया दुख्यो भनेर पनि संकेत नगर्ने तँ
आफुलाइ खुकुरी भनेर नसोच्
किनकि तँ अचानो होस् ।


शिवराज कलौनी
महेन्द्रनगर, कञ्चनपुर


(शिवराज कलौनी महेन्द्रनगर, कञ्चनपुरका वासिन्दा हुन् । उनी नेपाली र डोट्याली भाषाका विभिन्न विधामा कलम चलाउने गर्दछन् ।)