छायादत्त न्यौपानेका दुई लघुकथा


छायादत्त न्यौपानेका दुई लघुकथा

पुरुषार्थी छोराछोरी

“जित सर ! ओ जित सर !” अलिक कडक आवाज आयो । उफ् ! एकाएक घरमै ? त्यो सहायक मोराले सुइँको पनि दिएन । त्यसमा त्यत्रो विश्वास गरेको त आज अपराधी खोज्दै घरमै प्रहरी आउँदा पत्तो दिँदैन, कतै उतै मिल्यो कि ! जे होला ! जितमानले उस्तै कडक स्वर निकाल्दै “को हो हँ किन चिच्याएको ! कानै फाट्ने गरी ?” भने तलबाट “ल, तल आउनुहोस् ! लुगा लाएर आउनु है ! फर्कने कहिले हो ? टुङ्गो छैन ।”

परिवारका सदस्य छक्क । वरिपरिबाट छिमेकीले पनि झ्याल खोले । तैपनि जितमानले “म जितमान हुँ सधैं जितिरहने ! तिमीहरू नआत्तिई बस ! म आइहाल्छु ।” भनेर “यो केही होइन् ।” जसरी परिवारलाई आश्वस्त पारे । हुन पनि जितमान अख्तियार पुग्दानपुग्दै फोनैफोनबाट त्यही गाडीमा घर फर्के । कस्तो अचम्म ! कति शक्ति !

जितमान मक्ख पर्दै ओर्लेर गाडीतिर नफर्की घरभित्र पसे । छोराछोरीले बैठकमा बोलाए । एक गिलास चिसो पानी खान दिए । सल्लाह अनुसार नबुझेझैं गरी जेठो सनमले सोधे “को थिए बाबा तिनीहरू ?” छोराछोरीले यसरी प्रश्न कहिल्यै गरेका थिएनन् । उनी असमञ्जस्य भएपनि सम्हालिन त खोज्ने नै भए ।

“को हुनु नि ।”

तपाईंहरूले गर्दा हामी घुस्याहा बा र धनको मात चढेकी आमाका सन्तान भनेर बदनाम भयौं ।

“अफिसका साथीहरू !” उनले सामान्यीकरण गर्ने चेष्टा गरे । छोराछोरीले पत्याएनन् । उनीहरूलाई बाबाको अनैतिक कमाइ र आमाले छिमेकीसित गर्ने पूर्ति मन परेको थिएन । आज बाको घुस्याहा र आमाको अहङ्कारी प्रवृत्ति तह लाइछाड्ने अठोट गरे । उनीहरूले आमालाई पनि बैठकमा बोलाए । तीनै जना एक मुख भएर अब आइन्दा बाबाले अनैतिक कमाइ गरेको, आमाले अरूसित गरगहना र घरजग्गा यति छ उति छ भनेर अहङ्कार देखाएको थाहा पाए हामी आफै तपाईंँहरू विरुद्ध अख्तियारमा उजुरी दिन्छौं । तपाईंहरूले गर्दा हामी घुस्याहा बा र धनको मात चढेकी आमाका सन्तान भनेर बदनाम भयौं । कति साथीहरू हामीसँग बोल्न चाहँदैनन्, सँगै खेल्ने खाजा खाने त परको कुरा । बाहिर सबैतिर बेइज्जत ।

छोराछोरीका कुरा सुनेर दुवै जना “तिमीहरूका लागि……।” बिचैमा रोके तीनै जनाले र भने–“हामी आफै कामयाब हुन चाहन्छौं । बाआमाको कमाइमा पुरुषार्थ देख्ने पराश्रित हुन चाहन्नौं । हामी आफै केही गर्न नसक्ने नामर्द हैनौं । सन्तानलाई सक्षम बनाउने हो, धन थुपारिदिने होइन असल अभिभावकले ।” यति के भनेका थिए । बुढाबुढी दुवैले भुइँतिर हेर्न थाले । छोराछोरी कापीकलम च्यापेर क्याम्पसतिर लागे ।

जागिर

“नेताज्यू नमस्कार ! हैन मेरो छोरालाई कहिलेसम्म बेराजगार राख्ने हो ? सानोतिनो जागिर लाइदिनु परेन भन्या ।” सनतका बाले आफ्नो आवश्यकता सुरुमै तेस्र्याउनुभो । नेतालाई काम लाग्ने मान्छे, भइहाल्छ नि भनेर नपुग्ने ।

उनले “यति योग्यतालाई कहाँ जागिर पाइएला र हजुर ।” कानमै मुख पुर्याएर नेतासँग भने ।

उनले अलिकति मुन्टो घुमाएर स्वकीय सचिवलाई नाम टिप्न अराए । सचिवले नामसँगै शैक्षिक योग्यता पनि सोधे । सनतका बाले सानसित भने “टेस्ट पास छ ।” सचिव झस्के । उनले “यति योग्यतालाई कहाँ जागिर पाइएला र हजुर ।” कानमै मुख पुर्याएर नेतासँग भने ।

नेताजीले आौंलाले चुप लाग्न सङ्केत गर्दै भने “तिमीलाई थाहा छैन ? कहिले ढुङ्गा हानेर सरकार तर्साउने, कहिले ढुङ्गा हानेर आन्दोलनकारी जिस्क्याउने, कहिले आन्दोलन, कसले कुन रुपमा गर्दै छ, पहिल्यै थाहा पाउन यस्तैलाई तालिम दिएर तयार पार्ने हैन ? तिमीहरू पढेरलेखेकाहरू गजक्क फुल्छौ, ढुङ्गा हान्न र फिरौती उठाउन मान्दैनौ ?”


(छायादत्त न्यौपानेको जन्म पर्वत जिल्लामा भएको हो । उनी एक कुशल लेखक, प्राध्यापक, संगठनकर्ता एवम् सम्पादकका रुपमा प्रसिद्ध छन् । यस पटक हामीले बहुविधाका लेखक छायादत्त न्यौपानेका दुई लघुकथा प्रस्तुत गरेका हौं ।)