ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक स्थल : “राखू”


[ss_social_share]
लेखक : लेखापढी      ११ असार २०७८, शुक्रबार १४:५१ मा प्रकाशित     
ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक स्थल :  “राखू”

ओझेलमा परेको ऐतिहासिक, पुरातात्विक स्थल:  मानवशास्त्रिय तथा समाजशास्त्रिय अध्ययन र पर्यटनको संभावना

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र हालको गण्डकी प्रदेश अन्तर्गत पर्ने धौलागिरी अञ्चल म्याग्दी जिल्लाको शोभायमान उच्च शिखर धौलागिरी हिमालको अग्रभाग तथा नेपालको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ समिपबाट अविरल बग्ने कालिगण्डकी (कृष्णगण्डकी, शालीग्राम युक्त नदी) र धौलागिरी हिमश्रृंखला बाट उद्गम भई राखूको पश्चिम हुँदै बग्ने रंघुगंगा जस्ता दुई नदिको संगमस्थल एवं धार्मिक स्थल गलेश्वरधाम देखी लगत्तै उत्तर पश्चिम फैलिएको हाल रघुगंगा गाऊपालिकाको वडा नं २, ३ अवस्थित साथै अन्नपूर्ण र निलगिरी हिमश्रृंखलाहरुले शोभायमान अति नै मनोरम स्थल “राखू” हो । जसले ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक तथा मानवशास्त्रिय तथा समाजशास्त्रियबाट पनि यो क्षेत्रको अध्ययन अनुसन्धानमा यसको आफ्नै महत्व तथा पर्यटन संभावना बोकेको छ ।

राजाको दरवार:

सामरिक, भौगोलिक तथा सुरक्षाको हिसाबले सुरक्षित भएको यो ठाँउ हाल भग्नावशेष रुपमा रहेको “रुईसे दरबार” बाइसे चौविसे राज्यको भन्दा पनि अघि स-साना  राजाहरुको समयमा यो ठाँउ अति नै रमणिय थियो । बाईसे चौबिसे राज्य भन्दा अगाडि त्यहाँ दरबार र त्यहाँबाट राज प्रशासनको काम गर्दथे भन्ने कुरा त्यहाँको भग्नावशेष दरबार तथा अन्य प्रशासनिक स्थलले प्रष्ट पार्दछ । यो ठाँउ यस्तो रमणीय छ जहाँबाट म्याग्दी जिल्लाको सदरमुकाम बेनी देखिन्छ । यहाँबाट देखिने बेनी बजार चौबिसे राज्यको समयमा पर्बत राज्यको टक्सार सँगै मलेबम्मको दरबार थियो । यही नदिको मार्ग हुँदै भारत, भोट तिव्वत चिनसँग व्यापार गर्ने मार्ग हो । यस ठाँउबाट राम्रो सँग चिहाएर हेर्ने हो भने मानिस हिडेको पनि देख्न सकिन्छ । यहाँको भग्नावशेष अनुसार त्यहाँ दरवार, दरवार वरिपरि अन्य घरहरुको जहाँ सिपाही बस्ने ठाँउ र अन्य प्रशासनिक भग्नावशेष छन । दरबार भन्दा तल सिपाहीको परेड खेल्ने ठाँउ, रामकोट, सति फराल्ने भिर र भर्लाकोट छन । यो माथिको चुचुरोमा थापाकोट छ भने तल्लो चाँहीमा दरवारका भग्नावशेष छन । त्यही दरवाबाट पश्चिम उत्तर तिर ओखलेपानि छ । यो चाही राजाहरुको पानी लिनको लागि बाटो छ । त्यो पनि पुरातत्व तथा मानवशास्त्रिय दृष्ट्रिकोणमा एक महत्वपुर्ण ठाँउ हो । यो दरबार सँगै त्यहाँ अन्य स्थलहरु छन जसले राजा सँग सम्वन्धित छन ।

राजाको चौतारो:
रुईसे दरवार देखि उत्तर तर्फ डाँडै डाँडा गए पछि एउटा पुरानो एतिहासिक ठुला ठुला ढुङ्गा बाट भव्य रुपमा चिनिएको चौतारो छ । त्यस चौतारोमा मानिसहरु घाँस दाउरा आउँदा जाँदा भारी विसाउने गर्दछन । सवैको जनजिभ्रोमा यसलाई राजाको चौतारो भन्ने गरिन्छ । यस चौतारोमा चिनिएका ढुङ्गाहरुले तात्कालिन समयको अवस्था र चलन प्रचलनको समयको जानकारी दिन सक्तदछ । यसले तात्कालिन सयमलाई चित्रण गर्न सक्छ । यहाँबाट देखिने मनोरम दृश्य आफ्नै प्रकारको छ । जसले पर्यटकलाई मनै लोभाउने छ ।

राजाको पँधेरो (पानि खाने ठाँउ जाखुरपानि तथा ओखले पानी)
राजाको दरवार बाट उत्तर पूर्व तर्फ गए पछि दाहिने पट्टि एउटा पँधेरो छ जसलाई राजाको पँधेरो भनिन्छ । उक्त धारा बर्षमा मात्र पानि हुने हुँदा बनाइएको हुन सक्छ वा तात्कालिन समयमा कँहिबाट ल्याई धारा बनाईको पनि हुन सक्छ । अझ पर पनि धारा छ त्यसलाई जाखूरपानि भनिन्छ । त्यहाँ धेरै पछि सम्म पनि तात्कालिन समयमा प्रयोग गरिएका हतियारहरु लुकाएर राखेका थिए ।

राजाको पानी खाने ओखल (ओखले पानी)
यो ओखल राजाको दरवार देखी पश्चिम उत्तर तिर लगभग १ किलोमिटर पश्चिममा पहाडको चट्टानबाट रसाएको पानी लाई सँङ्गाली राजाको लागि खाने पानी को व्यव्स्था गरिएको थियो । त्यहाँ दुइवटा ठुला ठुला चट्टान खोपेर ओखल बनाइएको थियो । अझै पनि साना साना गाग्री अटने कुवा थियो रे तर हाल आएर उक्त ओखल पुरिएको अवस्था थियो अहिल खनिएको छ । त्यो ओखल पनि पुरातत्विक तथा मानवशास्त्रिय रुपमा अध्ययन गरि तात्कालिन समयको चित्रण गर्न सकिन्छ ।

ताराखसेको ठाँउ:
कालान्तरमा राखूको रुइसेदरवारबाट राजा घोडा चढि रुईसे दरवार हुँदै थाम जाने गर्दथे रे । त्यहाँ राजाले घोडा दौडाउदथे रे कालान्तारमा त्यहाँ पनि एक आकाशबाट पिण्ड वा तारा खसे पछि त्यहाको जमिन हल्लिन पुगि त्यस भेगमा पहिरो गएको थियो । पहिरो जाँदा राम्रो माटो मौवाफाटमा गएर बसेछ र ढुगाँ जति सँसारे देखि खाउसिन डाँडा सम्म गएको हो भन्ने भनाई छ । हालको भुगोलले पनि त्यही देखाउँछ । यो तारा खसेको ठाँउमा तत्कालिन समयमा बाज समात्ने गर्दथे । सायद यो मुसलमान कालिन युगमा पनि पठाउने चलन थियो होला । योे खाल्डो निकै गहिरो थियो रे तर हाल आएर बर्षाको पानिले गर्दा यो पुरिदै गएको छ ।

कोट:
कोट भन्नाले हात हतियार राख्ने ठाँउलाई बुझ्न सकिन्छ भने अर्को अर्थमा कोट भन्नाले शिखर टाकुरलाई पनि भन्ने गरिन्छ । धेरै विद्धान हरुले कोट भनेको संस्कृत शव्द कूत बाट कोट बन्न गएको हो भन्ने भनाई पनि छ । नेपाली शव्द भण्डारमा कोट भन्नाले क्षेप्यास्त्र वा आणविक शक्ति प्रयोग गर्ने राख्ने थलो । राज्यको सिमा सुरक्षा आदिको व्यवस्था गर्ने ठाँउ वा केन्द्र गढी वा थूप्रो परेको ठाँउ वा सैनिक छाउनी आधुनिक व्यारेकालाई कोट जनाउँछ । वाईसे चौविसे राज्यको शासनकालमा तथा भुरे टाकुरे राजाको पालामा कोटमा हातहतियार राख्ने गर्दथे । त्यहाँ शक्तिको नित्यपूजा गर्दथे जुन परम्परा हाल सम्म पनि यथावत छ । यसरी यहाँ पनि परापुर्वकालमा कोटको रुपमा अपनाउदै आएको थापाकोट, रामकोट, डढेकोट र भर्लकोट छ । भर्लकोटमा भगवति देविको मन्दिर स्थापना गरि शक्ति देविको पुजा गरिने परम्परा चलिआएको छ ।

सुत्केरी ले गाडेको ढुङ्गो :
राजाको दरवार देखि उत्तर केही पुर्व तर्फ डाडै डाँडा जाँदा अझ लाग्दा थापाकोट, ताराखसेको डिल भन्दा पुर्व तलको क्षेत्रमा एउटा ठुलो ढुङ्गगा जमिनमा गाडिएको छ त्यो चाही सात दिनको या नौदिनको सुत्केरीले गाडेको हो भन्ने सामाजिक इतिहास छ ।

राजाको विसौनी:
राजाको दरवार देखी उत्तर पुर्व तर्फ आधा किलोमिटर माथि गए पछि हल्का पुर्व लाग्दा एउटा ढुङ्गामा राजा सुत्ने गर्दथे रे । त्यही ढुंगालाई कुँदेर सिरानी जस्तो पनि बनाईएको छ । यो एक कलात्मक तरिकाले एउटै ढुङ्गालाई त्यही नै सिरानी र राजा सुत्ने विस्तारा बनाईएको छ । त्यस ढुङ्गामा सिरानी गरि राज सुत्ने भएको हुँदा अहिले पनि सवैको जनजिव्रो मा राजाको सिरानी भनेर चिनिन्छ ।

हात्तिबान्ने गह्रो:
राजाको दरवार भन्दा तल १०० मिटर एउटा ठुलो सम्म परेको स्थान छ । हाल त्यस ठाँउलाई पर्खाल लगाएर व्यक्तीको जग्गा बनाइएको छ । जसलाई हात्ति बान्ने गह्रो भनिन्छ । स्थलगत रुपमा हेर्ने हो भने साच्चिकै हात्ति बान्ने जस्तो छ । ठुलो समतल परेको स्थान भएको हुँदा सायद यसमा परापुर्वकालमा हात्ति नै बानीन्थ्यो होला जसरकारण यसको नाम हात्ति बान्ने गह्रो रहन गयो । राजा महाराजाहरुको सवारी पनि हात्ति बाट हुने भएकोले त्यहाँ हात्ति बाध्ने स्थानका कारण यसको नाम रहन गयो ।

राजाको रौतेलो गाडेको जुप्रो:
हात्ति बान्ने गह्रो सँगै एउटा गराको विचमा एउटा थुम्कोे छ । जसमा परापुर्वकालमा राजाको छोरो वा रौतेलो गाडेको भएकोले यो स्थानलाई राजाको रौतेलो गाडेको ठाँउ भन्दछन । त्यहाँ एक सामाजिक कथा छ । केही समय अघि त्यो रौतेले गाडेको थुम्को लाई सम्मो बनाई हालका जग्गाधनिले खेति लगाएर उपभोग गरेका थिए । तत्पश्चातप उनको घरमा अशान्ती भैरहने तथा आफ्ना घरमा भएका एक छोरा पनि अचनाक गुमाएछन । धार्मीक मान्यता अनुसार उनको त्यो थुप्रो विचलन गरेको ले त्यही भएको हो भन्ने कुरा भएपछि फेरी त्यस ठाँउलाई नचलाई थुप्रो नै बनाएर राखिएको छ भने अहिल आएर उनीहरुले आजा पुजा गर्ने चलन छ ।

रानी विसौनी चौतारा :
यो चौतारा भगवतिबाट वेगखोला जाने बाटोमा पर्दछ । यहाँ महारानी सुर्वण प्रभा वा कुनै महारानी मुक्तिक्षेत्र जाँदा रानी चढेको डोलीमा त्यस ठाँउमा विसाएको हुँदा उक्त चौतारालाई रानि विसौनि चौतारा भन्ने प्रचलनमा छ ।

भगवति मन्दिर :
वैदिक कालमा कठोर तपस्या पश्चात, दानव महिसासुर अत्याधिक शक्तिशाली भएपछि, उसको महत्वाकांक्षा चरमोत्कर्ष पुगेपछि देवताहरुको स्वर्गनै कव्जा गर्न खोज्दा, महिसासूर दानवको बध गर्न उनिहरुमा भएको शक्ती एकिकृत गर्दा भगवान शिव ,विस्नु, बर्मा को मुखबाट एउटा यस्तो प्रकाशयूक्त वाणी आयो जसबाट दश हात भएकी एक शक्तीशाली यौवन महिला हातमा हतियार लिएर प्रकट भइन जसको शक्तिलाई नै दुर्गा नाम भनियो र ति दुर्गाले महिसासुर राक्षस सँग नौ दिन नौ रात सम्म महिसासुर सँग लडे दशौ दिनको आश्विन शुल्क पक्षमा ति दुर्गाबाट राक्षस महिसासुर बध गरिएको हुँदा त्यसै दिनलाई विजयादशमिको रुपमा मान्ने चलन छ । रामायणमा रामले रावणलाई परास्त गर्न तथा महाभारतमा अर्जुनले युद्ध जित्नको लागि दुर्गा भवानिको पूजा गरेका थिए ।
त्यही स्वरुप यहाँको भगवति मन्दिर पनि स्थापना भएको हो । यहँँ कहिले देखि पूजा गरियो भन्ने एकिन गर्न नसकिएता पनि हामी इतिहाँसलाई केलाउदा १६ औ शताव्दिको मध्यतिर बाट स्थापना भएको हुनु पर्छ । पर्वत राज्यमा चार हजार पर्वत जिति ताकुममा राजा भएका आन्नमका नाति डिम्मवंम महाराजाले गाजनेमा जग्गानाथको मन्दिर स्थापना भएपछि आफू अलप भए भन्ने भनाइ अझपनि त्यो क्षेत्रको जनजिभ्रोमा यथावत छ । पर्वतराजा डिम्मवमका नाती नागमल्लको छोरा राजश्री प्रतापी नारायण मल्लले, पाल्पाका राज मुकुन्द शेनको मैया विवाह गरि माझका देवी मागी बाग्लुङ्ग चौरमा देविको स्थापना गरेका थिए । इतिहासविदले आफ्ना लेखमा उनको राज्य काल १५९२ देखि १६१८ सम्मको अवधिको थियो भनि “पर्वत राज्यको ऐतिहासिक रुपरेखामा” प्रकाशन गरिएको छ । जसकारण पनि त्यही समयको केही पश्चात यहाँको भगवतिको मन्दिर स्थापना गरि विधिवत रुपमा पूजागर्न शुरु गरिएको हुन सक्छ । यो मन्दिरको पुजा आरधना सातसय राखू र चार ख्वाले (दग्नाम, वेग, चिमखोल र दोवा ) धार्मीक, साँस्कृतिक रुपमा मान्दै आएको भगवति देवि केही समय अघि आफु आफु विचको आन्तरिक वेमेलको कारण गर्दा राखू कोटमौला लाई छुट्टयाउदै लगिदै गएको छ ।

वोगटीपौवा:
बसन्ती वोगटीले नेपालको दरवारमा राजालाई राम्रो सँग रिजाएको हुँदा उनलाई केहि धार्मीक समाज सेवा काम गर्न मन लागेको थियो । उनले सरकार केही कृति राख्दछु भनि ६०० ने रु श्री ५ समक्ष राखेका थिए । यो गृवार्ण विक्रमको पालामा त्यो ताम्रपत्र बक्स भएको थियो । यसको सिमाना पूर्वमा रातो भिर , पश्चिममा बालनडाँडो , उत्तरमा कालो ढुगाँ, दक्षिणमा कृष्णगण्डिकी दोभान भित्रको आयश्रोतबाट वेसार नुन मुक्तिनाथ जाने गुढीलाई दिने र जामु्रककोट बाट १६ मुरी धानको चामल ल्याइ आउने जाने ढाक्रे, माता जोगीलाई चण्डीपुर्णीमाका दिनमा एक दिन सर्दार्वत गुढी लगाई सवैलाई खान पिना खुवाई सिध्याउने चलन थियो । हाल आएर यो ओझेलमा परेको छ ।

मुक्तिनाथ सर्दावर्त रानीपौवा गुठी:
वि.स. १८६३ मा राजा रणबहादुर शाहकी माहिली रानी सुर्वण प्रभाले मुक्तिनाथ दर्शन गरि फर्किदा राखू मुक्तिनाथ सदार्वत गुठी भनि राखूको रानीपौवामा स्थापना गरिन । यही गुठीबाट मुक्तिनाथ सदार्वत गुठी संचालन भै मुक्तिनाथको आजा पुजा चल्ने र त्यसको व्यवस्थापन गर्नको लागि राखू रानीपौवामा गुठी पौवा स्थापना गरिएको थियो । त्यस गुठीबाट विभिन्न प्रशासनिक पद राखी संचालन भएको थियो । यो गुठी बाट भगवति मन्दिर तथा मन्दिरको पुजापाठ गर्ने प्रचलन पनि थियो । यो पौवामा हजारौ तिर्थयात्रीलाई बस्ने र खानेको व्यवस्था थियो । तर अहिले यसको भग्नावशेष मात्र छ ।

सतिपोखरी:
यो सतिपोखरी नाम कसरी रहन गयो भन्नेमा यहाँ एक जनश्रूति छ । राखूका मल्लवंशका कान्छा जिजु हरिनारायण मल्लको श्रीमति ,वि.स. १८८०–८५ तिर त्यो रुढिबादी जमानामा श्रीमान मरेपछि सति जान्छु भनि गाँउले जनसमुदायलाई सोध्दा गाँउलेले मन्जुर दिएछन । तात्कालिन समयमा सात सय राखू साथै पुला, मल्लाज र बाग्लूगं बाट पनि सति गएको हेर्न आएका थिए रे । मानिसको भिडले उक्त क्षेत्रमा भिडमभाड लागेको थियो । सात सया राखूको सवै घरबाट एक एक जना मलामी आएका थिए । बाहिर मुलुकबाट आएका मलामीहरु सहित सातसय राखूले सतिजानेलाई अविर जात्रा गदै बाजा गाजाका साथ मलामीहरु राखुबाट राखुघाट झदै थिए । मलामीहरु भाटिया चौतारीमा लास विसाउने चलन पनि थियो र जलाएपछि त्यहाँ आएर बस्ने धुप जलाउने चोखीने पनि गर्दथे । त्यो ठाँउमा पानी त्यो भन्दा अघि थिएन । जसकारण सतिजाने सति महिलाले मलामी जलाएर आए पछि त्यहाँ गएर खन्नु, खन्दा पानी आउँदछ भनेकी रहेछिन । त्यहाँबाट आएको पानी निकाली, चोखीनु, खानु भनेको रहेछिन । मलामी जलाएर आए पछि सति जाने महिलाले भनेको ठाँउमा पानी खन्दा पानी आएकोले सति पोखरी भन्न गएको हो हाल आएर यसको नाम सेती पोखरा भनिन्नछ । तर उक्त नाम सति पोखरी हो ।

गलेश्वर बावाको कुटी:
देउघाटमा गलेश्वर बावाले प्रख्यात भएका गलेश्वर बाबाले ध्यान गरेको स्थल राखूको रघुगंगा र कालिगण्डकीको संगम छ । हाल भएको कुटीमा उनले तपस्या ध्यान गरेका थिए । यहाँबाट नै उहाँले शिद्धि प्राप्त गर्नु भएको थियो । वि.स. २०१४ सालमा विफर आए पछि २०१६ सालमा गलेश्वर बाबा त्यहाँ बाट निस्कनु भएछ कसैले गलेश्वर बाबा मानसरोवर जानु भएको छ । उहाँलाई मानसरोवरमा देखेको थिए भन्ने पनि थिए । कसैले आफुबसेको स्थान गलेश्वर कुटी देखि कालीगण्डकी नदिमा बाट उहाँ नारायणघाट आउनु भएको थियो भन्ने भनाई पनि छ भनाई जे भने पनि अन्तमा उहाँ नारायणगढ देउघाट आई गलेश्वरबाबा भनेर परिचित हुनु भयो त्यँही नै अन्तरविलिन हुनु भयो । उहाँलाई भेटन जानु भन्दा अगाडि आएको आवाज निकालेर आउनु भन्नु हुन्थ्यो रे । उहाँ कहिले अजिंगर, बाघको रुपमा हुनुहुन्थ्यो भन्ने व्यक्ति अझै पनि राखुमा भेटिन्छन ।

अन्तमा
राखूमा भएका यि ऐतिहासिक, पुरातात्विक संरचनाहरु अझ हराउँदै नास हुँदै गएका छन । अझै अन्य धार्मीक, सामाजिक तथा ऐतिहासिक रुपमा प्रचलनमा चलेका धेरै स्थानहरु छन यसलाई संरक्षण गर्न सकेको खण्डमा र राज्यको ध्यान गएको खण्डमा एक समाजिशास्त्रिय तथा मानवशास्त्रिय दृष्ट्रिकोणबाट अध्ययन गर्ने, त्यो वेलाको समाजको चित्रण गर्दे पर्यटन व्यवसायलाई पनि प्रर्वद्धन गर्ने छ ।


डा दलिपकुमार मल्ल 
म्याग्दी पिप्ले ७, हाल रघुगंगा गाँउपालिका वडा नं ३
सामाजिक मनोवैज्ञानिक तथ सामाजिक ऐतिहासिक
अध्ययन अनुसन्धानकर्ता


यहाँहरुका लेख- रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ !
email- lekhapadhimedia@gmail.com

92% LikesVS
8% Dislikes
Spread the love !
  • 231
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    231
    Shares