अन्तरिक्ष यात्रीसँग चिनियाँ राष्ट्रपति सीको कुराकानी, के-के भने ? (हेर्नुहोस् भिडियो)


अन्तरिक्ष यात्रीसँग चिनियाँ राष्ट्रपति सीको कुराकानी, के-के भने ? (हेर्नुहोस् भिडियो)

एजेन्सी- चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ । बुधवार चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका तीन यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो । अन्तरिक्ष यात्रीहरूले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग कुराकानी समेत गरेका छन् । 

ग्लोबल टाइम्स र साउथ चाइना मर्निङ पोष्टका अनुसार ५ मिनेटको कुराकानीमा राष्ट्रपति सीले अन्तरिक्ष यात्रीहरूलाई हौसला दिँदै धन्यवाद व्यक्त गरेका छन् । सीले अन्तरिक्ष यात्रीहरूलाई भने, ‘तपाईंहरुले तीन महिना अन्तरिक्षमा बिताउनुहुनेछ र तपाईहरुले त्यहाँ गरिरहनुभएको काम र तपाईंहरुको जीवन चिनियाँहरूको ह्रदयमा हुनेछ ।’ उनले थप भने, ‘तपाईंले ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ, जसले नयाँ युगमा चिनियाँ अन्तरिक्ष उद्योगको उन्नती गर्न चाहान्छन् । मलाई आशा छ कि तपाईंहरु सँगै मिलेर काम गर्नुहुनेछ र अन्तरिक्षमा तपाईंका सबै कामहरु पूर्ण हुनेछन् ।’

राष्ट्रपति सीले अन्तरिक्षमा स्पेश स्टेशन निर्माण गर्नु चीनको अन्तरिक्ष उद्योगका लागि माइलस्टोन साबित हुने बताए । उनले यो यात्राले मानवताका लागि शान्तिको सन्देश दिन सहयोग गर्ने समेत बताए ।  भिडियोमा तीनैजना अन्तरिक्ष यात्रीहरु खानाको डिब्बासँगै सुतिरहेको देख्न सकिन्थ्यो । यो भिडियो चीनले निर्माण गरेको नयाँ तेयान्हे स्पेश स्टेशनको हो, जहाँ तीन यात्रीहरूका २४ घण्टाका गतिविधि नियाल्न सकिन्छ । त्यहाँ उनीहरु अब तीन महिनासम्म रहनेछन् । तीन महिनासम्म उनीहरुले पृथ्वीमा रहेको स्टेशनमा दैनिक अपडेट गर्नेछन् । उनीहरुको काम बिहान आठ बजेदेखि बेलुकी ९ बजेसम्म चल्नेछ । चीनले पछिल्लो पाँच वर्षयता सुरु गरेको यो पहिलो मानवसहितको अन्तरिक्ष अभियान हो । जुन मिसन अहिलसम्मकै सबैभन्दा लामो अन्तरिक्ष मिसन हुने विश्वास लिइएको छ ।

अन्तरिक्ष यात्रीहरूसँग कुरा गर्नुअघि राष्ट्रपति सीले अन्तरिक्ष स्टेशनको कोर मोड्युल, शेन्झो १२ अन्तरिक्ष उडान र कक्षमा काम गर्दाका भिडियो लिंकहरुमार्फत अन्तरिक्ष यात्रीहरुका काम कार्वाही अवलोकन गरेका थिए । चीनले जुन १७ मा तीन अन्तरिक्ष यात्रीहरूलाई सेन्झोह १२ अन्तरिक्ष उडानमार्फत स्टेशनमा पठाएको थियो । हेर्नुहोस् भिडियो)