बेलायतमा भिक्टोरिया क्रस प्राप्त तुलबहादुर पुनको नाममा रेलवे सेवा शुरु


बेलायतमा भिक्टोरिया क्रस प्राप्त तुलबहादुर पुनको नाममा रेलवे सेवा शुरु

लण्डन ।  भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा  ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल  सेवाको शुभारम्भ गरेका हुन् । दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो  कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो ।

उक्त समारोहमा बेलायती अभिनेत्री जोआना लुम्लेको पनि उपस्थिति रहको थियो । आफू ६ वर्षको उमेर हुँदा भिसी पुनलाई देखेको भएपनि आफ्नो पिता बितेको ९ वर्षपछि मात्र उनीसँग भेट भएको उनले बताइन् । पुनसँगको भेटमा उनले आफ्नो पिताको बारेमा सोधेको र उनको मृत्यु भइसकेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण समेत गरेकी थिइन् । इतिहासमा पुनको नाम  अंकित भइसकेको र रेलवे सेवामा समेत उनको नाम अंकित गरिनुले पुनको स्मरण अझ अमर रहने लुम्लेले बताइन् । ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् । भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको छ । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएका थिए ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको उल्लेख गरेका थिए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।  साथै  उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उक्त समरोहमा थुप्रै पूर्व गोर्खाहरुको सहभागिता रहेको थियो ।

भिक्टोरिया क्रस प्राप्त गर्ने   १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित रहेका छन् ।  सन् १९२३ को मार्च २३ मार्चमा म्याग्दी जिल्लामा जन्मेका पुनले  २१ वर्षको उमेर हुँदा दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका थिए । सन् २०११ अप्रिल २० मा पुनको निधन भइसकेको छ ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिमा रहेर काम गरेका थिए ।
(रातोपाटिमा प्रकाशित)