अँध्यारो समयको रेखाचित्र : कथा


लेखक : लेखापढी      ८ असार २०७८, मंगलवार १३:१६ मा प्रकाशित     
अँध्यारो समयको रेखाचित्र : कथा

रविले बिहानै झ्याल खोज्यो । घाम झुल्किसकेको थियो । उसले आफ्नो नित्य कर्म सिध्यायो । कोठामा पुगेर पुस्तक पल्टायो । अचानक कोठा बाहिर बरन्डामा वल्लोपल्लो कोठामा बस्ने विद्यार्थीको आवाज सुनेर बाहिर आयो ।

“कोरोना नेपालमा आइसक्यो । एकदुई दिनमा सारा यातायात बन्द हुने हल्ला छ । बसर्पाकमा टिकट नपाएर मानिस फर्किरहेका छन् ।” एक विद्यार्थी भनिरहेको थियो ।

“कोरोना त चीनमा छ भनेको होइन । नेपालमा कसरी आएछ त ?” अर्को विद्यार्थी जिज्ञासा राख्दै थियो ।

“अब संसारभर फैलिइसक्यो । कोरोना लागेपछि त मानिस बाँच्दैन भन्छन ! ” तेस्रो मानिस डराएर बोलिरहेको थियो ।

“काठमाडौं बाहिर घर भएका सारा मानिस घर फर्किरहेका छन् । हामी पनि के गर्ने होला ?”

उसले ती कुरा सुनेपनि वास्ता गरेन । उसको एकमात्र चिन्ता थियो, “लोकसेवामा नाम कसरी निकाल्ने ?”

कोठाभित्र गयो । ढोका लगायो । उसकी श्रीमती किरणले चिया दिँदै भनिन्, “काठमाडौं बाहिर घर भएका सारा मानिस घर फर्किरहेका छन् । हामी पनि के गर्ने होला ?”

“मानिस को के भन्छ, को के गर्छ, त्यसको वास्ता गर्नुहुँदैन । कुरा बुझेर मात्र काम गर्नुपर्दछ ।” रविले सम्झाउने पारामा भन्यो ।

पाँच दिन भइसकेको थियो, ऊ कोठाबाट बाहिर निस्केको थिएन । कहिलेकाँही सामान सकिए श्रीमानश्रीमती दुवै पसल गएर लिएर आउँथे । कोठा बाहिर निस्के पनि डेराबाट दस पाइला परको किराना पसल एवम् त्यसको सामुन्ने रहेको तरकारी पसल मात्र निस्कन्थे । उनीहरूलाई कोठा बाहिरको संसारको कुनै वास्ता थिएन ।

दिउँसो एफएम लगाउँदा समाचार आइरहेको थियो । खबरमा भनिएको थियो, “बसपार्कमा हजारौं मानिसको भीड, काठमाडौं छोडनेको संख्या बढ्दै ।”

समाचारले केही त्रास त दियो तर दिमागमा लोकसेवाको परीक्षा सल्बलायो ।

“यस्तो भीडभाडमा घर जानु उपयुक्त हुँदैन । दुर्घटनाको संभावना हुन्छ । मानिस जता गए पनि महामारीले छोड्ने होइन । ढिलोचाँडो सबै ठाउँ फैलिँदै जाने हो….सँधै यस्तो स्थिति त नरहला । मानिस धेरै आत्तिए जस्ता छन्् । हामी धैर्य राखेर बसौं ।” रवि किरणसँग भन्यो ।

“घरमा त सबै परिवार छन् । यता त कोही छैन ।” किरण डराइन ।

“उता हाम्रा परिवार छन् । राम्रा अस्पताल यतै छन् । उता यसको उपचार हुन्छ, हँदैन, केही थाहा ? धेरै डराउनु आवश्यक छैन । जस्तो समस्या आउँछ । समाधान पनि त्यसै अनुसार आउँछ । हामी लोकसेवाको जाँच दिन आएका, जाँच नदिएर त्यसै जानु पनि भएन ।” रवि स्थिति सम्हाल्ने प्रयासमा बोल्यो ।

उनीहरू घर गएनन् । चुपचाप कोठामा बसिरहे । लामो समय यातायात, पसल बन्द हुने हल्ला चलेको थियो । एक महिना पुग्ने रासन पानी कोठामा राखे ।

कोरोनाको त्रास चारैतिर फैलिइसकेको थियो । सामाजिक सञ्जालमा अनेकन खबर आइरहेका थिए । चारैतिर त्रास फैलाउने काम मात्र भइरहेको थियो ।

“मानिसको मन नकारात्मक चिन्तनतिर किन बढी दौडिन्छ ? उज्यालोको खोजभन्दा विसंगति बाँच्नु र शून्यमा टोलाइरहनु, नेपालीको नियति नै हो के हो ?” उसको मन मानिसहरूको चिन्तनतिर दौडियो ।

“उज्यालोको यात्रा कहिल्यै सकिँदैन । जीवनमा जतिसुकै अन्धकार भएपनि उज्यालो खोज्न लागिरहनु पर्छ । जीवनको सार्थकताको यात्रा यसैबाट प्रारम्भ हुन्छ ।” उसका मनमा अनेकन तरङ्ग आइरहेका थिए ।

“म त घर जान्छु दाजु । भाडाको जीप पाएँ । दोब्बर भाडा भनेको छ । ज्यानभन्दा ठूलो पैसा त होइन ।”

दिउँसो पल्लो कोठामा बस्ने विद्यार्थीले ढोका ढकढकाउँदै बोलाएर भन्यो, “म त घर जान्छु दाजु । भाडाको जीप पाएँ । दोब्बर भाडा भनेको छ । ज्यानभन्दा ठूलो पैसा त होइन ।” उसको काँधमा एक झोला थियो । उसको मनस्थिति हेर्दा यस्तो लाग्थ्यो, कोराना उसको नजिकै छ र मौका पाउने बित्तिकै झम्टिहाल्छ ।

त्यति बेला अर्को कोठामा बस्ने युवक बाहिर निस्कियो । “बसमा सिट पाइएन । भुण्डिएर पनि जान्छु ।” विदेश जान भनेर काठमाडौं आएको उसले पनि झोला काँधमा झुण्ड्याएर घर जाने सुर कस्यो ।

“बस पाइए भोलिसम्म म पनि घर जान्छु । अब यहाँ बसेर डराएर बाँचिरहनु भन्दा घर जानु नै राम्रो छ ।” अर्को युवक आफू मात्र छुटेजस्तो, अरुले मुक्ति पाएको र आफू कैदी भएको जस्तो भावमा अँध्यारो भावसहित बोलिरहेको थियो ।

उसले उनीहरूलाई हात हल्लायो र आफू कोठाभित्र पस्यो ।

दिउँसो सामाजिक सञ्जालमा एक काठमाडौंवासी मानिसले आफ्नो स्टेटस यसरी राखेको थियो, “बाहिरका मानिस सब घर फर्किरहेका छन् ।

हिजो काठमाडौं आएपछि के, के न पाइन्छ भनेर आएकाहरू विपत्ति आयो भन्दै भागिरहेका थिए । उनीहरूको मनोभाव देख्दा यस्तो लाग्थ्यो, काठमाडौंमा मात्रै असुरक्षा छ । काठमाडौं बाहिर उनीहरूको घरपरिवार, समाज सब सुरक्षित छ । भ्र्रमको भुलभुलैयामा मानिस दौडिरहेका छन् । भ्र्रममा बाँच्ने मानिस एकहोरो हुन्छ । समयले भ्रमको पर्दा च्यात्छ, अनि मानिस भन्छ, “ए, यसो पो रहेछ ।”

दिउँसो सामाजिक सञ्जालमा एक काठमाडौंवासी मानिसले आफ्नो स्टेटस यसरी राखेको थियो, “बाहिरका मानिस सब घर फर्किरहेका छन् । राजधानीवासी हुनुको स्वाद अब हामी एक्लै लिन्छौं ।”

यो भनाइमा एकातिर आफू काठमाडौंवासी हुनुको अभिमान थियो भने अर्कोतिर कोरोनाका कारण घर फर्केर जानेहरूप्रति व्यङ्ग्य थियो ।

भोलिपल्ट बिहान घरबाट मोबाइन फोन आयो ।

“त्यहाँको हालखबर कस्तो छ छोरा ! तिमीहरू सञ्चै त छौ ?” बुवाले चिन्ता व्यक्त गर्नुभयो ।

“हामी ठीकै छौं । हजुरहरुको स्वास्थ्य कस्तो छ ?” रविले आफनो अवस्था बतायो अनि जिज्ञासा राख्यो ।

“हामी सन्चै हौं । कोरोनाको त्रास फैलिएको छ । काठमाडौ भएका बाहिरका मानिस धमाधम घर फर्किरहेका छन । घर आउने हो त ?” बुवाको मायामिश्रित भावना आयो ।

“दस दिनमा लोकसेवाको परीक्षा छ । हामी कोठाबाहिर कतै निस्केका छैनौं । अहिले तत्काल घर आउँदैनौं ।” रविले घर नआउने बतायो ।

उनीहरू साँझ घुम्न के निस्केका थिए, किरणको माइतीबाट फोन आयो । फोन आमाले गरेकी थिइन, “कोठाबाहिर धेरै ननिस्कनु । चारैतिर कोरोनाको त्रास फैलिएको छ ।”

“हस् आमा ।” भनेर उनले मोबाइलमा भएको कुराकानी अन्त्य गरिन् ।

उनीहरू दुवै कोठामा बसिरहन्थे । दुवै जना लोकसेवाको तयारीका क्रममा काठमाडौं आएका थिए । स्नात्तकोतर काठमाडौंबाट गरेर घरतिर गएका थिए । आफ्नो घर नजिक भनेजस्तो काम नपाएपछि काठमाडौं लोकसेवाको तयारीका क्रममा आएका थिए ।

“लोकसेवामा नाम निकाल्न सके राम्रो हुन्छ । यहाँ यसरी सानोतिनो काममा अल्झे भविष्य बन्दैन । अब काठमाडौं जाउँ । तयारी कक्षा पनि लिउँ । कोठामा बसेर पनि तयारी गरौँला ।” किरणले यसो भन्दा श्रीमान रविले पनि सहमति जनाएको थियो । घरपरिवारको सहमतिमा उनीहरू त्यहाँ पुगेका थिए ।

डेरावाल जति घर जान थालेपछि घरहरू शून्य जस्ता देखिन थाले । उनीहरू जस्ता एकाध मानिस मात्र त्यहाँ रहे । काम भएका, रोजगार भएका मानिस त्यहीँ रहे । विद्यार्थी, रोजगारको खोजमा आएका एवम्् विदेशमा जान खोज्ने जति आआफ्ना घर फर्के ।

मानिस काठमाडौं छोडन् लागेको मात्र के थियो, सञ्चार माध्यमका खबर आयो, “पन्ध्र दिनका लागि लकडाउन ।” घरबाहिर कतै ननिस्केर कोठामा मात्र बस्नुपर्ने भयो ।

नयाँ नयाँ समाचार आउने क्रममा एकदिन यस्तो पनि समाचार आयो, “लोकसेवाको परीक्षा अनिश्चित कालका लागि स्थगित ।”

जुन उद्देश्यका लागि काठमाडौं आएका थिए, त्यसमा अल्पविराम लाग्यो ।
“अब के गर्ने ?” उनीहरूका सामु यो प्रश्न सोझियो ।

उनीहरूलाई पढ्न पनि मन लागेन । “कति तयारी गरेको थियो, अब के हो, के हो ?” उनीहरूमा अनिश्चय भाव बढिरहेको थियो ।

“जीवनमा जे जति दौडधुप भयो, भयो । अब केही दिन विश्राम गर्नुपर्छ । जीवनको रङ् एकनास हुँदैन् ।”

एक, दुई दिन कुनै कुरामा पनि मन लागेन । पढन, लेख्न पनि मन लागेन । चुपचाप बसिरहे । लामो मौनतापछि रविले मुख खोल्यो, “जीवनमा जे जति दौडधुप भयो, भयो । अब केही दिन विश्राम गर्नुपर्छ । जीवनको रङ् एकनास हुँदैन् ।”

“सोचेजस्तो नभएपछि खिन्नता र ग्लानी बढ्दो रहेछ ।” किरणले सुस्केरा हाल्दै भनिन् ।

“जुन कुरा आफ्नाे वशमा छ, त्यसमा प्रयास गरिरहनु पर्छ । अब सारा संसार नै कोरोनाको त्रासमा भएको बेला हामी एक्लैले केही सक्ने अवस्था भएन ?” रविले सान्त्वना भावमा भन्यो ।

केही दिन निराशजस्ता भएका उनीहरू क्रमशः सामान्य हुँदै गए । गीत सुन्ने, साहित्यकलाका पुस्तक पढ्ने काममा लागे । दिनहरू सामान्यजस्ता लाग्न थाले । रोगबाट बच्नका गर्न भनिएका कार्य पनि गर्दै गए ।

एकदिन अचानक किरणलाई रुघाखोली देखियो ।

“मलाई रुघाखोकीले दुःख दियो । चेकजाँच गर्नुपर्ने जस्तो छ ।”

“हुन्छ । सबै ठाउँ चेकजाँच गर्दैन । सरकारीमा मात्र जाँच गर्छ । त्यहीँ जाउँ ।”
उनीहरू टेकु अस्पताल गए । दुवै जनाको चेकजाँच गराए ।

“तपाईँहरूको रिपोर्ट आउन समय लाग्छ । रिपोर्ट आउने बित्तिकै खबर गर्नेछौंँ ।” जाँच गर्ने स्वास्थ्यकर्मीले भन्यो ।

“हुन्छ ।” यति भनेर उनीहरू डेरामा फर्के ।

“सामान्य रुघाखोकी हो । अरु केही लक्षण छैन । दुवै जनालाई कोरोना छैन । अबका दिनमा सावधानी साथ रहनुहोला ।” दुई दिनपछि यसो खबर आउँदा दुवै ढुक्क भए ।

उनीहरूले समाचार सुन्न नचाहेपनि खबर त कुनै न कुनै माध्यमबाट थाहा भइहाल्थ्यो । सामाजिक सञ्जालमा खबर आउन रोकिएको थिएन । खबर के थियो, मृत्युको कथा थियो । बिरामी बढ्दै गएका थिए । केहीकेही ठिक हुँदै थिए । केही मानिस मृत्यु भएका खबर पनि आइरहेकै थिए ।

उनीहरू चुपचापचुपचाप कोठामै कैद थिए ।

“अँध्यारो समय सँधै रहँदैन । प्रकाश छ त अन्धकार पनि छ । अन्धकार मात्र पूर्ण सत्य हैन । उज्यालोको खोजी हिजो पनि थियो, आज पनि छ र भोलिका दिनमा नि रहनेछ । मानव सभ्यता यसरी नै अघि बढिरहने छ ।” रवि दार्शनिक जस्तो देखियो ।

मानिस कति स्वार्थी रहेछ । आफूलाई पर्दा चिच्याउँछ, कराउँछ तर अरुका सम्वेदनाको ख्याल गर्दैन् ।

मानिस कति स्वार्थी रहेछ । आफूलाई पर्दा चिच्याउँछ, कराउँछ तर अरुका सम्वेदनाको ख्याल गर्दैन् । आखिर समस्या त जहाँतहाँ छ । सकेसम्म सामूहिक नभए एक्लै महामारी विरुद्ध लड्नु छ । आखिर मानिसको जीवन संघर्षको पर्याय त हो नि ।” किरण पनि भावुक देखिइन् ।

उनीहरू विगतभन्दा वर्तमानमा भयमुक्त र दृढनिश्चयी भइसकेका थिए ।


डा.पुष्करराज भट्ट
प्रधान सम्पादक, लेखापढी डट कम


(डा.पुष्करराज भट्ट लेखापढी अनलाइनका प्रधान सम्पादक हुुनुहुन्छ । उहाँ मूलतः कथा साहित्यमा कलम चलाउनु हुन्छ । यस कथामा उहाँले कोरोनाकालको एक झलक प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares