क्लबहाउसको आइकनमा देखियो नयाँ लुक, को हुन् ति महिला ?


क्लबहाउसको आइकनमा देखियो नयाँ लुक, को हुन् ति महिला ?

काठमाडौं । पछिल्लो समय नेपालमा समेत लोकप्रिय बनिरहेको सामाजिक सञ्जाल क्लबहाउसको आइकन परिवर्तन भएको छ । नयाँ आइकनमा ब्राजिलकी सामाजिक अभियन्ता डन्डारा पागुको तस्वीर देखिन्छ ।

डण्डारा अभियन्ताका अतिरिक्त कन्टेन्ट क्रिएटर हुन् । विशेषगरी उनले काला जातीका महिलाको पक्षमा आवाज उठाइरहेकी छन् । साथै उनी रंगभेद विरुद्धका विभिन्न अभियानमा क्रियाशील छिन् ।

यसअघि क्लबहाउसको एप आइकनमा एसियन अमेरिकन महिला ड्रु क्याटेओकाकाे तस्वीर थियाे, जाे भिजुअल आर्टिस्टसँगै प्रविधिज्ञ र सामाजिक अभियन्ता हुन् ।

आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै क्लबहाउसले भनेको छ, “हरेक पटक एप अपडेट हुँदा हामी एपको आइकनलाई फरक देखाउने छौं । हाम्रा सदस्यहरुलाई सम्मान गर्ने यो एउटा तरिका हो ।”

एपले आफ्नाे कभरमा फरक-फरक व्यक्तिको फोटो प्रयोग गर्ने गर्छ । ती व्यक्तिहरु अरु कोही नभएर क्लबहाउस एपकै प्रयोगकर्ता हुन् ।