वादविवाद प्रतियोगितामा दोस्रो हुँदा: संस्मरण


लेखक : लेखापढी      ५ असार २०७८, शनिबार १८:१७ मा प्रकाशित     
वादविवाद प्रतियोगितामा दोस्रो हुँदा: संस्मरण

तोरी फुलेर पहेँलै भएका खेतबारीहरू देख्दा, स्कुल जाँदै आउदै गरेका बिद्यार्थी भाइ बहिनीहरू भेट्दा मन उडेर बनेपा र पनौतीको सेरोफेरोभित्र हराउन पुग्छ । लाग्छ, घरिघरि पल्टाउन मन लाग्ने सम्झनाको कति मिठो दस्तावेज रहेछ जीवन ।

बिहान नौ बजेको समाचार रेडियोमा बज्न थालेपछि आमाले भान्साबाट बोलाउनु हुन्थ्यो । “खाना पस्के है नानी बाबुु ! आओ फेरि स्कुल जान ढिला होला ।”

आकाशे रंगको सर्ट र निलो फ्रक लगाएर म पनि स्कुल जान निस्कन्थेँ घरबाट ।

त्यसै बेला गैरीगाउँबाट ओरालो झर्न थालिसकेका हुन्थे साथीहरू । हाम्रै क्लासका साथीहरू पनि आउँथे त्यहि बाटो हुँदै । बाटोभरि विद्यार्थीको लस्कर देख्न सकिन्थ्यो । आकाशे रंगको सर्ट र निलो फ्रक लगाएर म पनि स्कुल जान निस्कन्थेँ घरबाट । अहिले सरकारी विद्यालयमा विद्यार्थी नै छैनन् । राम्रा टिचरहरू छन्, शैक्षिक सामग्रीहरू छन्, कम्प्युटरहरू छन्, पुस्तकालय छन् । विज्ञानका प्रयोगशाला र ल्याबहरू छन् । अंग्रेजी माध्यमबाटै पढाइ हुन्छ तर विद्यार्थीको उपस्थित नगन्य मात्रामा हुन्छ । हामी विद्यार्थी हुँदा स्कुलमा न शैक्षिक सामग्री थियो न विज्ञान प्रयोगशाला र ल्याब थियो । अति नै आवश्यक खानेपानी र शौचालयको समेत ब्यवस्था थिएन तैपनि चारै दिशाबाट पढेन विद्यार्थीहरू आउँथे । चौकोट, गैरीगाउँ , सुब्बागाउँ, नैकिन्टार, धनेश्वर, बुडोल, भ्यानडोल, खण्डपुबाट स्कुलमा विद्यार्थीको संख्या धेरै नै हुन्थ्यो ।

पौने दस बजे हामी त्यहि बाटोमा भेटेर सँगै स्कुल जान्थ्याैं । बाटोमा अरू साथीहरू पनि थपिदै जान्थे ।

चौकोटको ठूलो बाटो अर्थात मुल सडक बिपीले २०१२ सालमा शिलान्यास गरेको र त्यो बाटो बनेपा, श्रीखण्डपुर, चौकोट हुँदै सिन्धुलीसम्म जोड्ने राजमार्गको रूपमा लेखाङ्कन भएको रहेछ ।

बिपीले २०१२मा शिलान्यास गरेकाे बिपी राजमार्ग।

हाल यो बाटो बनेपाबाट बिपी राजमार्गको नामकरण भई धुलिखेल हुँदै पूर्वी तराईलाई जोडेको छ । शोभा त्यहि बाटोमा मलाई कुरिरहेकी हुन्थिन् । पौने दस बजे हामी त्यहि बाटोमा भेटेर सँगै स्कुल जान्थ्याैं । बाटोमा अरू साथीहरू पनि थपिदै जान्थे । यो हाम्रो दिनचर्या थियो दस बजेदेखि चार बजेसम्मको ।

ढिकेनुनलाई फ्रकमा बेरेर टोकेर फुटाँउदा साथीहरू भन्थे, “जुठो खायो भने माया बढ्छ नी ।”

अहिलेको जस्तो बच्चाहरूलाई टिफिन पठाउने चलन थिएन त्यतिबेला । बिहान घरबाट खाना खाएर गएपछि बेलुका एकैचोटि घरमै गएर खाजा खाने गरिन्थ्यो । ढिके नुन, हरियो खोर्सानी, अदुवा र बारीतिर फलेका फलफुलहरू बोकेर जान्थ्यौ कहिलेकाहीँ । टिफिन समयमा चौकोट धारातिर पानी खान जाँदा पुलमा बसेर त्यस्ता चिजहरू बाँडेर खान्थ्यौं । ढिकेनुनलाई फ्रकमा बेरेर टोकेर फुटाँउदा साथीहरू भन्थे, “जुठो खायो भने माया बढ्छ नी ।”

माया नाप्ने गजबको तरिका थियो साथीहरूको ।

लाकुरीको बोट वरिपरि भारी बिसाएर सुस्ताइरहेका भरियाहरूलाई हामी स्कुल जाँदा आउदा भेट्ने गर्थ्याैं ।

खण्डपु बजार

पूर्वतिरबाट व्यापार गर्न आउने मुख्य नाका थियो खण्डपु बजार । सिन्धुली, रामेछाप, सोलुखुम्बुदेखिका मान्छेहरू आफुले उत्पादन गरेका सामानहरू खण्डपु बजारमा ल्याएर बेच्थे र आफुलाई चाहिने सामानहरू खरिद गरेर लान्थे । ढाकरभरि सामानहरू बोकेर आउने जाने भरियाहरू खानेपानी भएको ठाउँमा ढुङ्गाको चुलो बनाई खाना बनाएर खान्थे । लाकुरीको बोट वरिपरि भारी बिसाएर सुस्ताइरहेका भरियाहरूलाई हामी स्कुल जाँदा आउदा भेट्ने गर्थ्याैं । हिमालतिरबाट हिउँदमा जिम्बु बेच्न गाउँगाउँ छिर्थे बख्खु लगाएका मान्छेहरू । उनीहरू नजिक पर्दा ठुस्स गनाउँथे बा–आमा भन्नुहुन्थ्यो ।

“यी थाक्सेहरू हुन् है । यिनले त मान्छे लान्छ नी ।”

उनीहरूलाई देखेपछि डर लाग्थ्यो । साँच्चै डर लाग्दा हुन्थे उनीहरू ।

“थाक्से लामा आलु तामा ।” भन्दै हामी केटाकेटी भाग्ने गथ्यौं ।

मंंसिरमा अन्तिम जाँच हुन्थ्यो भने राजाको जन्मोत्सवको दिन पुस १४ मा रिजल्ट आउँथ्यो । माघदेखि नयाँ कक्षा सुुरु हुन्थ्यो ।

किसानका छोराछोरी हामी ! अन्य पेसा गरेपनि मुख्य पेसा भने कृषि नै थियो । त्यही भएर होला, बर्खामा डेढ महिना स्कुल बिदा हुन्थ्यो । मंंसिरमा अन्तिम जाँच हुन्थ्यो भने राजाको जन्मोत्सवको दिन पुस १४ मा रिजल्ट आउँथ्यो । माघदेखि नयाँ कक्षा सुुरु हुन्थ्यो । बितेका दिनहरूलाई सम्झेर अभिलेखीकरण गर्नु पनि सजिलो बिषय कहाँ हो र फेरि ? कति सम्झन सकिन्छ ? कति धुमिल बनेर हराईसके । कति स्मृतिमा अझै ताजा छन् कति त भुलिसकेँ मैले ।

हाम्रो कक्षाको बीचमा ढोका थियो । हामीले ढोका खोल्याैं भने ब्ल्याकबार्डमा लेखेको केटा साथीहरूलाई टल्कन्थ्यो । उनीहरूले झ्याल खोले भने हामी केटी साथीहरूलाई टल्कन्थ्यो । यसै विषयमा साथीहरूको कहिलेकाहीँ झगडा पथ्र्याे । रमाइलो थिए ती दिनहरू ।

आठ कक्षा पढ्दाको एउटा घटनालाई स्मरण गर्दै लेखिरहेछु यतिबेला म । एकदिन टिफिन समयपछि हामी साथीहरू कक्षाभित्र पस्दा पाँच मिनेट ढिला भएको थियो । जयराम सर कक्षामा पसिसक्नुभएको रहेछ । उहाँले गणित पठाउनु हुन्थ्यो । त्यो दिन उहाँ कक्षा लिन नभएर भोलि शुक्रवार हुने वादविवाद प्रतियोगिताको लागि भाग लिने विद्यार्थीको छनोट गर्न आउनुभएको रहेछ । उहाँले हाम्रो नाम भट्भट टिप्नुभयो । कहिले मानिस सामुन्ने गएर नबोलेका, कुनै प्रतियोगितामा भाग नलिएकी म । एकदम नर्मस भएँ । के गर्ने के नगर्ने ? साथीहरू जस्को नाम टिपेको थियो, उनीहरू त भोलिपल्ट स्कुलमै आएनन् ।

कार्यक्रमको दिन १२ बजेबाट कार्यक्रम सुरू भयो। मलाई डर लागिरहेको थियो । मैले डराईडराई भाग लिएकी थिएँ । म घरमा भने तयारी गरेर आएको थिएँ । मेरो बोल्ने पालो आयो, कार्यक्रम सञ्चालकले मेरो नाम बोलाएपछि म मञ्चमा गएर बोल्न थालेँ “कृषि भन्दा उद्योग ठुलो ।”

स्कुल पढुन्जेल कुनै कार्यक्रममा भाग नलिएकी म त्यो वादविवाद प्रतियोगितामा दोस्रो भएर पुरस्कार लिदा आफैलाई पत्याउन गाह्रो भएको थियो मलाई त्यतिखेर ।

मैले बोलिरहँदा गुरुहरूले मेरो कुरा ध्यानपुर्वक सुनिरहेको देख्दा आत्मबल बढ्थ्यो मेरो । म दोस्रो भएँ त्यो कार्यक्रममा । स्कुल पढुन्जेल कुनै कार्यक्रममा भाग नलिएकी म त्यो वादविवाद प्रतियोगितामा दोस्रो भएर पुरस्कार लिदा आफैलाई पत्याउन गाह्रो भएको थियो मलाई त्यतिखेर । यो नै मैले स्कुल जीवनमा पाएको पहिलो पुरस्कार थियो । जयराम सरले त्यसरी प्रतियोगितामा नाम नटिप्नुभएको भए म कहाँ भाग लिन्थे र पुरस्कृत हुन्थे ? सलाम छ ती गुरूहरूलाई जसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा विद्यार्थीको शैक्षिक र बौद्विक विकासको खातिर भूमिका खेलिरहनु भयो ।


तारा केसी


(तारा केसी नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने प्रतिभाशाली लेखक हुनुहुन्छ । उहाँले धारवाहिक रुपमा आफ्ना संस्मरण हामीलाई पठाइरहनुभएको छ । उहाँका संस्मरणमा बाल्य एवम् किशोरकालका अनुभूतिको गहनता र भावगत उत्कृृष्टता पाइन्छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares