शुभ शर्माका दुई लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      ५ असार २०७८, शनिबार १९:३७ मा प्रकाशित     
शुभ शर्माका दुई लघुकथा

वेदना

“काका, आज फणिन्द्र आउने भनेका होइनन् ? म तल घुम्तिसम्म लिन हिँडे है ।”

तिलकका कुरा सुनेर भित्रैबाट होमनाथ काका कराए, “बाबु, पढेर त्यत्रो ठूलो विद्वान भएर फर्किएको मेरो छोरोको भव्य स्वागत गरेस् है । भक्तेलाई भनेर पन्चेबाजा लिएर आइज ।”

होमनाथ काकाले पनि छोरोको चरण छोएर आशीर्वाद लिएको कुरो तिलकलाई मन परेन ।

एकैछिनमा गाउँका केही व्यक्ति तल चौतारीसम्म झरे । उनको आगमन भयो । नाचगान भयो । हर्षोल्लासका साथ उनको स्वागत भयो । सबैले चरण छोए । होमनाथ काकाले पनि छोरोको चरण छोएर आशीर्वाद लिएको कुरो तिलकलाई मन परेन । ऊ नजिक गयो । साथीको लवजमै कुरा गर्यो तर फणिन्द्रले आँखा तर्न भ्यायो । उसले लख काट्यो, निकै अंहकार चढेको रहेछ, घमण्डको डिग्री बोकेर आएको रहेछ । त्यसपछि उसले साथी फणिन्द्रलाई वास्ता गर्न छोड्यो ।

केही दिनपछि गाउँकै कुनै सामूहिक जमघटमा दुवै जनाको फेरि भेट भयो । गाउँलेहरू सबैले तिलकलाई साथ दिँदै थिए । फणिन्द्रको बानीबेहोरा मन नपरेको बताउँदै थिए । उसलाई लाग्यो, यो सबै तिलककै करामत हो । आफ्नो मानहानी भएको ठान्यो । उसलाई असह्य भयो । ऊ भेटेर कुरा गर्न उसको घर नै पुग्यो तर तिलक घरमा थिएन।उसकी आमाले सुकुल बिछ्याइदिइन् । ऊ बसेन । आमाले भन्नुभयो, “फणिन्द्र महाराज ! किन पाउकष्ट गर्नु भयो हाम्रो घरमा ?”

आक्रोसित मुद्रामा उसले गुनासो पोख्यो, “होइन आमा ! तपाईँको छोरोलाई कसरी बोल्नुपर्छ भन्ने राम्रो ज्ञान रहेनछ कि ? फेरि त्यो किन त्यस्तो हँ ? ती गाउँलेहरूलाई म विरूद्ध किन भड्काएको त्यसले ?”

बिरामीले सिकिस्त भएका गाउँको माथ्लाघरे काकालाई बोकेर तिलक स्वास्थ्य चौकीतिर हानिँदै थियो ।

उनीहरू कुरा गरिरहेका थिए । उसैबेला एउटा दृश्य देखियो । बिरामीले सिकिस्त भएका गाउँको माथ्लाघरे काकालाई बोकेर तिलक स्वास्थ्य चौकीतिर हानिँदै थियो ।

बूढीआमा मुसुक्क मुस्कुराइन् र भनिन्, “बाबु ! हजुरले निकै मेहनत गरेर वेद पढेर आउनुभयो तर तिलकले गाउँघरको वेदना पढ्यो ।” भन्दै उतैतिर दौडिन् ।

जीवित

शकुन्तला निराश मुद्रामा देखिन्छे, आजकल खै के भयो ? एकोहोरो टोलाउँछे । उफ् ! गरेर सुस्केरा काढ्छे घरीघरी ।

“के भयो शकु ? जतिबेला पनि टोलाउँछेस् त किन ? कतै चक्कर चलेको छ कि क्या हो ।” उर्मिलाले शङ्काको भावमा साथीलाई सोधी ।

“नकरा तँ, चल्यो चक्कर…? यो समाज देखेर रिङटा चल्यो नि बरू ।” उसले झनक्क रिसाउँदै भनी र अर्कैतिर हिँडी ।

छोरीको अवस्था देखेर शान्तिले श्रीमतीसँग चिन्ता व्यक्त गरिन्, “शकु त एक्लै फतफताउँछे तर कसैसँग केही भन्दिन । एकान्तमा बस्न रुचाउँछे । यसो गर्दागर्दै ऊ प्राय ः एक्लै टोलाउने भएकी छे । कतै लागोभागो पो हो कि ? कसैले बिगार्दिन लागेका पो हुन् की ?”

बूढालाई भने उनको कुरामा खासै चासो र विश्वास लागेन । उनले लापरवाह भएर भने, “केही भएको छैन । तैंले टाउकोमा चढाएर बिग्रेकी हो ।” यति भनेर उनी जुरूक्क उठेर हिँडे ।

आमाको मन किन मान्थ्यो र ? एकदिन नजिकैको ठूला पण्डितलाई उनले सबै कुरा बताइन् । सतर्क गराउँदै पण्डितले भने, “धामीझाँक्रीको चक्करमा नलाग्नू, बरू छोरीलाई यहाँ पठाउनुस् , म सम्झाउने छु ।” उनको मनमा थोरै आशा पलायो । पण्डितले भनेझैँ उनले छोरीलाई उनकै घर पठाइन् ।

फेरि बाटोमा मासुको लागि घिसार्दै गरेको बूढी भैंसीलाई देखाएर भने, “त्यो भैसीले हिजोसम्म दूध दिन्थ्यो । अब बेत बस्यो ।”

उनले शकुलाई फूलको बागमा बोलाए । ऊ डराइडराइ गई । वागमा एउटा माली सुकेको बिरुवा उखेल्दै फाल्दै गर्दै थियो । पातहरूले रूखहरूलाई छाडेको दृश्य देखाए । फेरि बाटोमा मासुको लागि घिसार्दै गरेको बूढी भैंसीलाई देखाएर भने, “त्यो भैसीले हिजोसम्म दूध दिन्थ्यो । अब बेत बस्यो ।”

उसले केही पनि बुझिन् । झर्किदै भनी “ह्या ! पण्डित बा बुझ्ने गरी भन्नु न, के हो ? मैले त केही बुझिनँ ।”

उनले निधार खुम्च्याई ।
उनी नजिकै गए । छेउमा बस्न भने । प्रेमको चक्करमा केटी एकान्तप्रेमी बनेको लख काटे र सम्झाउँदै भन्नथाले, “हेर नानु ! यहाँ कसैको भरोसा छैन । सबै मान्छेहरू स्वार्थी छन् । व्यक्तिलाई होइन, समाजका लागि केही गर् । जसले तिमीलाई सदैव जीवित राख्नेछ ।”


शुभ शर्मा


(शुभ शर्मा समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा सक्रिय लघुकथा सर्जक हुनुहुन्छ । उहाँ लघुकथाको प्रवद्र्धनका लागि लघुकथाको लाइभ वाचन कार्यमा समेत सक्रिय हुनुुहुन्छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares