त्रिविका सबै परीक्षा साउनभित्र गरिसक्ने तयारी, असार ७ गतेसम्म फाराम भर्नुपर्ने


लेखक : लेखापढी      ३ असार २०७८, बिहीबार २०:५९ मा प्रकाशित     
त्रिविका सबै परीक्षा साउनभित्र गरिसक्ने तयारी, असार ७ गतेसम्म फाराम भर्नुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ ।

असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ । 

गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।

व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन ।

बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रमा नै सञ्चालन हुने नियन्त्रक जोशीले बताए । उनले भने, ‘परीक्षा दिइरहेका विद्यार्थीको प्रश्नपत्र सम्बन्धित केन्द्रमा गइसकेकाले केन्द्र परिवर्तन गर्न गाह्रो छ ।’

करिब साढे दुई लाख परीक्षार्थी परीक्षाको पर्खाइमा रहेको र उनीहरुले पायक पर्ने स्थानमा केन्द्र रोज्न दिएर परीक्षा गराउन अनुरोध गरिरहेको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसैले उनीहरुले आफूलाई पायक पर्ने गरी परीक्षा केन्द्र रोजी परीक्षा दिन पाउने व्यवस्था हुनेछ । उनीहरुको हकमा भने परीक्षा केन्द्र रोज्नका लागि समय तोकिने छ ।

असार ७ गतेसम्म फाराम भर्न सकिने

गत स्नातक पहिलो वर्षको परीक्षा फाराम अनलाइन खुलाइएको थियो । फाराम भर्न प्राविधिक समस्या आएपछि पायक पर्ने आंगिक क्याम्पसमा फाराम भर्ने व्यवस्था गरियो ।

जेठ मसान्तसम्म फाराम भर्ने अन्तिम समय तोकिएपनि विद्यार्थीले समय बढाउन माग गरेपछि यो साताभर समय दिइने नियन्त्रक जोशीले बताए । उनले भने, ‘असार ४ गतेसम्म अन्तिम समय तोकिए पनि विविध कारणले विद्यार्थीले फाराम भर्न नसकेको गुनासो आइरहेकोले सात गतेसम्म समय बढाइएको छ ।’

१४ सय विद्यार्थी भएको क्याम्पसमा बिहीबार मध्यान्हसम्म ११ सय जनाले मात्रै फाराम भरेको जानकारी पाएको जोशीले बताए ।

परीक्षा भौतिक उपस्थितिमा हुने

त्रिविले सञ्चालन गर्ने सबै परीक्षा भौतिक उपस्थितिमा नै हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

अनलाईन परीक्षा फाराम भर्न नसक्ने अवस्था रहेका विद्यार्थीलाई अनलाइन परीक्षा गराउन सम्भव नहुने परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् । उनले भने ‘परीक्षा फाराम भर्न समस्या हुने स्थानका विद्यार्थीहरु छन् । परीक्षा गराउन त सम्भव छैन । त्यसैले विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा दिन पाउने व्यवस्था हुनेछ ।’

असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप कस्तो हुने भन्ने निर्णय सार्वजनिक भए लगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यलयले गरेको छ । साथै असार १० पछि केही दिनको लागि परीक्षा केन्द्र रोज्ने अवसर दिइनेछ ।
-setopati 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •