अन्तरिक्ष केन्द्र निर्माणमा तीन अन्तरिक्ष यात्री लिएर उड्यो चीनको शेन्झाउ–१२


लेखक : लेखापढी      ३ असार २०७८, बिहीबार १६:४२ मा प्रकाशित     
अन्तरिक्ष केन्द्र निर्माणमा तीन अन्तरिक्ष यात्री लिएर उड्यो चीनको शेन्झाउ–१२

चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् ।  

चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो । 

हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरू महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् । हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन ।

सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ ।  यसपटक अन्तरिक्ष गएका यात्रीहरूमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लागेका ४५ वर्षीय टाङ होङ्बो रहेका छन् ।

उनीहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नु हुनेछ । यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरू ३३ दिनसम्म अन्तरिक्षमा बस्नु भएको थियो । यो पटकको यात्रा पहिले भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताए ।
तिनै जना अन्तरिक्ष यात्री ३ अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •