नयनराज पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा


लेखक : लेखापढी      ३१ जेष्ठ २०७८, सोमबार १५:५३ मा प्रकाशित     
नयनराज पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा

काठमाडौं । लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको, मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञा हुने हल्लाले पुस्तकलाई बजारमा पठाउन नसकिएको प्रकाशकले जनाएको छ । 

असार १ देखि भने पूरै दिन नभए पनि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णयले पुस्तकप्रेमीहरूलाई उत्साहित बनाएको छ । यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ फ्लेबरको पुस्तक पढ्न पाऊन् भन्ने उद्देश्यले फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको हो । 

यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् । “जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,” लेखक पाण्डेले भने, “यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।” 

‘जियरा’मा संग्रहित कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ । यस अघि उहाँको पुस्तक ‘यार’ ले पाठकहरु बीच खुब प्रसंसा बटुलेको थियो। 

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको संग्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउने प्रकाशकले जनाएको छ ।  

पुस्तक फाइनप्रिन्टले प्रकाशन पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •