सिन्धुपाल्चोकको यांग्री र लार्के खोलाको तत्काल कार्य थालनी गर्न ओलीको निर्देशन


लेखक : लेखापढी      २७ जेष्ठ २०७८, बिहीबार १६:०० मा प्रकाशित     
सिन्धुपाल्चोकको यांग्री र लार्के खोलाको तत्काल कार्य थालनी गर्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् । आज बालुवाटारमा खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

हाल मेलम्चीबाट प्रतिदिन करिब १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोककै उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिने बताइन्छ  ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएको जनाइएको छ । राजधानीवासीको लामो समयअघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो ।

अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए/नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने बताइएकोे छ । मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र  पूरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।

त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिने मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!