क्रिकेट खेलाडीले एकदिवसीय खेलबापत १० हजार पाउने


क्रिकेट खेलाडीले एकदिवसीय खेलबापत १० हजार पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई हरेक एकदिवसीय खेलबापत जनही १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेको हो । कार्यविधि पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले भत्ता पाउने तय भएको हो । 

नयाँ कार्यविधिअनुसार अब पुरुष खेलाडीले प्रतिएकदिवसीय खेलबापत १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए ।

क्यानले सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समिति सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए ।

त्यस्तै, महिला टोलीका खेलाडीले एकदिवसीयबापत पाँच हजार र टी–ट्वान्टीबापत जनही तीन हजार पाउने कोषाध्यक्ष सिंहले जानकारी दिए ।

क्यानको नयाँ कार्यविधिमा प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्चबापत तीन लाख र एक लाख रुपैयाँ दिइने उल्लेख छ ।