नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडा घटायो


लेखक : लेखापढी      २४ जेष्ठ २०७८, सोमबार १४:३४ मा प्रकाशित     
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडा घटायो

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेपछि अन्तर्राष्ट्रियतर्फको हवाई भाडा घटाएको छ । निगमले चार्टर्ड उडान शूल्क घटाएको हो । 

नेपाल आयल निगमको आइतबारको सञ्चालक समिति बैठकले नेपालमा बिक्री हुने हवाई इन्धनको मूल्यमा २० प्रतिशत घटाई अन्य इन्धनहरु सरह स्वचालित गर्ने निर्णय गरेको थियो । आयल निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा ७० प्रतिशतसम्म पनि नाफा लिएको थियो भने आइतबार अर्थात जेठ २३ गतेसम्मको मितिमा ४० प्रतिशत नाफा लिँदै आएको थियो ।

हवाई इन्धन महंगो हुँदा नेपालमा भरिने अन्तर्राष्ट्रिय उडान शूल्क निकै महंगो हुने गरेको भन्दै नेपाल एयरलाइन्सलगायतले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । महंगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा असर पर्दै आएको निगमले भन्दै आएको थियो । पर्यटन व्यवसायीहरुले पनि हवाई भाडा महंगो हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको जनाउँदै आएका थिए ।

निगम प्रवक्ता करिश्मा श्रेष्ठले सोमबारदेखि नै लागु हुने गरी निगमको कार्गो चार्टर रेटमा परिवर्तन गरिएको बताइन् । उनले नियमित उडानहरु सुचारु भएपछी निगमका अन्य गन्तव्यहरुको भाडामा समेत सोही अनुसार समायोजन गर्दै जाने जनाएकी छिन् ।

निगमले वाईड बडीको चार्टर्ड दर प्रतिघण्टा २ हजार ६० अमेरिकी डलर घटाएको जनाएको छ । यसअघि चार्टर्ड दर प्रतिघण्टा १५ हजार ५२० अमेरिकी डलर थियो । यस्तै न्यारो बडी विमानको चार्टर्ड दर १५ प्रतिशतले घटाएर ६ हजार ५८० कायम गरेको छ । यसअघि ७ हजार ७१० अमेरिकी डलर थियो । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!