राउटे युवतीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ


राउटे युवतीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ

कर्णाली । प्रहरीले राउटे समुदायका युवतीलाई होटेलमा अश्लील क्रियाकलाप गरेको आरोपमा तीनजनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन छन् । पुन होटेल सञ्चालकसमेत हुन् ।

उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटेलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान सुरु गरेको थियो । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषी युवामाथि कानुनबमोजिम कारबाही हुने जानकारी दिए ।

पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायांकन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।

राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट–११, जनैघाटमा बस्दै आएका राउटे हाल १४३ संख्यामा छन् । रासस