राजेन्द्र महतोको अभिव्यक्तिप्रति युवा संघले गर्‍यो घोर निन्दा र भर्त्सना


राजेन्द्र महतोको अभिव्यक्तिप्रति युवा संघले गर्‍यो घोर निन्दा र भर्त्सना

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को युवा संघले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । संघका अध्यक्ष किरण पौडेलले संविधानको व्याख्या नै नेपाल राष्ट्रको परिभाषा भएकाले अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् । 

“नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेपश्चात् आफ्नो पार्टी सरकारमा रहुञ्जेल बहुल राष्ट्रिय राज्य निर्माणका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने प्रतिक्रिया दिएका छन्,” युवा संघले भनेको छ, “उनको यो अभिव्यक्ति नेपालको संविधान–२०७२ को भाग १, प्रारम्भिक, धारा ३ राष्ट्रका बारेमा गरिएको परिभाषा (बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो) विपरीत छ ।”

राष्ट्रका बारेमा आफ्नो पार्टी र राष्ट्रिय युवा संघ नेपालले गरेको परिभाषा नै संविधानमा उल्लेखित परिभाषा भएको युवा संघले जनाएको छ । “यस विषयलाई खण्डित हुन नदिन हाम्रो संघ सदैव क्रियाशील छ । राजेन्द्र महतोले राष्ट्रका बारेमा दिएको अभिव्यक्तिको हाम्रो संघ घोर निन्दा र भर्त्सना गर्छ,” संघले भनेको छ ।