हाम्रो तिहार


लेखक : लेखापढी      २२ जेष्ठ २०७८, शनिबार १४:०५ मा प्रकाशित     
हाम्रो तिहार

बाजा बजाएर तिहार आयो
माणा फुलौरा र मिठाइ आयो ।
बासे चरा मोहक गीत गाई
आकाशमा नीलछवि फिँजार्ई ।।

एकेकछन सुन्दर मिष्टदायी
शोभा बढाएँ सयपत्री छाई ।
छाना कमेरो रंगले सजाई
कार्पेट बुट्टा सरि भो रंगाई ।।

हर्रर बास्ना छ सुगन्धदायी
पाकी रहेछन् हलुवा मिठाई ।
मालाउनेका सरि दीपमाला
बाटा र घाटा घर छन् उज्याला ।।

फूली हजरी दिलमा समाई
सर्वत्र छायो रसना रसाई ।
लाली परेला सरि पीतबाला
झूली घर उन्दछ पुष्पमाला ।।

सबै सबैका घर आँगनैमा
उदाउँदो भाष्करको छ आभा ।
द्यौसी र भैलो धुन गुन्जनाले
आकाश रक्ताम्बर बन्न थाले ।।

धन्वन्तरी काग, कुकुर, गार्ई,
गोरु, महालक्ष्मी सबै रमार्ई ।
टीका र टाला उपहार पाई
रमे रमाए बहिनी र भाई ।।

खाए रमाए सुषमा सजाए,
विभोर आनन्द उमंग पाए ।
चरा चुरुङ्गी घर–गोठ–खेत
आनन्दछन् जन्तुहरु समेत ।।

दिवा निशा एक भएर आए,
तारा सितारा पनि मुस्कुराए ।
खोला नदी सागर कल्बलाए
पहाड शैलेश सबै सुसाए ।।

विदेशिएका घर फर्की आए,
आफन्त संगम गर्न पाए ।
रमाउँदै रंग रमे रमाए
पक्वान मीठा परिकार खाए ।।

राजा प्रजाका घरको प्रसंग,
सर्वत्र छायो दंगदास दंश ।
बिर्से स्वयंको जयकार गाए,
विनोदमा मोद गरे मदाए ।।

दीपावलीको स्वागत गर्छु मैले,
ल्याएर आओ झलमल्ल ऐले ।
स्वर्गीयताको मधूस्वाद पाऊँ
गछौं प्रतीक्षा अब शीघ्र आऊ ।।


कवि मनिराज जोशी


(कवि मनिराज जोशीको बसोबास धनगढी, कैलालीमा रहेको छ । उहाँका ७ महाकाव्य प्रकाशित छन् । ३३ कृतिका सर्जक जोशी हरेक वर्ष एक लाख राशि सहित प्रदान गरिने मनिराज वाङ्मय पुरस्कारका संस्थापक हुन् ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!