समय स्मृति (नियात्रा)


लेखक : लेखापढी      २२ जेष्ठ २०७८, शनिबार १२:१८ मा प्रकाशित     
समय स्मृति  (नियात्रा)

क्षणिक खुसीको अंश पनि अनायासै
जीवनको प्राप्ति बन्दोरहेछ ।
आँखामा टाँगिएको प्रतीक्षित इन्देनी समय
विस्तारित भएर फैंलिँदोरहेछ मनका आकाशमा
जीवनका मीठा स्मृति, स्पर्श, तृष्णा
रूपान्तरित हुँदोरहेछ अथाह खुसीमा
मृदु अनुभूतिसँगै विविध अर्थहरूमा
नदी भएर बग्ने यात्रारत ए जिन्दगी
आकाशमार्गको उडानसँगै भरिदे
अलिकति खुसी, अलिकति सौन्दर्य ।

२०६५ साल असोज ३० गते अर्थात् अक्टोबर १७ तारिखका दिन लन्डन यात्राका लागि घरबाट हिँड्ने दिन । किङफिसर एयरलाइनमा कार्यरत मेरो छोरो संजय र बुहारी पूजा मुम्बईमा भएकाले दुई दिन मुम्बईमा छोराबुहारीसँग बस्ने योजना अनुरूप मेरो टिकट भएको थियो । छोरो किङफिसरमा भएपछि यात्रा गर्दा पाउने सुविधा राम्रै थियो । त्यसैले किङफिसरको यात्रामा बारम्बार जुटिरहन मलाई सजिलो थियो ।

बिहानै प्रेस गएँ र उता लाने वनिता पत्रिका लिएर केही बाँकी सामान ठमेल गएर किनेँ र घर फर्किएँ । सामान प्याकिङ गरें । ३ः३० बजे किङफिसरको उडानको समय भएकाले २ः०० बजेसम्ममा पुग्नुपर्ने । ९ तारिखका दिन १२ः३० बजे लन्डन जान योजना गरेर मुम्बईका लागि बाटो लागेँ ।

मैले कहाँ सोचेकी थिएँ र यस्तो सुखद् यात्रा गर्न पाउँछु भनेर ? मैले सुनेको, चलचित्रमा देखेको र पुस्तकमा पढेको सहर लन्डन पुग्ने र अनुभव नै गर्न पाउने उत्साहले म निकै रमाएकी थिएँ ।

मेरो जीवनमा यति टाढाको यात्रा गर्ने संयोग पहिलोपटक जुरेको थियो । लन्डन जान पाउनु त्यो पनि नेपाली भाषा–साहित्यका विशाल वटवृक्ष महाकवि देवकोटाको जन्मजयन्तीको कार्यक्रममा सहभागी भएर । यो मेरा लागि अति नै खुसीको कुरो थियो । मैले कहाँ सोचेकी थिएँ र यस्तो सुखद् यात्रा गर्न पाउँछु भनेर ? मैले सुनेको, चलचित्रमा देखेको र पुस्तकमा पढेको सहर लन्डन पुग्ने र अनुभव नै गर्न पाउने उत्साहले म निकै रमाएकी थिएँ । मेरा लागि यो एउटा सुखद् अवसर थियो ।

जीवनमा आमाको आशीर्वचन लिएर यात्रा गर्ने अवसर पाएकी थिइन् । यस पटकको यात्रा अर्थपूर्ण भएकाले मनभित्र आमाको आशीर्वाद लिएर यात्रा प्रारम्भ गर्ने इच्छा जाग्यो । एयरपोर्ट जानुअघि गौशालाबाट मनोज, विद्या न्यौपानेसँग भेट गरेँ । एयरपोर्टसम्म विद्यालाई साथी लिएर जान त्यतैबाट रातोपुल नजिक भएको आमाको घरमा गएँ । आमाले निधारमा रातो विदाइको टीका लगाइदिनुभयो, आशीर्वादसँगै सुखद यात्राको कामना गर्नुभयो । अनि आमाबाट बिदा मागेर विद्या न्यौपानेलाई लिएर बाटो लागेँ ।

एयरपोर्टमा पुगेपछि किङफिसरको काउन्टरमा टिकट जाँच गरी बोर्डिङ पास लिएर सुरक्षा जाँचपछि विद्यासँग विदा भएर जहाजतिर लागेँ ।

जहाजका झ्यालबाट देखुन्जेल आँखा नबिसाई हेरिरहें तल धेरै तल छुटेका विविध दृश्य परिदृश्य । अहा ! कति सुन्दर कति, मनमोहक ती दृश्यहरू ।

दिनको ३ः३० बजे नेपालको पवित्र धर्ती छाडेर म चढेको किङफिसर जहाज उड्यो । काठमाडौं वरिपरि एक फन्को लगाएर अलि–अलि गर्दै जमिनबाट माथिमाथि हुँदै आफ्नो गति लियो । उपत्यकाका ठूलाठूला घरहरू, बाटाघाटा, खोलानाला, पहाड, मैदान लगायतका प्राकृतिक सौन्दर्य आँखाबाट धमेलिँदै गए । जहाजका झ्यालबाट देखुन्जेल आँखा नबिसाई हेरिरहें तल धेरै तल छुटेका विविध दृश्य परिदृश्य । अहा ! कति सुन्दर कति, मनमोहक ती दृश्यहरू । भोगाइ र हेराइमा कति अन्तर ? हेर्दाहेर्दै जहाज अझ माथि पुग्यो । ओझेल भए आँखाबाट ती सुन्दर दृश्य । जहाज बादल माथिमाथि पुग्यो । सामुद्रिक छालजस्तै बादल । विविध आकृति, विविध रङ्ग । विविध चित्रको प्रारूप । घामको उदीप्त छायामा टल्किएको प्रकृतिमय बिम्ब आँखाका ठोक्किए । दक्ष कलाकारको भावबाट सिर्जित नौंलो कलाकृति झै देखिने हिमश्रृङ्खलाहरू, नीलाम्मे, राताम्मे आकाश रोमाञ्चित भएको छ मन । एउटा सुन्दर कविताको अनुभूति साँच्छु आफूभरि । बतासझैं समयसँग बग्दैबग्दै बिस्तारैबिस्तारै नेपालको भूमि नाघ्दै चाँदी हारमा टल्किएका हिमाली श्रृङ्खलाहरू आँखाबाट ओझेलिदै जान्छन् एकाएक । काठमाडौंबाट उडेको जहाज लगभग एक घण्टा तीस मिनेट जतिको समयावधि बिताएर भारतको दिल्लीको भूमिमाथि नजिकिँदै घुमेर अवतरण गर्छ । जहाजका अरू यात्रुहरूको पछिपछि लागेर सुरक्षा जाँच गरेर लगेज संकलन कक्षमा जान्छु र लगेज संकलन गर्छु । लगेज ट्रलीमा गुडाउँदै मूम्बईका लागि भारतको आन्तरिक उडानतिर लााग्छुं । किङफिसरको उडान काठमाडौंबाट मूम्बईमा सिधै नभएकाले दिल्ली हुँदै आउनुपर्ने बाध्यता थियो ।

भोकले जुरमुराउँँदै यात्रुहरू अघि र पछि गरेको दृश्य रमाइलो लाग्छ ।

मुम्बई जान फेरि किङफिसरको अर्काे जहाजको उडान भर्नुपर्ने । त्यसैले अर्काे यात्राका लागि आफ्नो प्रक्रिया पुर्याउन आन्तरिक काउन्टरमा जान्छु र निकैबेरको प्रतीक्षापछि बोर्डिङ पास लिएर जहाजमा चढ्छु । रातको ९ बजेपछि दिल्ली सहरको झलमलिएको वातावरणलाई ओझेलमा पार्दै म चढेको जहाज टक्क रोकिए झै गरी उडानको तीव्र गतिमा आफ्नो गन्तव्यतिर लाग्छ । यात्रुहरूको सुविधाका लागि खटिएका जहाजका परिचालकहरूले डिनर दिन्छन् । भोकले जुरमुराउँँदै यात्रुहरू अघि र पछि गरेको दृश्य रमाइलो लाग्छ । सबैले आफ्नो इच्छा अनुसार खाना खान्छन् । त्यो समूहमा म पनि मिसिन्छु । भोक तृप्त भएपछि टि. भी. हेर्ने, पत्रिका पढ्ने, गफ गर्ने आ–आफ्नै संसारमा मस्त छन् सबै । म पनि अरू यात्रुहरूको सिको गर्दै यात्रामा रोमाञ्चित भएकी छु ।

मनमा एक तमासको उत्साह र रोमाञ्चकताको भाव उर्लिरहेको बेला गुड्दै गरेको जहाज टक्क अडियो आफ्नो स्थानमा ।

रातको साम्राज्यले बाहिरी परिवेश निराकार अँध्यारो पारेको छ । निस्पष्ट कहीँ केही देखिन्न । जहाजभित्रको संसार उज्यालो छ, रमाइलो छ । उज्यालो र अँध्यारोको अर्थ कति फरक । यो कस्तो विपरीत सिर्जना सृष्टिको । दिल्लीबाट ९:३० मा उडेको किङफिसरको जहाजको उडान झन्डै १ः२० मा एक घण्टा पचास मिनेटपछि झ्यालबाट  आफूमुनिको भाग झलमलाएको प्रष्ट देखिन्छ । मुम्बई सहर अझै ब्यूँझिएको थियो रङ्गीन यात्रा गर्दै । मनमा उद्वेलित भावनालाई अझ तरङ्गित पार्दै म चढेको जहाजले रातको बत्तीले झलमल्ल पारि आलोकित बनाएको सुन्दर सहरको परिदृश्य अवलोकन गराउँदै एक फन्को लगायो । समुद्रको तरङ्गमा बत्तीका टहकले चम्किएका विभिन्न आकारका पानीजहाजहरू, चिल्ला सडकमा गुडेका वाहनहरू, बाक्लिएका घर र विशाल दृश्यचित्रका अनुभूतिहरूले मेरो मन भरिन नपाउँदै जहाजले बिस्तारै आफ्नो गति लियो र मुम्बईको धर्तीमा अवतरित भयो । मनमा एक तमासको उत्साह र रोमाञ्चकताको भाव उर्लिरहेको बेला गुड्दै गरेको जहाज टक्क अडियो आफ्नो स्थानमा ।

मुम्बई सहर जतिपटक आयो, त्यतिपटक नयाँपनको आभास हुन्छ । पाँच वर्षदेखि छोरा संजयको कर्मक्षेत्र यहीँ । बारम्बार आइरहेकी छु । हरेक पटक नयाँ सहर अनुभव गर्दछु मुम्बईलाई ।

छोराबुहारी एयरपोर्टमा मलाई पर्खिएर बसिरहेका थिए । उनीहरूसँगको भेटमा एउटा छुट्टै तृप्ति अनुभूत गर्छु । लगभग रातको बाह्र बजे घर आइपुगियो । खाना खाएर सुत्दा लगभग दुई नै बजेको थियो ।

१८ तारिख बाँकी रहेका केही सामान किन्ने भनेर दिउँसो बिगबजार गयौं । छोराबुहारीले भेस्ट र प्यान्ट सजिलो र छरितो हुन्छ भन्दै सुर्याए । आफ्नो साइज मिल्ने भेस्ट र प्यान्ट उनीहरूले नै चयन गरेर मेरा लागि किनिदिए । हुन पनि सजिलो हुँदोरहेछ अरू पोशाकका तुलनामा । त्यसपछि एउटा ठूलो ट्रलिब्याग र अरू केही खुद्रा सामानहरू किनेर घर फर्कियौँ ।

छोराबुहारी पनि मेरो लन्डन यात्राको तयारीमा फुरफुरिएका थिए । साँझमा सामान प्याकिङ गरें । संजयको रातको ड्यूटी भएकाले ७ बजे घरबाट हिँड्यो, भोलि एयरपोर्टमा भेट्ने भएर ।

रातिदेखि नै ठन्डीले समाते जस्तो भयो । घाँटी खसखसाउने, कान चिलाउने, नाक गरूङ्गो हुने रूघाको लक्षण देखापर्यो । नुनपानीले गालगुल गरेँ, बाफ लिएँ । भरसक स्वस्थ हुने प्रयास गरेँ । सम्भवतः मौसम र स्थान परिवर्तनले हो कि त्यस्तो भएको ।


लक्ष्मी उप्रेती


(लक्ष्मी उप्रेती नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँछिन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य रहेकी उनको कलम नियात्रामा प्रखर छ । उनी वनिता त्रैमासिककी प्रधान सम्पादक समेत हुन् । यो लेख उनको थेम्स र समयफूल कृतिको एक अंशका रुपमा रहेको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!