हेमन्ती जोशीका पाँच मुक्तक


लेखक : लेखापढी      २२ जेष्ठ २०७८, शनिबार १३:३० मा प्रकाशित     
हेमन्ती जोशीका पाँच मुक्तक

माया त माया हो, यसमा पागल किन बन्नु पर्यो ।
विशुद्ध मिठो मायालाई अन्धो किन भन्नु पर्यो ।।
लाग्दैछ अब प्रेमको परिभाषा नै फेरियो कि ।
हैन भने यसको नाफा नोक्सान किन गन्नुपर्यो ।।

राष्ट्रलाई सिंगार्न फूलमाला चाहिन्छ र ।
सुमार्गमा हिँडनलाई बर्छीभाला चाहिन्छ र ।।
राष्ट्रसेवक देशभक्त अघि बढने बेला हो यो ।
जाली, भ्रष्ट, फटाहाको बोलवाला चाहिन्छ र ?

आहा त्यो बाल्यकाल धुलोमाटोको खेल ।
कोही हार्ने कोही जित्ने टाठोबाठोको खेल ।।
पुतलीको घरजम मानौं पुरै गृहस्थी हो ।
हाम्रो छुट्टै व्यस्तता ढिकी जाँताको खेल ।।

कहाँ कहाँ दुख्छ भनुँ सारा जीवन दुखेको छ ।
असह् छ पीडा तर आँसु भित्रै सुकेको छ ।।
जङघारमा डुब्यो डुङ्गा किनाराको पत्तो छैन ।
शरीर छोडन डराएको प्राण अझै ढुकेको छ ।।

बाहिर चम्किलो अनुहार भित्र मन कालो हुन्छ ।
हेर्दा सुकिलो पहिरन षडयन्त्रको जालो हुन्छ ।।
यो साम्राज्य मेरो हो मै हुँ मालिक भन्नेहरू ।
स्वार्थ सिद्ध पार्न कसैको भिनाजु वा सालो हुन्छ ।।


हेमन्ती जोशी


(हेमन्ती जोशीको स्थायी बसोबास धनगढी, कैलालीमा रहेको छ । उनका कथा, गजल एवम् मुक्तकका कृति प्रकाशित छन् । उनको बगरदेखि सगरसम्म मुक्तक कृति प्रकाशित छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!