”हामी झार”


[ss_social_share]
लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार १२:३४ मा प्रकाशित     
”हामी झार”

तिमीले बारम्बार ‘त्यो पर्दैन’ भन्दा पनि
उम्रिहाल्यौं त हामी झार !
हामीलाई कहाँ चाहिन्थ्यो र
तिम्रो गमला, तिम्रो बारी, तिम्रो खेत
हामीलाई त भए पुग्थ्यो
अलिकति माटो, पानी हावा र घाम
हामी त कहीँ पनि उम्रिहाल्थ्यौं र हुर्किन्थ्यौं
चुपचाप सुम्पेर आउने पुस्तालाई
आफ्नो परित्यक्त विरासत र वर्जित अनुवंशिकी
-माटो हुन्थ्यौँ ।

तिमीले खोस्न थालेपछि अलिकति माटो
तिमीले  रोक्न थालेपछि अलिकति पानी
तिमीले छेक्न थालेपछि अलिकति हावा
तिमीले छोप्न थालेपछि अलिकति घाम
हामी बाध्य भयौँ  उम्रिन
तिम्रा गमलामा
तिम्रा बारी र खेतमा
र तिमी उखेलिराख्यौ हामीलाई ‘त्यो पर्दैन’ भन्दै ।
तिमीसँग युगौँदेखिको यस पैठाजोरीमा
हामीले पनि सिकिसक्यौँ जीवनको व्याकरण
तिमी उखेल ‘त्यो पर्दैन’ भन्दै
या खन्याऊ झारमारा रसायन
हामी उम्रिरहनेछौँ बारम्बार
हामी झार !


भुवन निस्तेज
बैतडी


(भुवन निस्तेजको जन्म बैतडी जिल्लामा भएको हो । उनी अहिले सानोठिमी क्याम्पस, भक्तपुरमा प्राध्यापन गरिहेका छन् । नेपाली साहित्यका विभिन्न विधामा सक्रिय निस्तेजले यस कवितामा वर्तमान राजनीतिक विकृतिप्रति आलोचनात्मक भाव व्यक्त गरेका छन् ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 442
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    442
    Shares