कुनियोमा छिरेर
धान खाने मुसाले
यौटा काले मुसाको पुच्छर खाएछ
आइते भाइले आइतबार थाहा पाएछ
बाकसमा पसेर
लुगा खाने मुसाले
यौटा पुन्टे मुसाको पुच्छर खाएछ
सोमे भाइले सोमबार थाहा पाएछ
झोलाभित्र लुकेर
किताब खाने मुसाले
यौटा डल्ले मुसाको पुच्छर खाएछ
मङ्गलेले मङ्गलबार थाहा पाएछ
धन्सारमा बसेर
आलु खाने मुसाले
यौटा तिखे मुसाको पुच्छर खाएछ
बुधे भाइले बुधबार थाहा पाएछ
पसलभित्र ढुकेर
बिस्कुट खाने मुसाले
यौटा चङ्खे मुसाको पुच्छर खाएछ
बीरे भाइले बिहीबार थाहा पाएछ
भँडारमा घुसेर
भट्ट खाने मुसाले
यौटा भुँडे मुसाको पुच्छर खाएछ
शुक्रे भाइले शुक्रबार थाहा पाएछ
××× ××× ××× ××× ××××
टेबुलमा चढेर
तार खाने मुसाले
कम्प्युटरकै मुसाको पुच्छर खाएछ
सन्सरेले शनिबार थाहा पाएछ ।
रमेशचन्द्र घिमिरे
(रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङमा बसोबास गर्नुहुन्छ । उहाँ बालसाहित्य रचनामा बालमनको निश्छल प्रवृत्ति पाइन्छ । उहाँ नेपाली बालसाहित्यका एक स्थापित हस्ताक्षर हुनुहुन्छ ।)