नेकपा (एमाले) का १५ स्थायी कमिटी सदस्यको वक्तव्य


लेखक : लेखापढी      १२ जेष्ठ २०७८, बुधबार २३:१२ मा प्रकाशित     
नेकपा (एमाले) का १५ स्थायी कमिटी सदस्यको वक्तव्य

काठमाडौं । जेठ १२
नेकपा (एमाले) को स्थायी कमिटीका १५ सदस्यले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापको आलोचना गरेर एक विज्ञप्ति सार्वजनिक गरेका छन् ।नेकपा (एमाले) को प्रधानमन्त्री ओली समूहले माधव–झलनाथ समूहका नेतालाई पार्टीबाट निकालेपछि यो विज्ञप्ति आएको हो ।

विज्ञप्तिमा पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर आफू अनुकुल केन्द्रीय समिति बनाएको आरोप लगाइएको छ । उनीहरुले प्रधानमन्त्री ओलीले पटक पटक पार्टीको विधान उल्लंघन गरेर कार्य गरेको, पार्टीका संस्थापक नेताहरू माथि पार्टीबाट निष्कासन गरेको, बाह्र जना नेतामाथि स्पष्टिकरण सोधेकोमा भत्सर्ना गरेका छन् ।

पन्ध्र नेताले गत फाल्गुण २३ गते सर्वोच्च अदालतले पूर्ववत नेकपा (एमाले) र नेकपा (माओवादी) व्युँताइदिएपछि प्रधानमन्त्री ओली समूहले मनपरी कमिटी विस्तार गरेको, जनता र कार्यकर्ताको भावनामाथि ठेस पुर्याउने  कार्य गरेको, पटकपटक प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति व्यक्त गरेका छन् । उनीहरुले देशमा अराजकता मच्चाउन थालेपछि बाध्य भएर विपक्षी दलसँग मिलेर सर्वोच्च अदालतमा रिट हालेको बताएका छन् ।

नेताहरूले प्रधानमन्त्री केपी ओलीको संविधान, लोकतन्त्र, पार्टी विधान र राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमान विपरीतका कामकुराले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत भइरहेको सन्दर्भमा राज्ययन्त्र, सत्ता र सरकारको व्यक्तिगत र गुटस्वार्थमा चरम दुरुपयोग गरिएको दावी गरेका छन् । उनीहरूले जनताको लामो र कठोर संघर्ष तथा कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुको आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएको भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्यका लागि अपिल समेत गरेका छन् । नेताहरूले आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा आव्हान समेत गरेका छन् ।

 विज्ञप्ति जारी गर्ने नेतामा झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा एवम् प्रमेश हमाल रहेका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!