दुई लघुकथा


लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार १२:४९ मा प्रकाशित     
दुई लघुकथा

मुस्कान

ऊ पुरानो एल्बम पल्टाउँदै थियो । समय–समयमा खिचिएका फोटाहरूले मानसपटलमा ताजा स्मृति दिलाइरहेको थियो । यसै क्रममा उसले आफ्नो बालापनको फोटो भेटाएपछि टक्क रोकियो । फोटोमा ऊ मुसुक्क मुस्कुराइरहेको थियो । मिठो मुस्कानमा अबोधपन झल्किएको प्रष्टै देखिन्थ्यो । उसलाई आज पनि आफ्नो होश खुलेदेखि सम्झना छ, त्यो मुस्कानले त्यतिबेला उसका थुप्रै आफन्त र छिमेकीहरूको मन जितेको थियो । मिठो मुस्कानस्वरुप उपहारमा कतिपयले म्वाईँ खाएका थिए भने कतिले गाला सुमसुम्याउँदै अङ्गालोमा लिएर छातीमा टाँस्दै माया गरेका थिए ।

कतिपयले फलानाको छोराको मुस्कानले घर अझै उज्यालिएको छ भन्थे । यसको त हाँसै मिठो ! त्यै भएर पनि मन खिचिन्छ भन्ने छर–छिमेकीहरूपनि थुप्रै थिए ।

सुत्नुपुर्व उसले पुनः मोबाइल खोल्यो, उसले अन्तिममा एउटा प्रतिक्रिया देख्यो। त्यो प्रतिक्रियामा थुप्रै निकट व्यक्तिहरूका लाइक मौजुद थिए ।

उसले बालापनको फोटो र हालको सेल्फी लिएको फोटो एकसाथ आफ्नो फेसबुक वालमा पोष्ट गर्यो । क्याप्सनमा लेख्यो – “पाँच वर्षको त्यो बालापनको मुस्कान र २५ वर्से युवाको मुस्कान !”

हेर्दाहेर्दै मिठामिठा र प्रशंसाले भरिएका प्रतिक्रियाहरू आउन थाले । सयौं मानिसको प्रतिक्रिया ! गजब, मिठो मुस्कान, सँधै मुस्कुराइरहनु, आहा कति हँसिलो !, अझ कसैले त यही मुस्कानले थुप्रै युवतीहरू पट्याएको हुनुपर्छ भनेर लेख्न समेत भ्याए । यस्तै यस्तै प्रशंसाले भरिभराउ थियो–उसको कमेन्ट बक्स ! धन्यवाद फर्काउन समेत भ्याई नभ्याई भएको थियो–उसलाई ! तर अचम्म ! उसका आफन्त, छिमेकी र उसलाई नजिकैबाट चिन्नेहरुको प्रतिक्रिया एउटा पनि थिएन । सुत्नुपुर्व उसले पुनः मोबाइल खोल्यो, उसले अन्तिममा एउटा प्रतिक्रिया देख्यो। त्यो प्रतिक्रियामा थुप्रै निकट व्यक्तिहरूका लाइक मौजुद थिए । प्रतिक्रियामा उल्लेख थियो “रामकृष्णे ! तँ जसरी मुस्कुराएको छस्, त्यस्तै तेरो परिवारलाई पनि मुस्कुराउन दिँदोहोस् त हामी कति खुशी भएर मिठामिठा कमेन्ट लेख्थ्यौं होला है ?”

जीवनसाथी

एकाबिहानै फ्याक्ट्रीमा पुगेर काम गर्नु र बेलुका होस्टेलमा फर्किनु कामदारहरूको दैनिकी नै थियो । कामबाट फर्किएपछि नुहाईधुवाई गरेर खाना बनाउन थाल्थे । कोही नजिकको होटेलतिर लाग्थे । खाना खाइवरी कोही पार्कतिर घुम्न निस्किन्थे । कोही किनमेल गर्न जान्थे । कोही फेसबुक चलाउन थाल्थे । सबैको आ–आफ्नो धुन,आ–आफ्नो सुर।

यसै मध्येका तिलबहादुर नाम गरेका सहकर्मी हिजो आज निकै उदास देखिन्थे । काम पनि मन नलगाएर गरेको र काम बिग्रेको देखेपछि सिनियर भएको कारणले आफूमाथि गाल आइपर्ला भन्ने लागेर सोधेँ–“होइन भाइ ! हिजो आज काम त्यति राम्ररी गरिरहेका छैनौ । लक्ष्य पनि निकै कम छ । घर परिवारतिर त ठिक छ नि ? कि ज्यानलाई सञ्चो छैन ? कुनै त्यस्तो समस्या छ भने कम्पनीको क्लिनिकमा जाऊ । मेडिकल बिदा लिएर बस ।”

विदेशी भूमिमा आफुसँगै काम गर्ने नेपाली भाइ भएर यति सोधेको हुँ । अब तिमीलाई ठिकठाक छ भने म के भनुँ ? बाँकी तिम्रो इच्छा !

“होइन दाइ, घरपरिवारतिर ठिकठाक छ । मेरो ज्यान पनि ठिकै छ । त्यस्तो केही होइन । मेरो सोधाइमा उनले केही भन्न खोजेको तर लुकाएको आभास पाएँ । विदेशी भूमिमा आफुसँगै काम गर्ने नेपाली भाइ भएर यति सोधेको हुँ । अब तिमीलाई ठिकठाक छ भने म के भनुँ ? बाँकी तिम्रो इच्छा ! तर मलाई तिम्रो मलिन अनुहार देखेर केही त भएकै हो भन्ने महसुस भैरहेको छ ।” मैले आफ्नो कर्तव्यबोध गराएँ ।

“खै दाइ भनुँ कि नभनुँ, मेरो र युहाना (इन्डोनेसियन केटी) को चक्कर चलेको तीन महिना भैसक्यो । तीन दिन भयो, न मेरो फोन उठाउँछे, न मेरो मेसेजको जवाफ दिन्छे । त्यही भएर हो, हजुरलाई किन ढाँट्नु !”

“शङ्का त पहिलेदेखि नलागेको होइन मलाई, तैपनि तिम्रो निजी मामिलामा दखल नगरौं भनेर चुप लागेको थिएँ । गाह्रो मान्दैनौ भने एउटा कुरा भनौँ भाइ ? उसले “हुन्छ” भन्ने सङ्केतमा १० किलोको टाउको हल्लायो ।

मैले भनेँ–“जीवन नबिताउने प्रेमिका नबोल्दैमा तिम्रो यो हालत भयो । तीन महिनादेखि राम्रोसँग आफ्नो श्रीमान नबोलेकोमा तिम्री श्रीमतीलाई कस्तो पीडा भयो होला ? त्यो कल्पना गरेका छौ ?”

मेरो अकल्पनीय सोधाइले ऊ निरुत्तर थियो ।


राजु क्षेत्री अपुराे

(राजु क्षेत्री अपुरो नेपाली लघुकथाका अत्यन्त सक्रिय लेखक मध्ये एक हुन् । उनी हाम्रो लघुकथा पाठशाला फेसबुक समूहका एडमिन हुन् । नेपाली लघुकथाको विकासका लागि गरिएका विभिन्न गतिविधिमा उनको संलग्नता रहँदै आएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!