दुई लघुकथा


लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार १३:१९ मा प्रकाशित     
दुई लघुकथा

खाते

पार्कतर्फ गइरहेको कार करिब दुई किलोमिटर अगाडि ढाँटमा रोकिएको थियो । “मलाई पनि पार्कसम्म लगिदिनु न, साहेब । आज गर्मी ज्यादा छ । माल भारी छ । बहुत गाह्रो भयो, हजुर ।” टाउकोमा झालमुरीको सामान बोकी खलखल पसिना काढ्दै हिँडेको व्यापारीले भन्यो । व्यापारीले गरेको अनुरोध कारमा सवार नवीन र अमृताको कानमा पर्याे ।

नवीनले केही भन्न नपाउँदै कारबाट अमृताको तिखो आवाज कानै छेड्ला जसरी आयो, “हुन्न, हुन्न । जो पायो त्यही खातेलाई चढाउने होइन है, हजुर । कार फोेहोर हुन्छ ।”

करिब तीन घण्टापछि उनीहरू फर्केर पार्कको गेटमा आइपुगे । गेट खोल्नुभन्दा पहिले पालेले एक हजार फाइनको बिल काटेर नवीनलाई दिँदै भन्यो,“यो पैसा तिर्नुहोस् अनि अगाडि बढ्नुहोस् ।

उनको कुरा नसुने झैँ गरी अझै झिनो आशामा ऊ ढाटको आडैमा उभिरहेको थियो । ढाट खुल्यो । तुरुन्त उसलाई अलिकति हिलो छ्यापेर कार हुइँकियो ।

नवीन र अमृताले पार्कमा लामै समय बिताए । चारैतिर घुमे । त्यहाँका हरेक रमाइला खेल र दृश्यको अनुपम आनन्द लिए । फलफूल र फास्टफुड पनि किनेर खाए । करिब तीन घण्टापछि उनीहरू फर्केर पार्कको गेटमा आइपुगे । गेट खोल्नुभन्दा पहिले पालेले एक हजार फाइनको बिल काटेर नवीनलाई दिँदै भन्यो,“यो पैसा तिर्नुहोस् अनि अगाडि बढ्नुहोस् ।”

बिल देखेर आश्चर्य मान्दै चर्को स्वरमा अमृताले भनिन्, “हैन, यो केको जरिवाना हो ? हामीले के गर्यौं र जरिवाना तिर्नु ?”

यता सूचनापाटीमा पनि हेर्नुहोस् त पार्कका नियमहरू ।

अगाडिको सिसी क्यामेराको रेकर्ड देखाउँदै पालेले भन्यो,“हेर्नोस् त हजुर, तपाईँहरूले खाएर फालेका फास्टफुडका खोल र फलफूलका बोक्रा चारैतिर छरिएका ! अनि यता सूचनापाटीमा पनि हेर्नुहोस् त पार्कका नियमहरू ।”

उनीहरू जरिवाना तिरेर मलिन अनुहार पारी दायाँबायाँ हेर्दै पार्कको गेटबाट बाहिर निस्कँदै थिए । उनीहरुलाई झालमुरी बेचिरहेको केटाले देख्यो र भन्यो, “हामी त आफ्नो व्यापारको कचेडा यही डस्टबिनमा फाल्छ । खातेको पास जरिवाना तिर्ने पैसा कहाँ हुन्छ हजुर ।”

विवशको खुसी

“मलाई मामुसँग सुत्न पाउँदा सबैभन्दा खुसी लाग्छ ।”

“होमवर्क सकेर खेल्न जाँदा सबैभन्दा खुसी लाग्छ ।”

“टिभीमा कार्टुन हेर्न पाएको बेला सबैभन्दा खुसी लाग्छ ।”

“मलाई मासु पकाएको दिन सबैभन्दा खुसी लाग्छ ।”

“मेरो गुडियासँग खेलेको बेला धेरै खुसी लाग्छ ।”

“नयाँ लुगा लगाएर मामुबाबासँग घुम्न जाँदा अति खुसी लाग्छ ।”

छ कक्षाका विद्यार्थीहरूले आआफ्ना खुसीका कुराहरू सुनाउँदा म रोमाञ्चित भइरहेको थिएँ । सबैले आआफ्ना खुसी लाग्ने कुरा भन्दा पनि विवश भने बोलेको थिएन् । उसमा कुनै उत्साह थिएन् । मैले उसको अनुहार पढेँ र कक्षा सकिएपछि एक्लै बोलाएर सोधेँ, “अघि किन नबोलेको ? तिमीलाई खुसी लाग्ने कुरा केही छैन ?”

उसले दमित स्वरमा भन्यो, “छ नि सर । तर अरूका अगाडि लाज लागेर नभनेको । मेरा आमाबुबा सधैँ झगडा गर्नुहुन्छ । लाप्पा खेल्नुहुन्छ । बाबाले आमालाई कुट्नुहुन्छ अनि आमा मरेँ मरेँ भन्दै रुन थाल्नुहुन्छ । मलाई साह्रै डर लाग्छ । म छुट्याउन सक्दिनँ । आमा रोएको देख्दा मलाई पनि साह्रै रुन मन लाग्छ । तर म रोएको देख्नुभयो भने आमा झन् साह्रो रुनुहुन्छ । बाबाले देख्नुभयो भने उल्टो मलाई नै कुट्नुहुन्छ । अनि म रुनै पाउँदिनँ । जुन दिन म आमाबाबा दुवैका आँखा छलेर बेसरी रुन पाउँछु, त्यो दिन मलाई सबैभन्दा धेरै खुसी लाग्छ ।”


हेमलता उप्रेती


(हेमलता उप्रेतीको जन्म इलाम जिल्लामा भएको हो । उहाँ समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा सक्रिय हुनुहुन्छ । यी लघुकथामा एकातिर आर्थिक रुपमा विपन्न पात्रको स्वाभिमानबोध देखाइएको छ भने अर्कोतिर एक बालकको आफ्नो आमाबाबुप्रतिको शुभेच्छाको आकांक्षा व्यक्त भएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!