मनकारी डाक्टर मनोज


लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार १४:१९ मा प्रकाशित     
मनकारी डाक्टर मनोज

डाक्टर आफैमा अध्ययनशील हुन्छन् । त्यसैमा पनि बिरामीको स्वास्थ्य परीक्षण गर्दागर्दै उनीहरुले समाजका विविध स्वरुप र सामाजिक परिवेश बुझ्ने अवसर प्राप्त गरेका हुन्छन् । यहाँ यस्तो एकजना डाक्टर जसले समाजसँग रहेर आफ्नो ज्ञान, सीप र क्षमता प्रदर्शन गरी आफूलाई सामाजिकीकरण गर्दै आएको प्रसङ्ग उठान गरिएको छ ।

अहिले उनी चौतारी हेल्थ फाउण्डेसन रुपन्देही र देवदह मेडिकल कलेज, रुपन्देहीमा सहप्राध्यापकका रुपमा कार्यरत छन् साथै विभिन्न सामाजिक र पेसागत संघसंस्थाहरुमा क्रियाशील छन् ।

उनी डाक्टर मनोज ढुंगाना हुन् । खासमा उनी मनोरोग विशेषज्ञ हुन् । उर्जाशील छन् । विरामीका मनोभाव छिटो बुझ्छन् र देशका औंलामा गनिने डाक्टरहरु मध्येका उनी एक हुन् । अहिले उनी चौतारी हेल्थ फाउण्डेसन रुपन्देही र देवदह मेडिकल कलेज, रुपन्देहीमा सहप्राध्यापकका रुपमा कार्यरत छन् साथै विभिन्न सामाजिक र पेसागत संघसंस्थाहरुमा क्रियाशील छन् ।

 

उनलाई लिएर हामी वर्षामास पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने दोभानको सगरमाथा (समुद्री सतहदेखि एकहजार तीनसय मीटर अग्लो स्थानमा रहेको मगरबस्ती ) भनेर चिनिने पाटन गाउँ पुगेका थियौं । खासमा मैले उनलाई उता लगेको हुँ । भदौको महिना थियो, बुटवलबाट हिँड्दा खासै पानी परेको थिएन् । दोभान कटेपछि मुसलधारे पानी प¥यो । झुम्सा, पानीमील, सिसुवा, केराबारी, जोरधारा हुँदै डुम्रेको पुल तरेर मस्याम हुँदै पाटन गाउँमा पुग्दा सिमसिमे पानी परिरहेको थियो ।

 

तीन घण्टामा गाउँका करिब ७० जनाको स्वास्थ्य परीक्षण उनी एक्लैले गरेका थिए । खास गरी ब्लड प्रेसरका बिरामी, लुतो, घाउ, जुकाका बिरामीहरू धेरै देखिए ।

त्यहाँ पुगेपछि हामीसँग गएका साथीहरुले जीपबाट ओखती, परीक्षण गर्ने साधनहरू बाहिर निकाले र खाटमा ओखती मिलाए । डाक्टर मनोज डाक्टरले बिरामीलाई जाँच्न थाले । तीन घण्टामा गाउँका करिब ७० जनाको स्वास्थ्य परीक्षण उनी एक्लैले गरेका थिए । खास गरी ब्लड प्रेसरका बिरामी, लुतो, घाउ, जुकाका बिरामीहरू धेरै देखिए । तीन जना मानसिक समस्या भएका बिरामीहरू भेटिए ।

डाक्टरले न्यूनतम एक हप्तादेखि तीन महिनासम्मका लागि आवश्यकता हेरेर ओखती दिए । बिरामीहरुले भन्दै थिए–हामीले त यस्सो जाँच्ने होला भनेको त पुरै औषधी पनि पाइयो । बिरामीहरूले गाउँमै डाक्टर पाउँदा भन्दा पनि औषधी पाएर बढी खुसी देखिन्थे । सम्भवत त्यस विकट गाउँमा विशेषज्ञ डाक्टर पुगेको पहिलो पटक हुनुपर्छ । त्यही भएर नै होला, गाउँलेहरुले अबीर र फूलको मालाले स्वागत र विदाई गरेका थिए ।

सो पाटनमा पानीको समस्या भएको हुँदा जुका, घाउ, लुतोका बिरामी देखिनु स्वभाविक भएको डाक्टरले बताए । रुपन्देहीको बुटवल हाटबजारमा खुल्ला प्याकेटमा राखिएका ब्लड प्रेसरको औषधी भारतीय बजारबाट ल्याई त्यहाँका बिरामीहरूले खाने गरेको थाहा भयो । यसरी गैरजिम्मेवारी तरिकाले बिना लेबल बेचिएका औषधीले अनाहकमा बिरामीको ज्यान जान सक्नेमा डाक्टर चिन्तित देखिन्थे । औषधी व्यवसायी संघले त्यस्ता कुरामा कडाई गर्नुपर्नेमा उनको जोड थियो ।

हस्तबहादुर अर्घली मगरको घरमा दिउँसोको नास्ता गरेर बुटवल फर्किदा मस्याममा किसानहरुले उत्पादन गरेका ताजा तरकारी किनेर हिँडियो । बुटवल आएपछि डाक्टरले हामीहरुलाई खाजा, खाना, विरामीलाई फुल डोज औषधी र जीप भाडाको दस्तुर सबै आफैले तिर्दा करिव एक लाख रुपैयाँ बराबरको डोनेसन गरेको हुनुपर्छ भन्ने मेरो अनुमान रह्यो ।

गाउँलेहरुले डाक्टरको टोलीलाई बाजागाजासहित भव्य स्वागत गरेको थियो ।

दोस्रो पटक जिल्ला वन कार्यालय, पाल्पाको आयोजनामा डाक्टरको टोलीसँगै हामी पूर्वी पाल्पाको झिरुबास( निस्दी गाउँपालिका) पुगेका थियौं । त्यहाँ हामीले इन्द्रेणी समाजको कार्यालयमा बास बसेका थियौं । हामीसँग जिल्ला वन अधिकृत दधिलाल कंडेल, रेञ्जर यम सागर पनि गएका थिए । डाक्टरसँगै औषधी व्यवसायीहरु सुरज भट्टराई, उमेश आचार्य, ध्रुव शर्मासहित हामीहरु पनि सहभागी थियौं । गाउँलेहरुले डाक्टरको टोलीलाई बाजागाजासहित भव्य स्वागत गरेको थियो ।

भोलिपल्ट गाउँभरिका बिरामीहरुलाई जाँच्दा दिनभरि लाग्यो । बिहानदेखि बिरामी जाँच्न शुरू गरिएको उक्त स्वास्थ्य परीक्षण शिविरमा बिरामीको ओइरो थियो । विकट गाउँ, अम्रिसोले चिनिएको गाउँमा पानीको उस्तै अभाव थियो । गाउँलेहरू धेरैजसो रोगी देखिन्थे । पानीको अभावले लाग्ने रोगबाट धेरै ग्रसित थिए । सरसफाइमा अभाव देखिन्थ्यो । तीन पानेको बढी प्रयोगका कारण सो सम्बन्धी रोगीहरू समेत प्रशस्तै भेटिएका थिए ।

डाक्टरले गाउँलेहरूका सामाजिक, आर्थिक एवम् सांस्कृतिक, मनोवैज्ञानिक पक्षहका बारेमा गहिरो विश्लेषण गरेका थिए । उनी औषधीका मात्र होइनन्, समाजका नै डाक्टर पो लागेको थियो हामीलाई । ती पक्षहरुको सन्तुलित व्यवस्थापन हुन नसक्दा स्वास्थ्यमा के कस्ता असर पुग्छन् भन्ने बारेमा डाक्टरको चोटिलो भनाइ थियो । स्थानीय बिरामीहरुसँग उनले नजिकको सम्बन्ध कायम गरे । बिरामी र डाक्टरको सम्बन्ध परिवारका सदस्यहरुको जस्तै घुलनशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरे ।

पढ्दापढ्दा दशैंको बेला अरु पढ्ने पुस्तक नपाएर बंगुर कसरी पाल्ने भन्ने पुस्तक समेत पढें ।

पठन संस्कृतिको कसरी विकास गर्न सकिन्छ भन्ने कार्यक्रममा मैले डाक्टर मनोजलाई मुख्य वक्ताको रुपमा बुटवलको एउटा कार्यक्रममा लगेको थिएँ । उनले भनेका थिए–म औषधी विज्ञानका बारेमा वा बिरामीका मनोविज्ञानका बारेमा मात्र पढ्दिन् । मैले समग्र समाजका हरेक पक्षहरुका सन्दर्भमा पढ्ने गर्छु । डाक्टरले मात्र होइन, सबैले पढ्नु पर्छ तर डाक्टरले झन् धेरै पढ्नुपर्छ । सोही प्रसंगमा उनले भन्दैथिए–पढ्दापढ्दा दशैंको बेला अरु पढ्ने पुस्तक नपाएर बंगुर कसरी पाल्ने भन्ने पुस्तक समेत पढें ।

जे होस् । धेरैले भन्छन्–डाक्टर हुनु त मनोज जस्तै । बिरामीलाई स्वास्थ्य सेवा दिन गाउँगाउँ पुगेका छन् । आफ्ना नियमित बिरामीहरूलाई क्लिनिकमा दैनिक स्वास्थ्य परीक्षण गरिरहेका छन् । त्यतिमात्र होइन, उनी मनोरोग सम्बन्धी जानकारी दिन क्याम्पसहरूमा विद्यार्थीका बिचमा पुगेका छन् । गाउँलेहरुका घर आँगनमा स्वास्थ्य शिक्षा दिन लम्किएका छन् ।

वर्षमा हिमाल,पहाड र तराईका गरी १० वटा विद्यालयहरुका विद्यार्थीसम्म पुगेर मनोरोग लागूऔषध नियन्त्रण सम्बन्धी ज्ञान दिने हाम्रो योजना कोरोनाले क्षणिक समयका निम्ति रोकेको छ ।


दलबहादुर गुरुङ


(दलबहादुर गुरुङ बुटवलमा बसोबास गर्दै साहित्य लेखन र पत्रकारितामा संलग्न छन् । यस लेखमा उनले जनताको बिचमा गएर सेवा गर्ने डाक्टरको असल पक्षलार्ई उजागर गरेका छन् ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!