पर्दा पछाडिको त्यो रूप


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार ०७:४२ मा प्रकाशित     
पर्दा पछाडिको त्यो रूप

“नान इङ्गे उतकारालामा” – एक महिला स्वर मेरा कानमा ठोकिए । शब्दका अर्थ बुझ्न  सकिन । पक्क परेर शब्दहरू उच्चारण गर्नेलाई हेरिरहें । सुन्दर आँखा छाडेर मुहार नकाबले ढाकेको । म उनको आँखाको सुन्दरतामा हराउन पुगेँ । आँखा त यति सुन्दर छन् भने मुहार झन कति ? मेरो दिमागमा उनको सुन्दरताको कल्पित मुहार घुम्न थाल्यो ।   

“Hello ! May I sit here?” (हेलो ! के म यहाँ बस्न सक्छु ?) म बसेको बेन्चको छेउको सिट खाली थियो, त्यही देखाउँदै सोधिन् ।

पछिल्लो प्रश्नले मेरो नजर उनको आँखाबाट हटाउन बाध्य गरायो ।

Oh! Of course. (पक्कै पनि) म उनलाई बस्न सजिलो होस् भनेर केही सरेँ ।

“खुदाभुक्कु नन्द्री” भन्दै आफ्नो झोला छेउमा राखेर बसिन् । फेरि उनका शब्दका अर्थ बुझिन । पुलक्क हेरें । अब उनलाई विश्वास भयो म उनको भाषा बुझ्दिन भन्ने ।

प्रायः केटीहरू आ-आफ्नै समुहमा हुन्थे । सायद समाजिक दृष्टिकोणले होला केटाहरूसँग एउटै बेन्चमा बसेको देखिन ।

“I am thanking to my God. It’s very difficult to get sit isn’t it?” (म मेरो खुदालाई धन्यवाद दिदैं छु । यहाँ सिट पाउन साह्रै गाह्रो छ हैन त?) उनले जवाफ दिइन् ।

म फिस्स हाँसे । बस्न दिने म, धन्यवाद चाहिँ भगवानलाई । मनमा केही डाहा पलाए जस्तो  भयो ।

सि. ए. को क्लास, राम्रो पढाउने शिक्षकको कक्षाकोठा प्रायः सधैं नै भरिन्थ्यो । अलिकति ढिलो कक्षाकोठामा पुगे बस्ने ठाउँ नै नपाउने । त्यही भएर समय अगाबै पुग्थेँ । प्रायः केटीहरू आ-आफ्नै समुहमा हुन्थे । सायद समाजिक दृष्टिकोणले होला केटाहरूसँग एउटै बेन्चमा बसेको देखिन । केही मात्र बाध्यताबस अन्त बस्ने ठाउँ नपाएर केटाहरूसँग बस्न पुग्थ्ये । 

मन मस्तिष्कमा उनको मुहारको स्वरूप कोर्दा कोर्दै मेरो आँखा उनको कापीमा पुग्छ ।

शिक्षक आएर पढाउन त सुरू गरे तर मेरो मन सुन्दर नयन र नकाबभित्र लुकेको मुहारको परिकल्पनामा घुमिरहेको थियो । बेला मौकामा उनलाई हेर्न पुग्थेँ  तर त्यो कालो नकाब मेरोलागि तगारो भयो । मेरो ध्यान पढाइमा फिट्टिकै भएन । शिक्षकका शब्दहरू मेरो कानसम्म आइपुग्न खोजे पनि नअर्थाइ फर्केर जान्थे । मन मस्तिष्कमा उनको मुहारको स्वरूप कोर्दा कोर्दै मेरो आँखा उनको कापीमा पुग्छ ।

“Beautiful” (सुन्दर) – अनायसै मेरो मुखबाट शब्द खुस्कियो ।

“What?” (के) – उनले मतिर हेर्दै भनिन् ।

 “Your handwriting” (तिम्रो लेखावट) – अकमकिदै जवाफ दिएँ ।

केही बोलिनन् । मेरो प्रशंसाले उनी मुस्कुराइ या मुस्कुराइनन् कालो पर्दाले हेर्न दिएन । ‘कस्ति केटी हो लेखावटको सुन्दरताको बयान गर्दा पनि कम से कम Thanks (धन्यवाद) त दिनु । कति भाउ खोज्छन् यी केटीहरू । म फेरि भित्रभित्रै मुर्मुरिन पुग्छु । क्लास सकियो मेरो मनमा छटपटि बढ्न थाल्यो । उनी किताब-कापी आफ्नो ब्यागमा राखेर उठिन् ।

“Thanks” (धन्यवाद) – मैले केही समयदेखि खोजिरहेको र सुन्न चाहेको शब्द बल्ल उनको मुखबाट प्रस्फुटन भयो । मन प्रफुल्ल भयो ।

“Its’ all right” (ठिकै छ) – म हत्त न पत्त जवाफ दिन्छु । मेरो जवाफ सुन्नु अघि नै उनी दुई पाइलाअघि बढि सकेकी थिइन् । हत्त न पत्त किताब कापी झोलामा कोचेर मेरा पाइला पनि उनलाई पछ्याउन थाल्छन् । बाहिर पुगेर उनी मोवाइलमा कुरा गर्दै कसैको प्रतिक्षा गर्न लागिन् ।

मेरो छेउबाट नै त्यो कार हुँइकियो । त्यो सेतो मारूती स्विफ्ट कारलाई हेरें अनि ओझेल नहुन्जेल सम्म हेरिरहें ।

“Waiting for someone?” (कसैको प्रतिक्षामा हो) – म नजिकै पुगेर प्रश्न गर्छु ।

“उँ” छोटो जवाफ आउछ ।

हैन के सह्रो गाह्रो बोल्न पनि । मलाई भाउ नै दिन्न भने म मत्तै किन मरिमेट्नु । म सरासर अघि बढें । एकछिन पछि फर्केर हेरें । चिल्लो सेतो कारमा उनी छिर्दै थिइन् । मेरो छेउबाट नै त्यो कार हुँइकियो । त्यो सेतो मारूती स्विफ्ट कारलाई हेरें अनि ओझेल नहुन्जेल सम्म हेरिरहें ।

कक्षाकोठादेखि कोठा सम्मको यात्रामा मेरो मथिङ्गलमा उनका नयन नाचि नै रह्यो । खाना पनि मन लागेन । डङ्ग्रङ खाटमा पल्टिएँ । कुनबेला झपक्क भएँ थाहै भएन ।

xxxxxxxxxxxxxxxx

कोठाको ढोका हल्का खुल्यो । कोठामा कुनै आकृति छिरे जस्तो भयो । आकृति मेरो सामुन्ने उभियो । मुख ढाकेको कपडा हटाएर लुकाएको चन्द्रमुहार देखियो । लाम्चो अनुहार हास्दा सानो डिम्पल पर्ने, अग्लो सर्लक परेको जीउँडाल, म नसामा लठ्ठिए झै भएँ । उनले मलाई अँगालोमा बेरीन् अनि ओठसम्म आफ्नो ओठ त्याएर चुम्न खोजीन् ।

हैट् ! सपना पो देखेछु – झस्कदै उठें । कस्तो समयमा ब्युँझिएँ कमसेकम एकछिन सपना नटुटेको भए…. सोच्दै मन रोमाञ्चित भयो । मुख धोएँ, फ्रेस भएँ अनि आएर खाटैमा बसेँ । एक त बिहान दर्शन गरिएको उनका ती नयन अब यो सपना । मनमा झन हलचल भयो । सोच्न थाले सपनामा देखिएको मुहार र वास्तविक मुहार एकै छ त?

सायद बिगतमा ब्रिटिसहरूले उनीहरुको चेलीप्रति गरेको दुराचार मनको कुनै कुनामा गडेर बसेको होला….

चेन्नैइ (मद्रास) सि ए पढ्न भनेर केही महिना अघिमात्र म यो सहरमा छिरेको । हामी चार भाइ (साथी) एउटै फ्ल्याटमा…. फ्ल्याटको कुरा गर्दा कोठा खोज्न महिनौ बितेको तीतो अनुभब सम्झन पुग्छु । एक त कोठा पाउन साह्रै गाह्रो पाइहाले पनि ब्याचलरलाई (अविवाहित) नदिने रे । ओहो ! के सम्झन्छन् कुन्नि मद्रासीहरूले… उनीहरुको चेलीबेटी नै उडाइदिन्छ कि जस्तो गर्ने । सायद बिगतमा ब्रिटिसहरूले उनीहरुको चेलीप्रति गरेको दुराचार मनको कुनै कुनामा गडेर बसेको होला….

बल्लबल्ल चारकोठाको एक फ्ल्याट भेटियो भाडापालिनी, रामथिएटरमा । दुई तल्ले, घरबेटी नबसेको घर माथिल्लो तलामा केरालातिरको एक परिवार बस्दथे । तर तिनीहरुसँग हाम्रो कुनै लेनादेना थिएन र भएन पनि । प्रायः हाम्रो कोठामा ताला झुण्डि रहन्थ्यो । अरू साथीहरूको बिहानको नास्ता खाएपछि बेलुकी ६-७ बजेतिर मात्र कोठामा प्रवेश हुन्थ्यो । मेरोचाहिँ बिहानको क्लास । श्रीनिवास एकेडेमी, भेलाचरीमा  । बिहानको ६ बजेको क्लास लिन ५ बजे उठेर तयार भईसक्नु पर्ने । १० बजे सम्म क्लास सकिसकेपछी ११ बजे सम्ममा कोठामा आइसकेको हुन्थे । बाँकी समय मेरो प्रायः पढेर नै बित्थ्यो । तर आज किताब पल्टाउने रत्तिभर मन भएन । टेबुलमा रहेका एकरास किताबहरू मेरो परिवर्तित व्यावहारलाई गिज्याउँदै थिए ।

सजिलो गरि उभिने ठाउँ खोजे । एउटा कुनामा उभिएर कक्षामा उपस्थिति त जनाए तर मेरो आखाँले उनलाई खोजिरहेको थियो ।

भोलिपल्ट बिहान सदाझैं बस बिसौनी मेरो बस कुराइ भयो । बिहानीपख बस बिसौनीमा बस कुर्ने फाट्टफुट्ट मात्र थिए ।  प्रायः सबै बिद्यार्थी । आँखा बस आउने स्थिर सडकमा भएपनि मस्तिष्क भने त्यो कालो पर्दा पछाडिको कल्पित अनुहारमै केन्द्रित थियो । सोच्दै थिएँ,  हाते घडीमा पुलक्क आँखा पुग्यो । सुईका काँटाले  ५.४० देखाईरहेका थिए । ओहो !  ५.३० मा आइपुग्नु पर्ने बस अहिले सम्म पनि आइपुगेको छैन । ‘आजचाहिँ उभिएरनै पढ्नु पर्ने भयो ।‘ म भुतभुताउँन थाले । त्यती नै बेला आँखै अगाडिबाट सेतो मारूती स्विफ्ट कार बत्तासियो । कतै त्यो कारमा उनै त थिइनन् मेरो सोचाइ फेरि उनी प्रति केन्द्रित हुनथाल्यो । बस पनि आइपुग्यो । हत्तपत्त बस चढेर गन्तब्य तिर लागें । ढिलो भइसकेको थियो । कक्षा कोठा टनाटन थियो । बस्ने ठाउँ पाउन त नचिताए पनि भयो । सजिलो गरि उभिने ठाउँ खोजे । एउटा कुनामा उभिएर कक्षामा उपस्थिति त जनाए तर मेरो आखाँले उनलाई खोजिरहेको थियो । साच्चै भन्ने हो भने त्यस दिनदेखि मेरो आँखाले उनलाई पछ्याउने दैनिकी नै भएको थियो ।

xxxxxxxxxxx

हिउँद ऋतु, दक्षिण भारततिर मनसुन सुरू हुन्थ्यो । बिहानैदेखि कालो बदल माडारिएको थियो । “छाता लैजा है” भनेर साथीहरू त भन्दै थिए तर सुने नसुने झै म बसस्टपतिर लम्के । त्यहाँ पुग्दा नपुग्दै बादलले पानी बर्सायो ।  म आधाउधि भिजेँ । प्रतिक्षालयको ओत लाग्ने ठाउँ पनि लागभग भरिसकेको थियो । तैपनि एकछेउ ओतिएर गाडीको प्रतिक्षा गर्न थाले । केही समयपछि उहि सेतो मारूती स्विफ्ट कार सामुन्ने आएर रोकियो । कारको पछाडिको सिसा आधा खोलेर हातको इसाराले बोलावट आयो । अरु नै कसैलाई हो कि भनेर दाँया- बाँया अगाडि-पछाडि नियाले । त्यहाँ बसको पर्खाइमा रहेका यात्रुहरू कसैको पनि पाईला अघि बढेनन् । असमञ्जसमा मेरा पाइला अघि बढे ।

“Come inside” (भित्र आउ) – कारको पछाडिको ढोका खोल्दै नारी आवाज आयो ।

उनी नै थिइन् ।

“So you are staying here at Ram Theater?” (भनेपछि तिमी रामथिएटरमा बस्छौ?) – उनले कुराको प्रसङ्ग अघि बढाइन् ।

“Ya.” (अँ) – छोटो उत्तर दिएँ ।

“And you?” (अनि तिमी) – प्रति प्रश्न गरेँ ।

Me… Saligram. (म सालिग्राम) – उनको जवाफ थियो । सालिग्राम रामथिएटर भन्दा २-४ स्टप पर थियो । त्यस्तै मोटरमा ५-६ मिनेटको बाटो ।

By the way I am Samit. And you? (खैर ! मेरो नाम समित । अनि तिम्रो?) – मैले हात मिलाउन अघि बढाउँदै भने । उनले अघि बढेको मेरो हात हेर्दै बिस्तारै भनिन् –

‘आदीवा’

मैले हात पछि सारेँ । कताकता धेरै जान्ने भएर हात मिलाउन अघि सारकोमा लज्जित हुँदै थिएँ । त्यसदिन मेरो भाग्य दह्रो थियो । कक्षाकोठामा पनि हामीले सँगै बस्न मिल्ने गरि सिट भेट्यौं । क्लास सकिएपछि उनीसँगै फर्कने आसमा उनको पछि के लाग्दै थिएँ, पछाडिबाट उडिसातिरको एक साथिको आवाजले टक्क अडिएँ ।

“क्या बात है भाइ ? हाम लोगको देखके भि अनदेखा कर रहे हो ।“ (के हो भाइ? हामीलाई त देखे पनि नदेखे झैं गर्छस् त ।) – उ मलाई जिस्काउन कोसिस गर्दै थियो ।

“नहीँ । ऐसी कोही वात नहीँ ।” (हैन त्यस्तो केही हैन) – हल्का हाँसोमा जवाफ दिएँ ।

“तुम किताना भि छुपाने कि कोसिस करो हमे पता चल जाता है ।” (जति सुकै कुरा लुका न मलाई सबै थाहा हुन्छ) – उसको जवाफ आउँछ ।  

“क्युँ क्या बात है । ऐसी छुपाने बाले बात क्या है ?” (के कुरा हो मैले त्यस्तो लुकाउनु पर्ने के नै छ र?) – मैले फेरि हाँस्दै भने ।

“Be careful man.” (होस गर है केटा) – उ हाँस्दै सुझाउँछ ।

मेरो गन्तब्य पनि नजिकिदै थियो । मलाई भने भित्रभित्रै कारको गति मन्द होस, गन्तब्य टाढा होस भन्ने लागिरह्यो ।

“चलो चल्ते है ।“  (ल हिँड जाउँ) – मैले कुरा मोड्दै भने । कक्षाकोठाबाट बाहिर निस्कदा उनको सेतो कार गेट नजिकै रोकिइरहेको थियो ।

“चल जा यार तुम्हारी राह देख रही है ।” (जा यार तेरो प्रतिक्षा गरिरहेकी छ) – साथीले मलाई फेरि जिस्काउन थाल्यो ।

फर्कादा बाटोभरि हामी चुप थियौं । कुरा त गर्ने हुटहुटि चलेको थियो मनमा तर के कुरा गर्ने फुर्नै सकेन । कारले रफ्तार लिइरहेको थियो । मेरो गन्तब्य पनि नजिकिदै थियो । मलाई भने भित्रभित्रै कारको गति मन्द होस, गन्तब्य टाढा होस भन्ने लागिरह्यो ।

“If you would not mind, I want to say something” (यदि रिसाउँदैनौ भने एउटा कुरा भनौ ) -मौनतालाई चिर्दै भने । उनले एकोहोरो मलाई हेरिन् ।

“Your eyes are beautiful” (तिम्रा आँखाहरू साच्चै नै सुन्दर छन्) – डरै नमानि भनिदिएँ ।

खित्त् हाँस्दै भनिन् – “Nonsense”  (हावा कुरा) ।

मन पुलकित भयो । एकटकले हेरिरहेँ । उनी पनि मलाई गडेर हेरिरहेकि थिईन् । मेरा आँखा डराए । उनको आँखाबाट मेरा आँखा हटाउन बाध्य भएँ ।

XXXXXXXXXXXXXXXXXXXXX

 मे महिनामा परिक्षा पनि सकियो । हाम्रो परिक्षाकेन्द्र फरक फरक थियो । परिक्षाको अन्तिम दिन उनैको योजनामा भेट्ने सल्लाह भयो – ‘क्याफे कफी डे’ गान्धिनगरमा ।

“What do you want to have?” (के लिन्छौ तिमी?) – कफीसपको कुर्सीमा बस्दै उनले सोधिन् ।

खोलेर कुरा गर्थिन् । तर पनि उनले आफ्नो पर्दा भित्रको मुहार लुकाएर नै राखेको थिईन् ।

“Um… Cold Coffee.” (उम.. चिसो कफी) – मैले भने

“One cold coffee and one American Cappuccino” (एउटा चिसो कफी र एउटा अमेरिकन क्यापचिनो) – उनैले अडर गरिन्

लगातारको भेटघाट, र उठबसले उनी घनिष्ठ भइसकेकी थिइन् । खोलेर कुरा गर्थिन् । तर पनि उनले आफ्नो पर्दा भित्रको मुहार लुकाएर नै राखेको थिईन् । अप्रत्यक्ष रुपमा उनलाई पर्दा खोलेर मुहार देखाउ भनेर पनि भन्न भ्याइसकेको थिए तर मेरो प्रत्येक अनुरोधलाई “you know we will uncover our face only in front of our father or husband” (हामी त आफ्नो श्रीमान वा बुबाको अगाडि मात्र मुख देखाउन सक्छौं) – भन्दै  हाँसोमा टारिदिन्थिन् ।

‘खै कहिले पो दर्शन पाउने हो ? दर्शन नै नपाई मरिने हो कि के हो ?’ – सोच्न थाले

“What are you thinking about?” (के सोचिरहेको?) – उनले झक्‍झकाइन्  

“Nothing” ( केही हैन) – फिस्स हाँसे

“What’s the program after the exam?” (अब के गर्ने सोच छ?) –  उनले प्रश्न गरिन् ।  

“Next week I am going to Nepal” (अर्को हप्तातिर म नेपाल जाँदैछु ।) –  मेरो जवाफले उनको आँखा चाउरियो ।

परिक्षाफल ३ महिनापछि आउने यहाँ बसेर काम पनि थिएन । घरको पनि न्यास्रो लागेको थियो । दुई-चार महिना नेपालमै बसेर दशैं-तिहार मनाएर मात्र फर्कने बिचारले मैले आर्को हप्ताको ट्रेनको टिकट लिएको थिएँ ।

दुवै मौन थियौ । सायद उनलाई म नेपाल जानलागेको मन परेको थिएन ।

“So how was your exam?”  (अनि तिम्रो परिक्षा कस्तो भयो त) – मैले कुरा अन्तै मोड्न खोजें ।

हामीबिच एक घण्टा जति परिक्षा र अरू गनथन भए । छुट्टिने बेलामा उनको नयन केही रसाएको आभास भयो । मेरो पनि मनभारि भयो । कता कता मनमा प्रश्न उब्जियो कतै हामीमा प्रेमको बिजारोपण भएको त हैन ?

xxxxxxxxxxx

नेपाल आएपछि पनि उनीसँग मोवाईल फोनमा प्रायः कुराकानी भई नै रहन्थ्यो । परिक्षाफल पनि निस्कियो । दुबै उतिर्ण भयौं । मैले बधाई दिन उनलाई फोन लगाए । तर सम्पर्क भएन । प्रत्येक चोटि डायल गर्दा पनि Out of service (सेवा बाहिर) रहेको Message (सूचना) मात्र आयो । आश्चर्यचकित भएँ, छटपटि पनि हुन थाल्यो । घरबाट फर्कने समय पनि छोट्टिदै थियो । उनलाई चेन्नैईमा पक्कै भेट हुन्छ भन्ने आसमा दिन कट्न थाल्यो। 

गन्तब्यमा पुग्ने बसहरू आउँथे जान्थे तर मेरो आँखाले सेता कारहरूलाई पछ्याइ रहन्थे ।

चेन्नेई फर्केर आएपछि पनि मैले बारम्बार त्यही नम्बरमा सम्पर्क गर्ने कोसिस गरें । तर जवाफ एउटै आयो Out of service । प्रत्येकदिन भारि मनले बस स्ट्यणडमा कुरिरहन्थे । गन्तब्यमा पुग्ने बसहरू आउँथे जान्थे तर मेरो आँखाले सेता कारहरूलाई पछ्याइ रहन्थे । उनी विलुप्त थिइन् । उनको घर थाहा थिएन । तैपनि बाटोमा कदाचित भेट भइहाल्छकि भनेर उनी बस्ने सालिग्राम एरियातिर पनि चक्कर लगाएँ। मेरो प्रत्येक प्रयास असफल भयो । घनिष्ठ सम्बन्ध अचानक तोडिदा मन हतास थियो ।

आएको पनि महिना दिन भईसकेको थियो । यसै बिच अन्तिम वर्षको पढाइ पनि सुरू भयो । क्लासमा त जोडिएँ तर प्रत्येक क्लासमा मेरा नयनले ती नयनलाई खोज्ने असफल प्रयास गरेको हुन्थ्यो । खोज्दाखोज्दा मेरा नयन पनि थकित भए ।

“अरे ! समित तुँ । क्या हाल है ?”  (अरे ! समित तँ । के छ खबर?) – क्लास सकेर कोठामा फर्कने बेलामा बसस्टपमा उही उडिसाको साथी भेट भयो ।

“ठिक है यार । और बता तेरा क्या हाल है ?” (ठिक छ यार । अनि भन तेरो खबर के छ?) – थकित मनले बोल्न मन नलागी नलागी पनि बोल्न बाध्य भएँ ।

“चल मेरे रुम मे । यहीँ पास मे हि है । बहुत बात करनि है” (हिँड जाउँ मेरो कोठामा यहीँ नजिकै छ। धेरै कुरा गर्नु छ तँसँग) – मेरो पाखुरा तान्दै भन्न थल्यो ।

पहिला निकै टाढा बस्थ्यो उ अहिले नजिकै कोठा लिएछ ।

“तो क्या तुमने पहेले वाला रुम छोड दिया ?“  (त के तैंले पहिलाको कोठा छाडिदिइस्?) मैले सोधे ।

“हाँ यार कुछ दिक्कत हो रहा था ।” (हो यार त्यहाँ बस्न केही गाह्रो भएको थियो)

पहिलाको त्यही दृष्य सम्झदै मनले मानेको थिएन तर उसले धेरै नै जोडबल गर्यो । हुन्छ नि त केहीबेर भए पनि मन बहलिन्छ सोच्दै उसको साथ लागें ।

मलाई पहिला पनि उसको पुरानो कोठामा जबरजस्ति लगेको थियो । सानो कुचुक्क परेको कोठा । जताततै लत्ता-कपडा, किताब छरिएका, खाएर राखेको जुठो भाँडाहरू कति दिन देखी कट्कटिएका । त्यो दिन त्यहीँ खाना खान जोडबल गर्दै थियो । उसको फोहोरी बसाई  देखेर घिन लागेको थियो । बाहाना बनाउँदै म त्यो दिन खाना खानबाट फुत्केको थिए । पहिलाको त्यही दृष्य सम्झदै मनले मानेको थिएन तर उसले धेरै नै जोडबल गर्यो । हुन्छ नि त केहीबेर भए पनि मन बहलिन्छ सोच्दै उसको साथ लागें ।

  पहिलाको भन्दा अहिलेको बसाई स्ट्याण्डर्ड बढेको थियो । दुई कोठा र एउटा किचनको फ्ल्याट । मूल ढोकाबाट छिर्ने बित्तिकैको कोठालाई बैठकको रुपमा सजाएको थियो । बैठककोठा सबैकुरा पूर्ण, सफा, सबै सामान आ-आफ्नो ठाउँमा व्यवस्थित ।

“अरे ! तुम्हारा कमरा तो चकाचक है । लोटरि लग गया क्या ?” (के हो कोठा त सफाचट् छ त चिठ्ठा पर्‍यो कि के हो?) –  मैले सोधें । फिस्स हाँस्यो ।

“पहेले चाय पिएङ्गे फिर बात करेङ्गे ।”(पहिला चिया पिउँ आनि कुरा गरौंला) – भन्दै उ आर्को कोठामा छिर्यो ।

म बैठकको सोफामा बसेर बैठक कोठा नियाल्न थालें । बाहिरबाट कोही कोठामा छिरेको आभास भयो । म हक्कबक्क भएँ ।

“कुछ महिने पहेले हाम दोनो ने सादी कर ली ।” (केही महिना अघिमात्र हो हामीले बिबाह गरेको) उडिसे साथीले कानमा आएर फुस्फुसायो ।

म जड भएँ  । शरीर अचानक बरफझैँ चिसो भयो रक्त सञ्चार एकैचोटि बन्द भए झै भयो । मनमा ज्वारभाटा चल्यो । दिमाग शून्य भयो । सास रोकिए जस्तो भयो । किल्किलोमा गाँठो पर्यो । उ आफ्नो कथा ब्यथा भनिरहेको थियो तर मेरो कान पूर्णरुपले टालियो केही सुनेन । म सरासर उसको कोठाबाट बाहिर निस्के ।

बाटोभरि आँखामा एउटैमात्र दृष्य नाचिरहेको थियो…. ती सुन्दर नयन र पर्दा पछडिको उनको कल्पित सुन्दर मुहार…… अनि कानमा उडिसे साथीले भनेका शब्दहरू गुन्जिरहेका थिए……. Be careful man…….


मनीष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर

100% LikesVS
0% Dislikes
Spread Your Love !!!