साहित्यकार डा. वानिरा गिरीको निधन, नेपाली भाषासाहित्यमा पीएचडी गर्ने प्रथम महिला


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार १३:०६ मा प्रकाशित     
साहित्यकार डा. वानिरा गिरीको निधन, नेपाली भाषासाहित्यमा पीएचडी गर्ने प्रथम महिला

काठमाडौँ- साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । नेपाली उपन्यास, निबन्ध र कविता लेखनमा उल्लेखनीय योगदान पुर्याउने साहित्यकार डा. वानिरा गिरीको हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार राति १० बजे निधन भएको छ । 

विगत लामो समयदेखि मधुमेह र अल्जाइमरबाट पीडित डा. गिरीलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको आधा घण्टामा वानिरा फाउण्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले आफ्नो फेसबूक वालमा उल्लेख गरेका छन् । 

डा.वानिरा गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न उनी काठमाडौँ आएकी थिइन् । २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध वानिरा गिरी नेपाली भाषासाहित्यमा पीएचडी गर्ने प्रथम महिला थिइन् । उनले २०४२ सालमा पीएचडी गरेकी थिइन् । डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विभिन्न भाषामा अनुवाद भएका छन् । उनी विभिन्न पदक तथा पुरस्कारबाट सम्मानित थिइन् ।

 डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो । परिवारमा डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!