मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङि्सर ३ गते निर्वाचनकाे घाेषणा


मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङि्सर ३ गते निर्वाचनकाे घाेषणा

 मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

विघटन सदरसम्बन्धी राष्ट्रपति कार्यालयको वक्तव्यमा भनिएको छ, ‘‘मन्त्रिपरिषद्बाट मिति २०७८÷२÷८ गते निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकाले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मङ्सिर ३ गते शुक्रबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ ।’’

नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार बन्न नसकेपछि ७६(३) अनुसार गठित सरकारले नै विघटन सिफारिस गरेको हो । उपधारा ७ बमोजिम विघटन सिफरिस गरिएको हो । विघटनका पूर्वसर्तमा उपधारा ५ अनुसार कुनै पनि सांसदले सरकार गठनको दाबी नगरेमा पनि विघटन गर्न सक्ने अवस्था छ । उक्त अधिकार उपधारा ३ अनुसार गठित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गठित मन्त्रिपरिषद्ले प्रयोग गर्नसक्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार प्रतिनिधि सभा विघटन सिफारिस भएको हो ।

पाँच वर्षको कार्यकाल रहेको प्रतिनिधि सभा पछिल्लो छ महिनाको अवधिमा दोस्रो पटक विघटन भएको हो । यसअघि पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएको थियो । तर सर्वोच्च अदालतले विघटन असंवैधानिक भन्दै पुनस्र्थापना गरेको थियो । अदालतले विघटनमा संविधानको धारा ७६ ले परिकल्पना गरेका सर्तहरू पूरा नभएको भन्दै पुनस्र्थापना गरेको थियो । अदालतले फागुन ११ गते पुनस्र्थापनाको फैसला गरेको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।