रुद्र अधिकारीका चार मुक्तक


रुद्र अधिकारीका चार मुक्तक

१)

छ भन्दैमा हुँदैन झिक्न नजाने खानी खेर जान्छ ।
सही चित्रण गर्न नसकेमा कहानी खेर जान्छ ।
भगवानले पनि हाम्रो क्षमता अनुसार दिन्छन्,
बाल्टी भरिँदा धारा बन्द नगरे पानी खेर जान्छ ।

२)

स्वकर्मद्वारा बन्ने पहिचान सिकाउँछन् ।
गन्तव्य हाँसिल गर्न उडान सिकाउँछन् ।
कसैले बाटो मोड्दैमा चिन्ता लिनु पर्दैन,
यि तिनै हुन् जसले स्वाभिमान सिकाउँछन् ।

३)

बाहिर कोरोना घात लगाउँछ ।
मौसमले नि उसैलाई सघाउँछ ।
कतै नगइ नहुने छ झैँ गरी,
भूकम्प आई बिहानै उठाउँछ ।

४)

एकतर्फी आफ्नो मानेर हामी रुन छोड्छौँ ।
तिनका कुकर्म आफ्ना आँसुले धुन छोड्छौँ ।
जब बुझ्छौँ आफू बाहेक आफ्नो कोही हुन्न,
त्यो दिन देखि नै हामी निराश हुन छोड्छौँ ।


रुद्र अधिकारी


(रुद्र अधिकारीको जन्म चितवनको सुन्दरबस्तीमा भएको हो । हाल उहाँ विशालनगर, काठमडौंमा बसोबास गर्दै पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँको तिरस्कृत मन मुक्तक संग्रह प्रकाशित छ ।)