लता केसीका दुई लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार १४:०८ मा प्रकाशित     
लता केसीका दुई लघुकथा

कोरोना प्रभाव

गाउँभरिका मानिस भकाभक ढल्न थाले । सबै के भयो ? भनेर आत्तिन थाले । बुर्जुकहरूले भने, “देवीदेउताको नजर लाग्यो ।” गाउँलेहरू सबै स्वस्ति शान्ति, पूजाआजामा जुटन थाले । उसैबेला माइकिङ गर्दै एउटा सरकारी गाडी आयो । फुक्दै थियो, “कोरोनाको दोश्रो लहर यस गाउँमा भित्रिएको समाचार आएको छ । यसको चपेटामा सिङ्गै गाउँ आक्रान्त बन्न सक्छ । प्यारा गाउँवासीहरू सबैले सरकारी मापदण्डको पालना गरौँ, सुरक्षित बसौँ ।”

माक्स र सेनेटाइजर पनि बाँडे । सुरक्षित बस्ने उपायहरू सिकाए ।

 बिचरा निमुखा, सोझा गाउँलेहरू गाडी भएतिर दगुर्न थाले । स्थानीय पुलिसहरू पनि आए । जनता सबैलाई नियन्त्रणमा लिए । माक्स र सेनेटाइजर पनि बाँडे । सुरक्षित बस्ने उपायहरू सिकाए । गाउँलेहरू मरिने पो हो कि भनेर घरभित्रै बस्न थाले ।

एकदिन फेरि सरकारी निगरानी गाउँमा पस्यो । पुलिस भ्यान डुलिरहेको थियो । गाउँले जनताहरू मर्यादा पालन गरिरहेका थिए । भ्यान दगुर्दै अघि बढ्यो । एउटा घरमा निकै ठूलो होहल्ला सुनियो । मानिसहरू टन्नै जम्मा भएका थिए । कोही कोरोनाले मर्यो कि भन्ने शंका भयो । गाडी उतैतिर लाग्यो । बुझ्न भनेर दुईजना पुलिस घरभित्र छिरे । केहीबेरपछि फर्केर आए । उनीहरूले भने, “ल जाऔँ जाऔँ, केही होइन, नेताको छोरोको जन्मदिन मनाएको रे !”

विधवा

वातावरण शोकाकुल थियो । परिवारभित्रका केही खास आफन्तहरू मात्र उपस्थित थिए । ऊ मरेको आज १३ दिन भयो । पुरेतहरू एकपछि अर्को कर्म सक्ने हतारोमा देखिन्थे ।

म अर्को बिहे गरेर रातो लुगा नै लगाउँछु तर संस्कार र समाजले मलाई रोक्यो ।

म भने सोचमग्न थिएँ “मलाई अब समाजले विधवा भन्ने छ । सेतो लुगा लगाउन बाध्य गर्नेछ । रोऊँ कि हासुँ ? आखिर बाँचुञ्जेल पनि हाम्रो मन कहाँ मिलेको थियो र ? ऊ त केवल सन्तानको बुबा मात्र बनेको थियो । संघर्ष र आत्मविश्वासको यात्रामा म ननिस्केको भए शायद निस्सासिएर मर्ने थिएँ ।”

“उहाँलाई यो लुगा फेराइदिनू ।” भनेर पुरेतले सेतो लुगा अघि सारे । म झसङ्ग भएँ । चिच्याएर भन्न मन लागेको थियो, म अर्को बिहे गरेर रातो लुगा नै लगाउँछु तर संस्कार र समाजले मलाई रोक्यो । म मौन भएँ । एकजना दिदीले त्यो सेतो लुगा समाएर मेरा पाखुरा अँठ्याइन् । म बाध्य भएर उठदै थिएँ । अचानक कोही करायो, “पख्नुस्, यो लुगा नलगाइदिनू यिनलाई ”! उपस्थित सबै मुखामुख गरे । म अचम्म परेँ ।

उसले भन्यो, “म हुँदाहुँदै तिमी कसरी विधवा बन्यौ ? बिस्र्यौ, ती दिन ? हामीले केटाकेटीमै बिहे गरेको ?”

म उसको छातीमा बेस्सरी टाँस्सिएँ र जोडजोडले रून थालेँ, मानौँ घुम्सिएका पीडाहरू र लुकाएका आँसुहरू छताछुल्ल हुन चाहेजस्तो ।


लता केसी


(लता केसी भोजपुर जिल्लामा जन्मेर हाल काठमाडौंमा बसोबास गर्दछिन् । उनी हाम्रो लघुकथा पाठशाला नामक फेसबुक पेजकी संस्थापक व्यवस्थापक हुन् । नेपाली लघुकथाका क्षेत्रमा सक्रिय भएर लागिरहेकी लता केसीको एक लघुकथा कृति प्रकाशित छ । यी लघुकथामा कोरोनाका नाममा जनतामा फैलिएको अनावश्यक त्रासको चर्चा गरिएको छ भने अर्कोतिर श्रीमानको मृत्युपछि महिलामाथि गरिने सामाजिक व्यवहारलाई पनि प्रस्तुत गरिएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •