स्कुले जीवनका सम्झना – तारा केसीको संस्मरण


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार ११:२८ मा प्रकाशित     
स्कुले जीवनका सम्झना – तारा केसीको संस्मरण

हामीले स्कुल पढ्दा कक्षा चारदेखि मात्र अंग्रेजी विषय पढाइन्थ्यो । पहिलोचोटी अंग्रेजी किताबका पानाहरू पल्टाउँदा त्यहाँ भएका चित्रहरू हेर्दै म रमाएकी थिएँ । आहा ! कति राम्रा चित्रहरू । नयाँ बुकहरूमा नच्याँतियोस् भनेर किराना पसलबाट चुरोटको पेटी किनेर ल्याउँथ्यौ र किताबमा गाता हाल्थ्यौँ । झोला कसैले बोक्दैनथे । हातैमा किताब कापी बोकेर स्कुल जान्थ्यौ हामी । ए बि सि डी खारेपछि बल्ल किताबको पाठ पठाउन थाल्नुभयो अंग्रेजी सरले ।

हामी किताबका पानाभरि केकेका चित्र बटुलेर राख्थ्यौँ र बास्ना आउन थालेपछि बास्ना साटी खेल्थ्यौं ।

त्यतिखेर हामी पढ्थ्यौं श्री श्वेत गणेश प्रा.वि., चौकोटमा ।

त्यसै विद्यालयका विद्यार्थी हामी । प्र. अ. हुनुहुथ्यो गुरु रामप्रसाद अधिकारी । गणित पढाउनुहुन्थ्यो दलबहादुर श्रेष्ठ सरले । सामाजिक र विज्ञान क्रमशः तिर्थमाया प्रधान मिस र ज्ञानुमाया मिस अनि  अंग्रेजी मेरै दाइ जनार्दन के.सीले पढाउनु हुन्थ्यो ।

हामी किताबका पानाभरि केकेका चित्र बटुलेर राख्थ्यौँ र बास्ना आउन थालेपछि बास्ना साटी खेल्थ्यौं । खुब मिठो बास्ना आउँथ्यो । स्कुलमा भौतिक संरचनाहरू बनिसकेका थिएनन् । कक्षामा काठको फल्याकमा बसेर पढ्नुपथ्र्यो । हरेक हप्ताको शुक्रवार पालैपालो कक्षाकोठा लिपपोत गरेर घर जान्थ्यौं हामी ।

फारो गरेर साँच्दासाँच्दै फुत्त सक्कि गाको त्यो बाल्यकाल सम्झिदाँ पनि रोमाञ्चित हुन्छ मन ।

शौचालयको व्यवस्था थिएन हाम्रो स्कुलमा । खानेपानी खान विद्यालय नजिकैको पँधेरो वा तल चौकोट बजारको ढुङ्गेधारोमा जानुपर्थ्यो । स्कुल अगाडि ठुलो चौर थियो भिमसेन डाँडा, अहिले पनि छ । हामी खुब खेल्थ्यौं राजाप्रजा, कपर्दी, भेरीगाँठो लुकाई, आसपास, गट्टा के के हो के के । फारो गरेर साँच्दासाँच्दै फुत्त सक्कि गाको त्यो बाल्यकाल सम्झिदाँ पनि रोमाञ्चित हुन्छ मन । बाल्यकाल भनेको जीवनको स्वर्णिमकाल रहेछ न कुनै पिर न कुनैै सुर्ता न कुनै चिन्ता ।

अँ म लेख्दै थिएँ अंग्रेजी विषयको । ब्ल्याकबोर्डमा सरले सबै अंग्रेजी वर्डलाई नेपाली शब्दमा लेखिदिनुहुन्थो । हामीले त्यो सबै कण्ठ गरेर सुनाउनुपर्थ्यो  भोलिपल्ट  ३०/३५ ओटा वर्ड । एउटा नआए एक लठ्ठी खानुपर्थ्यो । कुटाई खाने डरले पनि घोकेर कण्ठ पारेर जान्थ्यौं, पढ्थ्यौं हामी । सरले यसरी लेख्नुहुथ्यो हामी, त्यसरी नै घोकेर आउथ्यौँ । रमाइलो थियो अंग्रेजीको कक्षा ।

गुड मर्निङ माने बिहानको नमस्कार ।

सिट डाउन माने बस् ।

ओपन द डोर माने ढोका खोल

दाईको कुटाई खाने डरले मैले राम्ररी नै घोकेछु अंग्रेजी । अरू विषयमा भन्दा मेरो  अंग्रेजी विषयमा राम्रो नम्बर आउँथ्यो । पाठहरू म किताब नहेरी कण्ठ भन्न सक्थेँ । यी २०४२ सालतिरका प्राथमिक तहमा पढ्दाका कुराहरू हुन् ।

तारानाथ शर्मा सरले क्लास लिनुहुन्थ्यो अंग्रेजी । खरर रिडिङ गर्नुहुन्थ्यो ।

प्रा.वि स्तरको पढाइ सकेपछि कक्षा ६ मा अध्ययन गर्नको लागि श्रीखण्डपुर मा.वि, खण्डपुरमा भर्ना भएँ म वि.स. २०४३ सालमा । त्यसपछि भने मेरोे अंग्रेजी ओरालो लाग्दै गोलखाडीतिर गयो । कारण थियो पढाएको नबुज्नु । तारानाथ शर्मा सरले क्लास लिनुहुन्थ्यो अंग्रेजी । खरर रिडिङ गर्नुहुन्थ्यो । पढाएको केही बुझिदैन्थ्यो । नबुझेपछि सोध्ने आँट पनि गर्न सकिँदैन्थ्यो । ६÷७ वर्ष उहाँले पढाउनु भयो । म फेल भएँ अंग्रेजी विषयमा ।

हरेक अंग्रेजी वर्डलाई नेपालीमा उल्था गर्दै मिलिङ लेखिदिनु हुन्थ्यो । त्यसो गर्दा हामीलाई बुझन सजिलो हुन्थ्यो ।

२०४५ सालमा कक्षा आठमा पढ्दा भने अंग्रेजी पढाउन नयाँ सर आउनु भयो सुरेन्द्र कुमार राई । हामी राई सर भन्थ्यौ उहाँलाई । उहाँको क्लास लिने तरीका ठयाक्कै दाईको जस्तै थियो । क्लासमा उहाँ छिरेपछि सुनसान हुन्थ्यो क्लास । विद्यार्थीको पढ्ने मुड बनाँउदै, उनीहरूको ध्यान आफुतिर खिच्दै पढाउनुहुन्थ्यो उहाँ । हरेक अंग्रेजी वर्डलाई नेपालीमा उल्था गर्दै मिलिङ लेखिदिनु हुन्थ्यो । त्यसो गर्दा हामीलाई बुझन सजिलो हुन्थ्यो । हरेक दिन पढाएको कुरा भोलिपल्ट सोध्नुहुन्थ्यो । त्यसो गर्दा घरमा पनि पढ्ने बानी बस्यो हाम्रो । अंग्रेजी राम्रो हुँदै गयो ।

उहाँले फस्ट गर्लको कापी देखाउँदै भन्नुभयो, “अब अक्षर यस्तो लेख्ने है ।” मैले “हवस्” भन्दै मुन्टो हल्लाएँ ।

एकदिन राई सर कक्षामा हेण्ड राइटिङ्ग लेख्न दिएर चौरमा गएर बस्नु भाको थियो । हेण्ड राइटिङ सकेर पालैपालो विद्यार्थीहरू बुझाउन चौरमै जान्थे । म पनि बुझाउन पालो कुरेर बसेको थिएँ । सरले फस्ट गर्ल सुलोचनाको कापी हेर्दै हुनुहुन्थ्यो । त्यसपछि मेरो पालो आयो । मेरो कपी त सरले हेर्दै नहेरेर चौरमा फाल्दिनुभयो। आँखाका डिलबाट फुत्त हाम फाल्न लागिरहेका आँसुका ढिक्का रोकेर कापी टिप्न थालेँ म । उहाँले मलाई बोलाउँदै भन्नुभयो; “के. सी ! तिमी यहाँ आऊ । उहाँ मलाई नामले होइन, थरले बोलाउनुहुन्थ्यो । डराईडराई म सरको अगाडि उभिएँ । उहाँले फस्ट गर्लको कापी देखाउँदै भन्नुभयो, “अब अक्षर यस्तो लेख्ने है ।” मैले “हवस्” भन्दै मुन्टो हल्लाएँ । म पनि त्यस्तो अक्षर लेख्न सक्छु । मनमा ईख राखेँ । भनिन्छ, ईष्या कसैको नगर्नु तर ईख राखेर अगाडि बढ्नु । भोलिपल्ट सरले मेरो हेण्ड राईटिङ देखाउँदै क्लासमा भन्नुभयो “हेर यस्तो राम्रो अक्षर लेख्न सक्ने के.सीले हिजो कस्तो लेखेको ?” त्यसपछि अंग्रेजी हेण्ड राईटिङमा मैले गुड, भेरी गुड, बेटर पाउँदै गएँ । ती कापीहरू अझ पनि सुरक्षित छन् मसँग ।

पहिलो, दोस्रो हुन नसके पनि टप टेनभित्रको सात नम्बरबाट नियमति एसएलसी पास गरेकी थिएँ।

बुझ्दै गएपछि विषयले तान्दै लाँदो रहेछ । पढ्नुपर्छ भन्ने कुरा मनैदेखि आउँदो रहेछ । अनि मात्र पढिँदो रहेछ । गुरूको क्षमतामा भर पर्ने रहेछ सिकाई प्रभावकारी हुनलाई । हामीलाई प्रशंसा पनि चाहिँदो रहेछ, पढाईमा अभिरुचि जगाउनको लागि । राई सर सँधै भन्नुहुन्थ्यो “यो के.सी चलाख छे । बाठी छे । पढ्छे, पास हुन्छे ।” राधादेवी राजवंशी मिसले पनि यस्तै भन्नुहुन्थ्यो । उहाँको इतिहास विषय पढ्न पनि मलाई खुब अभिरूचि लाग्थ्यो । मेरो स्वरमा दखल थियो । म नहेरिकन उहाँले सोधेका इतिहासका प्रश्नको उत्तर लेख्न र भन्नसक्थ्येँ । विज्ञान, शिक्षा, नेपाली विषय पनि मेरो राम्रै थियो । गणित भने मेरो कमजोर थियो । गणित कमजोर हुनुमा मन लाएर ध्यान नदिनु पनि हो । पहिलो, दोस्रो हुन नसके पनि टप टेनभित्रको सात नम्बरबाट नियमति एसएलसी पास गरेकी थिएँ। त्यतिखेर समाजमा छोरीले एसएलसी पास गर्नु ठुलै कुरा मानिन्थ्यो । हाम्रो ब्याजले पहिलोचोटी जिल्लामा नाम राखेको थियो । यो खुशीमा हाम्रा साथीहरूले स्कुलबाट स्वर्ण पदक पाए । १५ जना छात्राहरू मध्ये म, सुलोचना र शारदा थियौ, पास हुने छात्रामाा ।

आज सम्झदा आउँछ–यदि राई सर हाम्रो स्कुलमा नआउनु भाको भए अंग्रेजी विषयमा हाम्रो प्रगति हुँदैनथ्यो होला ।


तारा केसी


(तारा केसी बहुविधाकी लेखक हुन् । उनले यस लेखमा आफ्नो बाल्यकालीन संस्मरणलाई प्रस्तुत गरेकी छिन् ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!