साइनो संस्कृतिबारे अलिकति कुरा, केही रचना


लेखक : लेखापढी      ८ जेष्ठ २०७८, शनिबार १०:३८ मा प्रकाशित     
साइनो संस्कृतिबारे अलिकति कुरा, केही रचना

साइनो नेपाली लोक चलनले हुर्काएको सैना शब्दको विकसित रूप हो । गण्डकी प्रदेशमा प्रचलित सैना शब्द साइनु र साइनो हुँदै प्रयोगमा आएको छ । यसको शाब्दिक अर्थ नाता सम्बन्ध हो। पछिल्लो समय यसले साहित्य सिर्जना साइनो कवितालाई पनि चिनाउँदै आएको छ ।

साइनो कविता नेपाली साहित्यको मौलिक संरचना हो ।

यसको संरचना र स्वरूपले नेपाली भाषासंस्कृतिको प्रतिनिधित्व गरेको छ । यसले जीवनको समग्र अभिव्यक्ति दिन सक्छ । यसको सात,आठ र नौ अक्षरी संरचनामा ७. सात बार, ८.आठ दिशा, नौ. नवरस र ७, ८, ९ को संयोग २४ ले चौबिस घण्टाको समय जनाउँछ भने तीन शब्दगुच्छा र पङ्क्तिले प्रातः, मध्याह्न र सन्ध्या तीन प्रहर सँगसँगै तराई पहाड, हिमाल तथा सत, रज, तम तीन गुण बताउँछन् । यिनै बलिया विशेषता साइनो विशुद्ध नेपालीपन लिएर जन्मेको कविता हो भन्ने प्रामाणिक आधार हुन् । यो साझा साहित्यिक सम्पदाको संरक्षण र विकासको दायित्व हामी नेपालीकै हो ।

प्रस्तुत छन् केही रचनाहरू:

१.
गतिशील छ मान्छे

जिताउँछ कर्मयोग
शक्ति दिन्छ आत्मविश्वास ।

२.
भोक बाँच्दै झोपडी

महल थप्छ महल
गुपचुप छ कमिसन ?

३.
वीणाहीन भो मृग

उर्लंदो छ महामारी
सास फेर्न देऊ मलाई !

४.
निजी सिर्जना सूत्र

कविता साइनो मिठो
रूप छोटो स्वाद नेपाली !

५.
चुनौती खेप्छ मान्छे

वरिपरि विघ्नै विघ्न
घरै लुक्छ अन्तरघात ?

६.
मनभरि कल्मष

तनभरि छ दुर्गन्ध
शिर खेलाउँछ सकुनि ?

७.
विवेक बेच्ने होड !

कसको छ ठुलो खुवाँ ?
जनता झुक्याउने झेल !

८.
राखौं मन नजिकै

भौतिक दूरी अवश्य
सुरक्षित हौँ स्वस्थ रहौं !

९.
यो पदप्रेमी मान्छे

राजनीतिक छहारी
भड्खालोमा देश—जनता !

१०.
खेलाडी यो सकुनि !

दम्भ–डाडु चलाउँछ
घुस–जुसमा रमाउँछ ?

११.
भन्डारे उनै भान्छे

काला मन सेता मान्छे
कत्रो मुख ? देशै अटायो !


छायादत्त न्यौपाने बगर


(छायादत्त न्यौपाने बहुविधाका लेखक हुन् । उनी मूलतः बालसाहित्य लेखन एवम् समालोचनामा केन्द्रित छन् । पछिल्ला समयमा उनी साइनो साहित्यको विकासका लागि निरन्तर कटिबद्ध भएर लागिरहेका छन् । यस लेखमा उनले साइनोको परिचयका साथै केही साइनो रचना प्रस्तुत गरेका छन् ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!