टिकटकका लागि भिडियो बनाउदा गोलि लागि मृत्यु


टिकटकका लागि भिडियो बनाउदा गोलि लागि मृत्यु

स्वात (पाकिस्तान) । सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एकजनाको मृत्यु भएको छ । आफैँलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलका स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउँदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।

“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरणानुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैँले आफैँलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने ।

घटना भएको थाहा पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ । मृत्यु भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको जनाइएको छ । रासस/एएनआई