अध्यक्ष ओलीको आह्वान : थापा र खड्काको पक्षमा मतदान गर्नुस्


अध्यक्ष ओलीको आह्वान : थापा र खड्काको पक्षमा मतदान गर्नुस्

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनका उम्मेद्‌वार एमाले नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पक्षमा मतदान आह्वान गरेका छन्। यस्तै, यही जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभाकै उपनिर्वाचनमा एमाले उम्मेद्‌वार चन्द्रबहादुर खड्कालाई मतदान गर्न आह्वान गरेका छन्।

गत फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको निर्वाचनको विशेष महत्व रहेकाे ओलीले उल्लेख गरेका छन्। ‘यसले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ। सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको बिरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ’, ओलीले बुधबार जारी गरेको आह्वानमा भनिएको छ। 

बागमती प्रदेशका उम्मेद्‌वार थापा नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता रहेकाे र उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने ‌ओलीले दाबी गरेका छन्। ‘तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीले भनेका छन्। 

 

यी दुवै नेता राष्ट्रिय सभामा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। तर, उनीहरू एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा सांसद पद गुमेको थियो। साेही स्थानमा हुने उपनिर्वाचनका लागि एमालेले उनीहरूलाई नै उम्मेद्‌वार बनाएको छ।