प्रेमको बगैंचा


लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार १०:२२ मा प्रकाशित     
प्रेमको बगैंचा

म अनि मेरो मायालुको एउटा सानो र चिटिक्क परेको प्रेमको बगैचा थियो । प्रेमको बगैंचामा हरेक क्षण मुस्कुराउदै नाच्थिन् मेरी मायालु । कहिले पाउजु बजाउदै म सामु आउथीन् त कहिले फूलले जस्तै सुवास छर्दै मोहित पारेर आफू तिर तान्थिन् ।

कहिले आफै भमरा भनेर म भित्रको रस चुस्न आउथी त कहिले मलाई फूल बनाएर आफू तिर आकर्षित गर्थी अनि भित्र भित्रै रमाउथी । राम्रै चल्दै थियो हाम्रो प्रेमको बगैंचा अनि फुल्दै थियो मायाको कोपिला ।

जिन्दगी दु:ख सुखको संगम हो भन्थे, साँच्चै हो रहेछ । हाम्रो राम्रो अनि सुन्दर प्रेमको बगैंचामा पनि दु:खले बामे सर्दै प्रवेश गर्न थाल्यो । प्रेम बगैंचामा भुकम्पको कम्पन नै गएको अनुभूति भयो । मेरो मायालु अचानक बगैचाबाट गायब भइन्, कता गइन् कता । म पागल सरि भए । मेरी मायालु बगैंचाबाट हराइन् भनेर रोए कराए । “मेरि मायालु अचानक गायब भइन् । कहाँ गइन्,गइन् । मेरो त्यो प्रेमको बगैँचाबाट,कत्ति खोजेँ कतै भेटिनँ,तपाईंले देख्नु भयो कतै मेरो मायालुलाइ” भनेर आमालाई सोधे । आमाको त्यो मलिनो अनुहार अनि शान्त बसिरहेको मुख देखेर म झन् डराए,आत्तिए र कराए । यता खोज्दा नि भेटिनन् उता खोज्दा नि भेटिनन् । त्यसपछि त उजाड भयो प्रेम बगैँचा, मेरी मायालु विना ।

एकाग्र भएर हेर्छु, मायालु त मुस्कुराउँदै गरेको देख्छु, क्यानाभासको त्यो सुन्दर चित्रमा । उनी त फेरि जीवन्त भैछिन् जस्तो लाग्छ, त्यो मूर्तिकारको सुन्दर मूर्तिमा उसको आकृति देखेर । मेरी मायालुलाई मनपर्ने स्व नारायण गोपालज्युको गित सुन्छु,उनी त त्यही संगितमा समेटिएकी देख्छु अनि सङ्गीतको त्यो प्रत्येक धुनमा रमाइरहेको पाउछु ।

झस्याङ्ग बिउझिए । सपनाबाट बिपनामा पुगे । अनि फेरि कत्ति बोलाए मैले मेरो प्रेमले मेरी मायालुलाई, घाटी सुक्यो तर अहँ सुनिन् मेरी मायालुले । कहिले काहीँ त लाग्थ्यो,उनी त फुल्दै रहेछिन् ती फूलको बगैंचा हरुमा,अनि बग्दै रहेछिन् ती झरनाको बहावहरुसँगै । अनि साच्चै, मेरो मुटुका प्रत्येक धड्कनहरूमा धड्की रहिछिन् मेरी मायालु । कहि कतै मै भित्र भएर पो नबोलेकी हुन् कि मसंग? धेरै बेर,म घोट्लिएर सोच्थे ।

जे होस मेरो प्रेमले, पाएको मेरी मायालु, कुनै दिन नियाल्दै बगैंचाका ती गुलाफका प्रत्येक पत्रहरुमा,खुब मुस्कुराउथिन् । मेरो प्रेमको यो कथामा लेखिएका प्रत्येक यी शव्दहरुसंग, मेरो प्रेमको साक्षी बनेर आज पनि सधैँ फुलिरहेकी छिन् जस्तै लाग्छ, मेरी मायालु, हाम्रो त्यो प्रेमिल बगैचामा । तर अभागी म, मेरो प्रेमलाई दु:ख दिइरहे र हिडाइरहे, प्रत्येक दिन मेरी मायालाई खोज्न,त्यही गुलाफको फूल टिपेर ।

गुलाफका फुल सकिए, तर उनी भेटिइनन् । धेरै पछि पो थाहा पाए, बगैंचाकी रानी, मेरि मायालु म बाट धेरै टाढा गएकी रैछिन् । उनको त सडक दुर्घटनामा परि भगवान्को घर तर्फको यात्रा धेरै पहिला नै तय भइसकेको रहेछ । मेरि मायालुलाइ हार्दिक श्रद्धाञ्जली दिदै, प्रेमिल बगैचाको अपुरो कहानी लेखिदिने मेरो कलम को मसि सकियो अनि हाम्रो प्रेमिल बगैचाको कहानी बिना सार्थकता यहि टुंगियो ।


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!