प्रधानसेनापतिद्वारा फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको उद्घाटन


प्रधानसेनापतिद्वारा फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको उद्घाटन

काठमाडौँ । महोत्तरीको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन तथा निरीक्षण भ्रमण गरेका छन् ।

सैनिक कल्याणकारी कोषको लगानीमा ‘बर्दिबास सैनिक शिविर’भित्र निर्माण भएको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको २५ शैय्याको रहेको जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सेनाको बहालवाला तथा अवकाशप्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसाथ निर्माण गरिएको उक्त फिल्ड अस्पतालबाट डेन्टल प्रोसिजर, ओपीडी सर्भिस, बेसिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेन्ट तथा इमर्जेन्सी सेवा, इन्डोर सर्भिस (१७ बेड) र फार्मेसी सेवाहरु सञ्चालन हुनेछ ।

त्यसैगरी, सैनिक आवासीय महाविद्यालयमा जनमैत्री शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेश नम्बर–२ का आठ जिल्लाहरुबाट दुई/दुईजनाको दरले दलित, जनजाति, विपन्नलगायत बालबालिकालाई पूर्ण छात्रवृत्तिसहित समावेश गरी कक्षा सञ्चालन हुने जनाइएको छ ।

नवनिर्मित फिल्ड अस्पतालमा बेडको उपलब्धताको आधारमा गैरसैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको सेनाले जनाएको छ ।