राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाइ


लेखक : लेखापढी      ३ जेष्ठ २०७८, सोमबार १६:५६ मा प्रकाशित     
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने जनाएको छ ।

कोभिड–१९ संक्रमणको जोखिम बढिरहेका बेला हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयंले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

निर्वाचन आयोगले मतदानस्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड-२०७८ लागु गरेको छ । आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले निर्वाचनको दिन मतदानस्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड–१९ संक्रमण नभएको पीसीआर रिपोर्ट ल्याउनुपर्ने अनिवार्य गरिएको बताए ।

यस्तै, मतदान केन्द्रमा तीनवटा बुथ राखिने भएको छ । यसअघि, दुईवटा बुथ मात्रै राखिन्थ्यो । कोभिड–१९ संक्रमित मतदाता पनि हुन सक्ने अनुमानका साथ तीनवटा बुथ राख्ने व्यवस्था मिलाइएको हो ।

मतभारको हिसाबले प्रदेशसभा सदस्यको बुथ र स्थानीय सरकार प्रमुख र उपप्रमुखको बुथको साथै कोभिड–१९ संक्रमित भएका मतदातालाई छुट्टै बुथको व्यवस्था गरिने उनले जानकारी दिए ।

“कोरोनाकै बीचमा गर्नुपर्ने भन्ने कुरामा यो कानुनी बाध्यात्मक व्यवस्था हो । राष्ट्रियसभा सदस्यको सन्दर्भमा रिक्त रहेको ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्नेछ भन्ने कानुनमा उल्लेख छ,” उनले भने, “त्यसैले यही जेठ ६ गते वाग्मती प्रदेशको अन्य समूहबाट र जेठ १७ गते लुम्बिनी प्रदेशको अन्य समूहबाट प्रतिनिधित्व गर्नका लागि एक/एकजनाको निर्वाचन हुँदै छ । आयोगले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अलि कडाइका साथ थप व्यवस्थित बनाएर निर्वाचन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पीपीई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने सहप्रवक्ता धमलाले बताए । मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदानकक्षमा रहेका सम्पूर्ण सामग्रीहरु निसंक्रमण गराउनेछन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!