कैलास अनुरागी (स्व. नेता प्रेमसिंह धामीद्वारा लिखित कथा)


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १०:०२ मा प्रकाशित     
कैलास अनुरागी (स्व. नेता प्रेमसिंह धामीद्वारा लिखित कथा)

प्रायः जसो सडकमा घुमिरहने केटो कैलास अनुरागी

६ फिट अग्लो देखिने धोक्रो पेन्ट र प्वाँख जस्तो कमिज लाउने त्यो कैलाश १९ वर्ष टेक्ने बित्तिकै कुनै सरकारी कार्यालयमा पियन पदमा भर्ना हुन्छ, भर्खर तराई झरेको पहाडी मुनालले हाकिमलाई प्रभाव पार्नसम्म पार्छ, त्यही नै साइकल चलाउन सिक्छ कैलास, त्यसपछि आजसम्म साइकलको प्रभाव उसको जीवनमा अमिट छ ।

दाजु तीन वर्षमा अक्षरराम्भ गरेको, तर दुःखीको पुर्पुरोमा पाउनु कहाँ लेखेको हुन्छ र ?

निम्न मध्यम वर्गीय परिवारको एक्लो छोरो, कुराकानी गर्दै ऊ भन्छ–दाजु तीन वर्षमा अक्षरराम्भ गरेको, तर दुखीको पुर्पुरोमा पाउनु कहाँ लेखेको हुन्छ र ? तपाईँ त धनी हुनुहुन्छ होला हगी ? दाजु ।

म पनि कहाँ धनी हुनु र भाइ । उही डयाङको मुला त हो नि ? म पनि भावनामा बगेर उत्तर फर्काउँछु ।

ऊ सरकारी कार्यालयमा टेक्न थालेपछि उसको सम्पर्कको धरातल अलि फराकिँदै जान्छ

पहाडको साँघुरो सम्पर्क घेराबाट यहाँ आइपुगेर ऊ सरकारी कार्यालयमा टेक्न थालेपछि उसको सम्पर्कको धरातल अलि फराकिँदै जान्छ, हुलाक, आ.वा. र प्रशासनिक कार्यालयहरू त उसको दिनचर्या भित्र पर्छन; ठेकदार, साहु, महाजन र व्यापारी र कर्मचारीसितको सम्पर्कले उसमा पुराना मान्यता शिथिल हुँदै जान्छन्; ऊ विलासितातिर लहसिन्छ, रक्सी, चुरोट र पान चाख्न पल्किन्छ, पानको बिँडा मुखमा च्यापी कालो जीनको पेन्ट लाएर पुरानो साइकलमा पियन बुक बोकेर जाँदा ऊ मूर्तिजस्तो देखिन्थ्यो ।

अरुको दृृष्टिमा ऊ एउटा कार्टुन देखिएपनि “चोखो कमाइ गरी खानु भनेर जान परेपछि ती हजुरी र पान, रक्सीदेखि टाढिन खोज्छ, उसको मनले विरोध गर्छ, पहाडी निर्भर पानी खाएको बालककालसित आजको जीवन तुलना गर्दा आफूमा एउटा तुच्छ असन्तुष्ट पलायनवादी रहर बाँचिरहेको पाउँछ ।

दुई जना मान्छे बोक्छ र ती मान्छेसित आफ्ना सुखदु:खका कुरा गर्छ । पियनको अंश आफूमा बाँच्न नदिन ऊ सकभर प्रयास गर्छ ।

केही दिनपछि ऊ राजमार्गमा भन्सारदेखि सहरसम्म रिक्सा तान्न थालेको देखियो । दुई जना मान्छे बोक्छ र ती मान्छेसित आफ्ना सुखदुखका कुरा गर्छ । पियनको अंश आफूमा बाँच्न नदिन ऊ सकभर प्रयास गर्छ । जेठको उग्र गर्मी होस्, अथवा माघको सिरेटो होस्, ऊ मान्छेहरू बोकिरहन्छ । पेटको लागि, चोखो कमाइको लागि मलाई पनि एकदिन उसको रिक्सामा जाने संजोग पर्छ । मसित ऊ आचार्य चतुरसेनको वैशालीकी नगरवधुको चर्चा गर्छ । त्यसपछि आफ्नो कविता प्रकाशित भएको कुनै साप्ताहिकको टुक्रा देखाउँछ । रिक्सा तानिरहन्छ । पसिना पुछिरहन्छ । रिक्सा अटछ, ऊ आफ्नो भाडा बाहेक एक पैसा पनि बढी लिन मञ्जुर हुँदैन । “दाजु ! स्वतन्त्र भएर बाँच्न मैले रिक्सा चलाउनु परेको छ । यहाँ जन्मिनुभन्दा बाँच्न गाह्रो छ । आमाबाबुको रहरले एउटा बालक जन्मिन्छ, बालक हैन, यन्त्र जन्मिन्छ । आफू भएर बाँच्न सक्दैन् । यसर्थ मैले जागीर छोडेर रिक्सा तान्न थालेको, यसमा पसिना तौलेर पैसा लिन्छ । ल त है दाजु ! फेरिफेरि” भन्दै ऊ मान्छे खोज्छ, हिँड्छ ।

ऊ आफूलाई युगको प्रतिनिधि रचनाकार सम्झिन्छ । दुई चार वर्षभित्र राम्रो कमाइ गरेर घरजम गरि बस्ने योजना बनाइरहेछ ।

केही दिन पछि कैलास म बसेकै जिल्लामा (त्यतिखेर म पहाडको कुनै जिल्लामा सरकारी कर्मचारी थिएँ ।) कुनै व्यापरिक संस्थाको वारिस भएर आइपुग्छ । ऊ कुकुरे बैँसको ढोकामा प्रवेश गर्दैछ । जुघाँ रेखा भर्खर लागेका छन्, ऊ रुमानी कुरामा भुल्न थालेको छ, उसमा उपन्यासमा बहस गर्ने बानी परिरहेको छ । दुईचार कथा, कविता लेखेर सुनाउँछ । ऊ आफूलाई युगको प्रतिनिधि रचनाकार सम्झिन्छ । दुई चार वर्षभित्र राम्रो कमाइ गरेर घरजम गरि बस्ने योजना बनाइरहेछ । आफूले बिताएको जीवनको छायासम्म वर्तमान जीवनमा नपरोस् भन्नका लागि ऊ निकै सावधान छ । पियन कैलास र रिक्सा चालक कैलासलाई मुर्ख ठान्छ । अब ऊ कैलास अनुरागी भइसकेको छ । ऊ अर्नाताले फ्रान्स, चेकोस्लाभाकिया, मेक्सिम गोर्कीका कुरा गर्न थाक्दैन । माधव घिमिरे र लेखनाथका कुरा पनि बिचबिचमा गर्छ । रक्सी चुरोट र पान निकै खान थालेको छ । दामी लुगा र आधुनिक चालढालमा उसको रहनसहन मध्यमवर्गीय हुन पुगेको छ ।

विगतका जीवनका छिर्काहरू ढाकछोप गर्न ऊ कथा भन्छ अनेक तर उसका ती क्रियाकलापबाट उसले बिताएको जीवन भोगेको कटुता र यथार्थता चिहाइरहन्छ ।

आफूलाई अविवाहित भन्ने कैलास अनुरागी कुरा गर्दा थाक्दैन । स्टुडियोबाट दुई, तीन तरुनीका तस्वीर किनेर खल्तीमा राखेको छ । तस्वीरको पछाडिपट्टि आफ्नै हस्ताक्षरमा आफैलाई सम्बोधन गरेका विभिन्न हरफहरू छन् । घरबेटी तरुनीको पुस्तकमा पत्र लेखेर राखेको कुरा कति पटक गरेको छ । सहरभरिका तरुनीका नाम त कण्ठ गरेको छ उसले । विगतका जीवनका छिर्काहरू ढाकछोप गर्न ऊ कथा भन्छ अनेक तर उसका ती क्रियाकलापबाट उसले बिताएको जीवन भोगेको कटुता र यथार्थता चिहाइरहन्छ । विगतलाई यति चाँडै आफ्नो जीवनबाट पन्छाउन सकिने भए कठै बिचरा कैलास अनुरागीप्रति दया लाग्छ ।

कुरा गराईमा नौलो रङ्ग भर्न खोज्ने त्यो कैलास अनुरागी केही दिनमै त्यो व्यापारी संस्था र त्यो ठाउँ एकैचोटि छाड्छ ।

आजभोलि ऊ एउटा साप्ताहिकको सम्वाददाता छ । खबर खोजबटुल गर्ने उसको आफ्नै व्यहोरा छ । सम्पादकले उसको खबरमा हेरफेर गरे ऊ निकै रिसाउँछ । देशमा प्रगति पत्रकारिताबाट मात्र आउँछ भन्ने उसको दृढ विश्वास भइसकेको छ । ऊ सकेसम्म निष्पक्ष हुन खोज्छ, जो जसको सम्पादकले मरमोहालिजाबाट समाचारमा हेरफेर भनी ऊ यहाँबाट पनि छोड्ने योजना बनाउँछ ।

दौंतरीहरू उसलाई त्यति नै खिसिट्युरी गर्छन् जति ऊ आफूलाई झिल्ल देशको मणि ठान्दछ ।

यो अनन्त पथमा नवसिर्जनाका लहर ल्याउन चाहन्छ । परम्पराभन्दा प्रयोगमा विश्वास राख्दछ । परम्परा र प्रयोगबारे बहस गर्छ । यसका उसका आफ्नै परिभाषा छन् । दौंतरीहरू उसलाई त्यति नै खिसिट्युरी गर्छन् जति ऊ आफूलाई झिल्ल देशको मणि ठान्दछ । सहरका आँखामा ऊ अस्तित्वहीन कैलास अनुरागी आफ्नै दृष्टिमा ऊ मणि हो भने म उसलाई युगको विकार मान्दछु । त्याग र तपस्या बिना नै कसैलाई अनुपम उपलब्धि हुँदा ऊ आफै त्यसको कदर जान्दैन भने अरुले खिसी मात्र गर्दछन् । यसर्थ कुनै कुराको उपलब्धि नाप्ने कसी उसको नैतिक धरातल हो, पृष्टभूमि हो । अब ऊ विभिन्न साहित्यिक सम्मेलनमा भाग लिन पुगेको देखिन्छ । कति कविता पाठ गरिरहेको देखिन्छ । कथा, कवितामा नबुझ्ने शब्द राखेर ऊ गजक्क बन्छ । “दाजु ! मेरो रचना बुझ्ने गिदी नै छैन ….।” ऊ गुनासो गरिरहन्छ ।

हिजोआज ऊ मसित पनि बोल्दैन । भेट हुनासाथ नदेखेको झैं गर्छ । पुराना साथी  छोड्ने बानी उसको दोहरिँदै छ ।

यसरी कैलास अनुरागाी हिजोआज नयाँ साइकलमा घुम्छ ।


प्रेमसिंह धामी


(प्रेमसिंह धामी कुनै समय नेपालको राजनीतिक क्षेत्रमा अत्यन्त चर्चित हुनुहुन्थ्यो । वि.स. २०५१ मा दार्चुला जिल्लाबाट सांसद हुनुभएका उहाँ मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा नेपाल सरकारको राज्यमन्त्री समेत हुनुभएको थियो । कालापानीमा भारतीय अतिक्रमण विरुद्ध आवाज उठाउने, टनकपुरको बारेमा संसदमा आवाज उठाउने उहाँको २०५४ सालमा नुवाकोटमा जीप दुर्घटनामा असामयिक निधन भएको थियो । प्रेमसिंह धामीको साहित्यिक रचनाको संगालो “प्रेमसिंह धामीका साहित्यिक रचनाहरू” पुष्करराज भट्टको सम्पादन एवम् प्रकाशनमा प्रकाशित भएको छ ।

यो कथा वि.स. २०३५ सालमा महेन्द्रनगरमा लेखिएको हो । पछि यसलाई उत्साह पत्रिकाको वर्ष २९, श्रावण अंक, २०४३ मा प्रकाशित गरिएको थियो । जसको सम्पादकमा पारिजात, खगेन्द्र संग्रौला, आनन्ददेव भट्ट, मोहन दुवाल, रमेश विकल हुनुहुन्थ्यो । कार्यकारी सम्पादकमा इस्माली, सहकार्यकारी सम्पादकमा देविका तिमिल्सिना र शार्दुल भट्टराई हुनुहुन्छ । यस कथामा धामीले एक निम्नवर्गीय पात्रको जीवनका उतारचढाव, उसका महत्वाकांक्षा, संघर्ष र सामाजिक सम्बन्धलाई प्रस्तुत गरेका छन् । )

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares