छेन जियाङ तालको यात्रा


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १४:१९ मा प्रकाशित     
छेन जियाङ तालको यात्रा

“भोलि १७ सेप्टेम्बर, शनिवार बिहान ब्रेक फास्ट खाएपछि हामी अति सुन्दर र रमणीय ताल हेर्न जान्छौँ । हाम्रो साँझको बास पनि उतै हुन्छ । लुगा आफूखुसी लगाउँदा हुन्छ तर चिसो ठाउँ भएको हुनाले केही बाक्ला लुगा पनि लैजानुहोला ।”

साँझको खानापछि उसीले जानकारी गराए । ‘भेरी गुद लेक ।’ उनले तालको निकै प्रशंसा गरे ।

रिभर मलाई मन पर्ने मान्छे हुन् । हुन त सबै राम्रा छन् तर अरूको भन्दा रिभरको व्यवहार मलाई मन पर्छ ।

बिहान हिँड्ने बेलामा उसीको ठाउँमा रिभर देखिए । “स्वागत छ तपाईँहरूलाई ।” उनको मीठो बोली हावामा मडारियो ।

रिभर मलाई मन पर्ने मान्छे हुन् । हुन त सबै राम्रा छन् तर अरूको भन्दा रिभरको व्यवहार मलाई मन पर्छ । अरूको भन्दा उनको भाषा सरल हुन्छ । म सजिलै बुझ्छु । मलाई कन्फ्यूज भएको कुरा उनी लेखेर बताउँछन् । यसले गर्दा उनी भएको ठाउँमा मलाई जिज्ञासा मेटाउन सजिलो हुन्छ ।

रिभरका साथमा दोस्रो श्रेणीका सुपरभाइजर डङ चेङकी र तीनोटी युवतीहरू पनि देखिए । युवतीहरूको अनुहार राम्रो भए पनि शरीरचाहिँ मोटो र भद्दा थियो । एउटी अविवाहिता र दुईटी विवाहिता रहेछन्—तीन वर्षेे छोराछोरीका आमा ।

युवतीहरू अगिल्लो सिटमा बस्न खोजेका थिए, हामीले दिएनौँ । अगाडि बस्दा दृश्यावलोकन सहज हुने भएकाले सकभर म अगिल्लै सिटमा बस्छु । आज पनि पहिले नै गाडी चढेँ र ड्राइभर पछाडिको सिटमा बसेँ । साथमा नरेन्द्र दाहाल बसे । हाम्रो साइटमा हरिश र बाबुराम बसे । परशुराम र ज्ञानप्रसाद पहिले नै पछाडिको सिटमा बसिसकेका थिए ।

गुड्न लागेको गाडीमा बस्दै रिभरले सोधे— “कस्तो सपना देख्नुभयो आज ?”

उनको हाँसोठट्टा गर्ने बानी छ । उनी यस्तै भनाइबाट आफ्ना कुरा अगाडि बढाउँछन् ।
“धेरै राम्रो ।” हामी धेरैले एउटै स्वर निकाल्यौँ ।

“सपनामा मिस सुलाई सम्झनुभयो कि ?” उनको भनाइले हामी सबै हाँस्यौँ । युवतीहरू पनि हाँसे । एकैछिन साहै्र रमाइलो भयो । आज सु थिइनन् । सायद सुको स्थान तिनै महिलाहरूले लिएका थिए कि !

“आज हामी जहाँ जादैँ छौँ, त्यो ठाउँ साह्रै राम्रो छ, सधैँ सम्झन लायक । बाटोमा पर्ने अरू पनि रमाइला ठाउँ देखाउँछु । हुन्छ ?”  उनले भने ।

“हुन्छ ।” हाम्रो आवाज प्राइमरी तहका विद्यार्थीहरूको जस्तै भयो ।

माले पुलिस एकेडेमीको गेटबाट गाडी बाहिर निकालेपछि सिधैँ पूर्वतिर हुइँक्याए ।

रौँबराबरको फरकमा अरू गाडी उछिन्छन् । हेर्दै सिरिङ्ग हुन्छ मन । उनी ढुक्क छन् । हामी आत्तिएर मात्रै के गर्नु !

अस्ति स्टोन फरेस्ट जाँदा पनि यै बाटो हिँडेका थियौँ । आज पनि उही बाटो ? हामीलाई अचम्म लाग्नु स्वभाविकै थियो तर होइन रहेछ । केही पर पुगेपछि हाम्रो बाटो बाँडियो । स्टोन फरेस्ट जाने उत्तर पूर्वतिरको बाटो छोडेर हामी पूर्व– दक्षिणतिर लाग्यौँ ।

बाटो उस्तै छ । तीनतीन लेनको । चालक मा ११०–११५ को गतिमा गाडी गुडाइरहेका छन् । उनी हाम्रा कुरा बुझ्दैनन् । आफ्नै तालमा छन् । रौँबराबरको फरकमा अरू गाडी उछिन्छन् । हेर्दै सिरिङ्ग हुन्छ मन । उनी ढुक्क छन् । हामी आत्तिएर मात्रै के गर्नु !
आज अर्को अनौठो दृश्य देखियो । बेमौसमी तरकारी उत्पादन गर्ने इलाका रहेछ ।

बाटाको दायाँबायाँ परपरसम्म प्लास्टिकका छाप्रा देखिन थाले— ठूलाठूला मान्द्रा घोप्टो पारेजस्ता । जताततै सेताम्मे छ । कतै साग देखिँदै छ त कतै काउली, बन्दा र अन्य तरकारीहरू । जति पर गयो, उति राम्रो तरकारी खेती । कहाँबाट आउँछ होला यो सहरमा तरकारी भन्ने जिज्ञासा पनि पूरा भयो ।

गाडी कुदेको कुदेकै छ । तरकारी बारी सकिएको छैन । धानखेत र मकैबारी पनि देखिन थाल्यो । होचा बुटा भईकन पनि मकैका घोगा राम्रा थिए । हरिया मकै, पोलेर खाउँखाउँ लाग्ने खालका । मकै देख्दा फेरि घरको याद आयो । पोलेका मकै ज्यादै मन पर्छ मलाई । मकै र मही सम्झँदा पनि मुखमा पानी आउँछ । कस्तो मजाले खाइन्थ्यो गाउँमा छँदा पोलेका मकै र मही । ती सबै सम्झना बिरानाजस्ता लाग्न थाले । यो सहरिया जीवनले गाउँको मजासँग टाढा बनाउँदै लग्यो ।

किसानहरू कतै धान काटिरहेका छन् त कतै परालका मुठा सुकाइएका छन् । कस्तो मनमोहक दृश्य ।

लपक्कै धान खेती देखियो । धानमा कतै बाला लाग्दै छ, कतै पाक्न लागेको र कतै पाकिसकेको छ । किसानहरू कतै धान काटिरहेका छन् त कतै परालका मुठा सुकाइएका छन् । कस्तो मनमोहक दृश्य । माथि कता बनेपाजस्तो भनेको थिएँ नि । हो यो ठाउँ पनि त्यस्तैत्यस्तै देखिँदै छ तर बनेपा भन्दा धेरै ठूलो छ यहाँको फाँट ।

अर्को नयाँ बाली देखियो— ‘के हो यो ?’ सबैका मनमा जिज्ञासा पलायो ।

“केको साग हुनु। सागजस्तै छैन ।” बाबुरामले कुरा बटारे ।

“साग हो साग, चाइनिज हरियो साग ।’ परशुरामले भने ।

“केको साग हुनु। सागजस्तै छैन ।” बाबुरामले कुरा बटारे ।

“साग नभए के हो त ?” एउटै सिटमा बसेका दुई जना कुस्ती खेल्लान्जस्तो गरे ।

यी दुई भाइका बीचमा मौखिक कुस्ती चलिरहन्छ घरीघरी । एकछिन झगडा गर्छन् अनि तुरुन्तै मिल्छन् र मिठामिठा कुरा गर्छन् । उनीहरू नजिकै भए भने बाटोमा रमाइलो हुन्छ ।

“हातचाहिँ नछोड्नु है ।’ श्रवणले जिस्क्याए । उनीहरूबीचमा गलफत्ती हुँदै थियो, नरेन्द्र दाहालले नयाँ तर्क अगि सारे— “सुर्ती होला सुर्ती । चीन त सुर्तीका लागि पनि फेमस छ नि ।”

“देख्यौ ?” बाबुरामको बोली टाठो भयो । परशुराम चूप लागे ।

एकछिनपछि उक्त वस्तु साग होइन, सुर्ती नै हो भन्ने कुरा पक्का भयो ।

जताततै सुर्ती नै सुर्ती देखिन थाल्यो । पूराका पूरा खेत सुर्तीमय । कतै फेददेखि टुप्पासम्म पात छन् त कतै डाँठ र माथि फूल मात्रै । यस इलाकामा व्यवसायिक रूपमै सुर्ती खेती हुँदोरहेछ भन्ने कुरा पक्का भयो ।

एकचोटि अफिमले चीनलाई धरासायी बनाएको थियो । अफिमको लतले यहाँको जनजीवन प्रभावित भएको थियो । अफिम विरुद्धमा ठूलो सङ्घर्ष भयो । तर अफिमचाहिँ अहिलेसम्म कतै देखिएको छैन, सुर्ती त हुनसम्म रहेछ । राम्रै आम्दानी हुन्छ होला र त यति धेरै खेती गर्दा हुन् ।

एउटा सुन्दर सहरछेउमा पुगेपछि गाडी रोकियो ।

“यो सहरको नाउँ युसी सिटी (Yuxi City) हो । सानो भइकन पनि राम्रो सिटी छ ।

“हामी यहाँ केही समय रोकिन्छौँ । यहाँ केही हेर्न लायक ठाउँ छन्, त्यसैले रोकिएका हौँ ।” रिभर अगाडि आए र माइकमा बोले— “यो सहरको नाउँ युसी सिटी (Yuxi City) हो । सानो भइकन पनि राम्रो सिटी छ । यहाँ नि एइर स्क्वाएर (Nie Er Music Square) पनि छ । संगीतकार नि एइर (Nie Er) को नामबाट यो सहर र स्क्वाएरको नाम रहेको हो । उनको जन्म सन १९१२ मा यसै सहरमा भएको थियो र उनी १९३५ मा जापानमा मरे । कमै उमेरमा मरेका भएपनि उनी राम्रा सङ्गीतकार मानिन्छन् । उनैको नाममा रहेको सानो म्युजियम पनि हेर्छाैँ । नजिकै पानीको झरना पनि छ । त्यो पनि हेर्छौँ । हुन्न ?”

हामी सबैले सहमति जनायौँ ।

यो सबै देख्दा चीनमा कलाकार तथा साहित्यहकारहरूको कस्तो सम्मान र कदर हुँदोरहेछ भन्ने कुराको पनि अनुभव भयो ।

राम्रो स्क्वाएर रहेछ यो, घुम्यौँ र फोटा पनि खिच्यौँ । नि एइर म्यूजियम पनि हेर्यौं । नि एइरको सिङ्गमरमरको राम्रो शालिक पनि रहेछ, कुरै गर्लाजस्तो ! उनले प्रयोग गरेका सबै वस्तु त्यहाँ सुरक्षित रूपमा राखिएको रहेछ । यो सबै देख्दा चीनमा कलाकार तथा साहित्यहकारहरूको कस्तो सम्मान र कदर हुँदोरहेछ भन्ने कुराको पनि अनुभव भयो ।
त्यसपछि हामी नजिकै रहेको पानीको झरनामा पुग्यौँ । मानवनिर्मित उक्त झरना साह्रै सुन्दर रहेछ तर दुःखको कुरा, पानी नभएको बेलामा परिएछ । “वि आर अनलक्की” रिभरले दुःखी हुँदै भने । यहाँको बगैँचा र सजावट पनि प्रशंसा गर्न लायक रहेछ ।

अर्को अचम्म देखियो—सार्वजनिक सडकका किनारमा लटरम्म हलुवावेद फलेका, पाकेका र कोही त ज्यादा पाकेर भुइँमा समेत खसेका । हेर्दै खाउँखाउँ लाग्ने तर कसैले छुँदासम्म पनि रहेनछन् । अलिपर एक झुन्ड पुलिस थिए । उनीहरू पनि खाँदा रहेनछन् । यसरी पाकेका फल एक–दुइटा त चाख्नु नि ।

‘यस्तो कसरी भयो ? यो त सोध्नै पर्छ ।’ हामीले सल्लाह गर्यौं र सुन्दर युवती ज्याकी (Jacky) लाई सोध्यौँ ।

“यो हेर्नका लागि मात्रै हो, टिप्न वा खानका लागि होइन ।” उनले भनिन् ।

“ Beauty is to see not to touch कसो ?” हामीले जिस्क्यायौँ । ‘एस एस’ भन्दै उनीहरू हाँसे ।

बस चढेर हिँड्नै लागेका थियौँ गन्तीमा एक जना पुगेन । “हु इज अपसेन्ट ?” रिभर कराए ।

अनुसन्धान सुरु भयो । छानबिनपछि बाबुराम खतिवडा हराएको ठहर भयो ।

खोज्दै थियौँ, आइपुगे । शौचालय गएका रहेछन् ।

“नसोधी कतै नजाऊ है !” रिभरले सुझाव दिए ।

अर्को अनौठो दृश्य देखियो— बगैँचाका बिचमा पिपलको ठूलो रुख ।

“पिपल, पिपल !” हामी धेरैको आवाज हावामा मडारियो र नजिकै रहेको पिपलको पातमा गएर ठोकियो । अहिलेसम्म नदेखिएको पिपल देख्दा सबैको मन फुरुङ्ग भयो ।

“आज शनिवार पिपललाई ढोग्नुपर्छ ।” केही साथीहरूले माग राखे । गाडी रोकियो, सबै उत्रियौँ । कोही पिपलको पूजा गर्न थाले । कोही नजिकै बसेर फोटा खिच्न व्यस्त भयौँ ।

घुम्दाघुम्दै अबेर भइसकेको थियो । “अब लन्च खानु पर्छ ।” रिभरले भने ।

यहाँ पनि पोर्कले पिछा छोडेन । पोर्कबाहेकको खानेकुरामा पनि साथीहरूले जुठा चम्चा चोबेर साम्मेगाम्मे पारे ।

जङ्सी (Junxi) बजारमा रहेको Yunnan Renowned Resturent मा खाना खायौँ । यहाँ पनि पोर्कले पिछा छोडेन । पोर्कबाहेकको खानेकुरामा पनि साथीहरूले जुठा चम्चा चोबेर साम्मेगाम्मे पारे । घिन मानीमानी अलिअलि खाएर बाहिरियौँ ।

प्रायः दृश्य अनौठै छन्— स्थानीय किसानहरूले भर्खर झाँटेको धान सडक किनारमा सुकाइरहेका रहेछन् । मलाई भक्तपुरको कुनै गाउँमा घुमेजस्तो आभास भयो । नरेन्द्र दाहालले पनि हौसीहौसी फोटा खिचे । सडकमा धान सुकाएको उनलाई पनि रमाइलो लागेछ ।

“चाइनामा पनि बाटामा धान सुकाउँदा रहेछन् । कस्तो अचम्म !” दुर्गा भण्डारीले मुखै फोरे ।

जङ्सीबाट अगाडि बढेपछि नयाँ ठाउँ देखियो । हेर्दा काठमाडौं उपत्यका जस्तै थियो तर काठमाडौँजति ठूलो भने होइन । काठमाडौैंमा जस्ता बाक्ला घर पनि देखिएनन् । खेतीयोग्य उपत्यका रहेछ । खेतका गराहरूमा अनेक प्रकारका फसल थिए । सिंचाइका लागि पक्की नहर पनि बनाएका रहेछन् । बाक्लै त होइन, पातलापातला पक्की घरहरूले उपत्यकाको शोभा बढाइरहेका थिए ।


हरिप्रसाद भण्डारी
गुल्मी


(हरिप्रसाद भण्डारीको जन्म गुल्मी जिल्लामा भएको हो । हाल उहाँ साझा प्रकाशनमा सञ्चालक सदस्य हुनुहुन्छ । भण्डारीले देशविदेशका यात्राका क्रममा देखेका भोगेका अनुभूतिलाई सजीव किसिमले वर्णन गर्नुहुन्छ । मूलतः कथाकार एवम् बालसाहित्य लेखकको रुपमा परिचित भण्डारीको लेखनको फरक परिचय यस नियात्रा लेखमा देख्नु पाइन्छ । यो नियात्रा उहाँको साझा प्रकाशनबाट प्रकाशित चिन भ्रमणसँग सम्बन्धित कृति कुनमिनको सेरोफेरोबाट साभार गरिएको हो ।) 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!