रेडियोमा पहिलो पटक रचना वाचन हुँदाको खुसी (संस्मरण)


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १५:२० मा प्रकाशित     
रेडियोमा पहिलो पटक रचना वाचन हुँदाको खुसी (संस्मरण)

बिहानै ६ बजे बाले रेडियो खोल्नुहुन्थ्यो । हामी ब्युझिन्थ्यौँ । ॐ जय जगदिश हरे…..भजन सुनेर । एक किसिमको उर्जा बोकेर उदाउँथ्यो बिहानी । बिहानीको त्यो पारिलो घाम ताप्दै म आँगनमा खेल्थँ । बाले रेडियो ल्याएर पिँढीको थामको किलोमा झुन्डिएर आफू चहिँ चिया खान पसलतिर जानुहुन्थ्यो । त्यो बाको दैनिकी नै थियो । सेनाको जागिरबाट अवकाश भएपछि मन भुलाउने माध्यम यही थियो होला सायद बाको ।

२०४२ सालमा उहाँको अवसान हुदाँ बाटो छिचल्न नसक्ने गरेर पछि लागेका मलामीहरू देख्दा अचेल सम्झन्छु, उहाँ सबैको मनमा बस्नुभएको रहेछ । आखिर मान्छेले कमाउने भनेकै मलामी त हो । अरू त सबै छोडेर जाने न हो ।

कान्छो मुखिया भनेपछि साराले चिन्थे उहाँलाई । उहाँलाई भेट्न टाढा टाढादेखिका मान्छेहरू आउँथे । कारण थियो–उहाँ फुकफाकको काम गरिदिनुहुन्थ्यो निशुल्कः । पिनास, गानागोला, सुकेनास, रून्चे लागेको, पानी मन्तर्ने, अनेकौं समस्या लिएर मान्छे आउँथे घरमा । एक किसिमको विश्वास थियो बाप्रति उनीहरूको । अचेल लाग्छ अनेकौं जडिबुटी र घरेलु उपचारबाट रोग निको पारिदिने बाले त अहिलेका डाक्टरले गर्ने काम पो गर्नुहुँदो रहेछ । सामाजसेवी, उदार मनको हुनुहुन्थ्यो बा । २०४२ सालमा उहाँको अवसान हुदाँ बाटो छिचल्न नसक्ने गरेर पछि लागेका मलामीहरू देख्दा अचेल सम्झन्छु, उहाँ सबैको मनमा बस्नुभएको रहेछ । आखिर मान्छेले कमाउने भनेकै मलामी त हो । अरू त सबै छोडेर जाने न हो ।

म आठ नौ वर्षको हुदाँ टारखेतमा काम गर्ने आउने खेतलाहरू भन्थे “बा ! रेडियो सुनौँन ।” बाले रेडियो लगेर खेतको डिलमा राखिदिनु हुन्थ्यो । खेतलाहरू रमाउदै गीत सुन्थेँ ।

संस्मरण लेख्नु भनेको बितेका कुराको पुनरावृत्ति गर्नु हो । म तिनै घटना, दृश्य सम्झेर कहिले भावुक हुँदै, कहिले हाँस्दै, कहिले रूँदै त कहिले रोमाञ्चित हुँदैछु । मलाई विगतका अनुभूतिको सिरेटोले बेस्सरी तरंगित बनाइरहेछ यतिखेर ।

नेशनल पानासोनी कम्पनीको दुई ओटा ब्याट्रीले चल्ने जापनिज रेडियो थियो । पल्ला गाउँको लाहुरेले धानसँग साटेको भन्नुहुन्थ्यो बाले । हाम्रो घरमा मात्र थियो रेडियोे । त्यतिखेर गाउँमा अरूको घरमा थिएन । यो चालीसको दशकको कुरा हो । म आठ नौ वर्षको हुदाँ टारखेतमा काम गर्ने आउने खेतलाहरू भन्थे “बा ! रेडियो सुनौँन ।”
बाले रेडियो लगेर खेतको डिलमा राखिदिनु हुन्थ्यो । खेतलाहरू रमाउदै गीत सुन्थेँ । त्यतिखेर बज्थे यी गीतहरू रेडियोबाट :
उकालीमा पनि हजुर मोटर जाँदो रैछ
इाइभर दाइलाई शासना माया सलल जाऊँ हिड रैलैमा ।
                                               ……

हरियो डाँडामाथि हलो जोत्ने साथी
ह ह माले ह ह ह ह माले ह ह ……
                                            ……

जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ
त्यो देश मेरो हो….त्यो देश मेरो हो ।
                                                ……

ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो…..।
कालीपारे दाइ कति राम्रो…..।
घुम्तीमा नआऊ है….।
यति चोखो यति मिठो माया दिउँला तिमीलाई…. 
Open Photo

यी कर्णप्रिय गीत संगीत सुन्दै हुर्केकी म । सूचना र मनोरञ्जनको एकमात्र साधन थियो रेडियो नेपाल त्यतिखेर । योे पनि सबैको पहुँचमा कहाँ थियो र फेरि ?

बा बितेपछि त्यो रेडियो हजुरमुमा र म सुत्ने कोठामा सरेको थियो । मेरो किताबहरू राख्ने तीन खन्नको भित्ते दराज थियो, त्यहाँ राखेकी थिएँ मैले रेडियो पनि । बेलुका पाँच बजे स्कुल छुटेर घर फर्केपछि रेडियो सुन्दै गृहकार्य गर्थेँ म ।

“आओ मेरा प्यारा भाइबहिनी हो । रेडियो नजिक आओ ।” भन्दै बेलुका पाँच बजे रेडियो नेपालबाट बाल कार्यक्रम शुरू गर्नुहुन्थ्यो बासुदेव मुनाल दाइले । त्यहाँ बज्ने कविताहरू सुनेर मलाई पनि कविता लेख्ने रहर जागेर आयो । तर लेख्ने कसरी ? प्रयास गर्दै गएँ । एक दिन एउटा कविता लेखेर हजुरआमालाई सुनाएँ र भनेँ “अब म यो कविता रेडियोमा पठाउँछु ।” हुलाक कार्यलयमा गएर खाम र टिकटको लागि एक रूपियाँ खर्च गरेँ र खामको बाहिर ठेगाना लेखेँ
बाल कार्यक्रम
रेडियो नेपाल
सिंहदरबार, काठमाडौं
नेपाल ।

मेरो कविता आउँछ कि आउँदैन भनेर प्रतीक्षा गरिरहेँ । यो २०४४ सालको कुरा हो । पत्र पठाएको एक महिनापछि रेडियोमा मेरो कविता आयो । तेरो कविता खुब आउला भनेर खिस्साउनेहरूलाई सुनाउनु थियो रेडियोबाट मेरो कविता बजेको ।
श्रीखण्डपुर माध्यमिक विद्यालय, श्रीखण्डपुरबाट कक्षा सातकी छात्रा तारा के.सी. ले पठाउनु भएको कविता…..

मैले बाल कार्यक्रम, साहित्य संसार कार्यक्रम, शाही नेपाली सैनिक कार्यक्रम, प्रहरी कार्यक्रम, महिला कार्यक्रम, युवा कार्यक्रम र रेडियो नाटकमा समेत मैले कथा, कविता र नाटक लेखेर पठाइरहेँ । रेडियोबाट प्रसारण भइरहे मेरा कथा कविताहरू ।

बासुदेव मुनाल दाईले मेरो कविता वाचन गर्दैै हनुहुन्थ्यो । म भने खुशीले उफ्रिँदै आमा, हजुरआमालाई बोलाउन थालेँ । उहाँहरू आउँदा मेरो कविता नै सक्किसकेको थियो । त्यो दिन सबैभन्दा खुसीको दिन थियो मेरा लागि । त्यसपछिका दिनहरूमा मैले बाल कार्यक्रम, साहित्य संसार कार्यक्रम, शाही नेपाली सैनिक कार्यक्रम, प्रहरी कार्यक्रम, महिला कार्यक्रम, युवा कार्यक्रम र रेडियो नाटकमा समेत मैले कथा, कविता र नाटक लेखेर पठाइरहेँ । रेडियोबाट प्रसारण भइरहे मेरा कथा कविताहरू । सँधै पैसा हुँदैनथ्यो हुलाक टिकट र खाम किनेर रेडियोमा चिठी पठाउन् । ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ भनेझैं । हाम्रो छिमेकी दाइ हुनुहुन्थ्यो सानोबाबु थापा । उहाँ रेडियोेमा कार्यक्रम चलाउनु हुन्थ्यो, प्रहरी कार्यक्रम । उहाँ हप्ताको एक पटक घर आउनुहुन्थ्यो । म उहाँकै हातमा पठाउँथे कार्यक्रममा चिठीहरू । अब महिनौं कुर्नु पर्दैनथ्यो हप्ताहप्ता पनि आउन थाले कविताहरू । मैले रेडियो सुन्न र चिठी पठाउन कहिले छोडिन् । रेडियोमा ब्याट्री सकिएर बजेन् भनेपनि घाममा सुकाएर हुन्छ कि प्रकाश दाईको पसलबाट बाँकी ल्याएर हुन्छ कि म रेडियो सुनेकै हुन्थेँ । मेरो साथी बनेको थियो रेडियो । काम गर्दा, पढ्दा मेरो साथमै हुन्थ्यो ।

सँधै पैसा हुँदैनथ्यो हुलाक टिकट र खाम किनेर रेडियोमा चिठी पठाउन् । ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ भनेझैं । हाम्रो छिमेकी दाइ हुनुहुन्थ्यो सानोबाबु थापा । उहाँ रेडियोेमा कार्यक्रम चलाउनु हुन्थ्यो, प्रहरी कार्यक्रम ।

Open Photoहरेक शनिवार रेडियोमा एक्सन लहर कार्यक्रम अन्तर्गत पत्रमित्रता स्तम्भ आउँथ्यो । त्यो स्तम्भमा मैले पनि नाम ठेगाना पठाएकी थिएँ । कार्यक्रम संचालिका रूपा बिमल दिदीले मेरो नाम ठेगाना पढेर प्रसारण गरिदिएपछि मलाई नेपालका विभिन्न ठाउँबाट थुप्रै पत्रहरू आए । मलाई त थाहा पनि थिएन, पत्रमित्रता भनेको चिठीबाट साथी बनाउने कुरा हो भनेर । एकदिन हुलाकी काकाले हजार भन्दा बढी चिठीको पोको घरमा ल्याएर दिएपछि भने मैले नराम्रोसित गाली खाएँ ।

हजुरआमाले बारम्बार भन्नुहुन्थ्यो, “हाम्रो इज्जत जाने काम कहिल्यै नगर्नु ।” आज पनि हरेक पाइलामा म हजुरआमाका यी वाक्यहरू सम्झिरहन्छु ।

“कस्ले कहाँबाट यति धेरै चिठी पठाउँछ भनेर सबैको जिज्ञासा थियो ममाथि । चोक-पसलतिर पनि मेरो कुरा हुन थाल्यो चिठीको विषयलाई लिएर । सबैले मलाई प्रश्न तेर्साएर हेर्न थाले । खोलिएका चिठीहरू दिनमा १० र १५ ओटा आउँथ्यो । चिठी पठाउनेमा महिला संख्याभन्दा पुरूष संख्या बढी थियो । अधिकांश कलेजबाट आएका थिए चिठीहरू । चिठी पढ्दा त खुब रमाइलो पनि लाग्यो तर हजुरआमाको डरले काम्थे म । उहाँ कडा स्वाभावको हुनुहुन्थ्यो । मलाई यसरी चिठी आउनु उहाँलाई राम्रो लाग्ने कुरै भएन् । मैले चिठीको प्रतिउत्तर कसैलाई लेखिन् पनि । एक वर्षसम्म मलाई चिठी आइरह्यो ।

हजुरआमाले बारम्बार भन्नुहुन्थ्यो, “हाम्रो इज्जत जाने काम कहिल्यै नगर्नु ।” आज पनि हरेक पाइलामा म हजुरआमाका यी वाक्यहरू सम्झिरहन्छु । आज म खेल्ने पालीभाको पुरानो त्यो घर छैन । पिँढी र आँगन छैन । मलाई कवि बनाउने रेडियो छैन । छ त स्मृतिको ठूलो रूख ।


तारा केसी
काठमाडौं


(तारा केसीको जन्म काभ्रे जिल्लाको पनौतीमा भएको हो । हाल उहाँको बसोबास गोगंबु, काठमाडौंमा रहेको छ । उहाँ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु हुन्छ । यस संस्मरण लेखमा उहाँले आफ्ना किशोरावस्थाका घटनालाई कुशलताका साथ प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares