दीपक समीपको गजल


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १६:५८ मा प्रकाशित     
दीपक समीपको गजल 

जब फाँटभरी शहर बस्छ खेत सकिन्छ किसान सकिन्छ
लाग्छ जस्तो कि आमाको आँखै अगाडि सन्तान सकिन्छ

मेरा छिमेकी जस्तै मिचाहा छन् मेरा देशका छिमेकीहरु
न देशलाई जुरुक्क बोकेर काँधमा कतै लैजान सकिन्छ

तपाईं सज्जन हुने, उच्च ओहोदामा नपुगुन्जेलसम्म हो
पुगेकै भोलिपल्ट तपाईको विवेक, आँखा,कान सकिन्छ

कालन्तरमा पुजनीय भगवान पनि मान्छे जस्तै हुँदा हुन्
जुन दिन भक्तको आस्था,ईश्वरको पनि वरदान सकिन्छ

म सोचिंरहन्छु विश्व भ्रमणमा उडिरहेका चराहरु देख्दा
त्यसपछि के गर्लान् चराहरु जब यिनको उडान सकिन्छ

म पागल भएकोमा मलाई हेर्दै जसरी हाँसिरहेका छौ नि
तिमी नि पक्का बहुलाउँछौ जब मायाको रुझान सकिन्छ

बडो दयनिय हुँदो रहेछ गरीबको घरमा जन्मनु ,बस्नु पनि
आगो कुर्दा कुर्दै बरा चिसो चुलोको साँझ बिहान सकिन्छ 

जीवनको आशा भरोसा बोकेर बिरामी अस्पताल पुग्छन् 
के लाग्छ जीवनजल नपाएर अस्पतालमा परान सकिन्छ 

महाशय ! यो कुरा तपाईले हरदम मनमा राखिरहनु होला 
बलको घमण्डले बलवान ज्ञानको अहमले विद्वान सकिन्छ ।


दीपक समीप


(दीपक समीप नेपाली साहित्यका एक प्रतिभाशाली लेखक हुनुहुन्छ । उहाँले बहुविधामा कलम चलाएपनि गजललाई प्रमुख विधा मान्नुभएको छ । नेपालको सुन्दर नगरी पोखरामा बसेर साहित्य, लेखन, संस्थागत योगदान एवम् सम्पादन कार्यमा सक्रिय समीपको गजललाई यसपटक प्रकाशित गरेका छौं ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!