गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार


गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनका रुपमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ ।

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रविण न्यौपानेले बताउनुभयो ।
चैत दोस्रो सातामै विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आबश्यक सबै बिद्युतीय उपकरणहरु जडान गर्ने काम उहाँले बताउनुभयो ।
“क्यालिब्रेशन फ्लाइटलका लागि आवश्यक तयारीमा जुटेका थियौ तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँंगै अहिले रोकिएको छ । हामी अहिले पनि निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौं”–उहाँले भन्नुभयो । न्यौपानेका अनुसार विद्यमान अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुने बित्तिकै काम सुरु हुने छ ।
जडान भएका उपकरणहरुले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ । आईसिपी टु को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनी हो ।
विमानस्थलमा अहिले कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले काम गरिरहेका छन् । उनीहरूलाई कार्यक्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रियवस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । बिमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवं प्राविधिक कार्यरत छन् । अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङ्गको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिङ, फल्स सिलिङ, एअर कन्डिसन जडान गर्ने काम भइरहेको छ । त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंङका काम भइसकेका छन् । “एउटा एक्सरे मेसिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरण छैनन्” उहाँले भन्नुभयो । धावनमार्गका लाइट, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टमलगायतका सबै काम सकिएका छन् ।
विमानस्थल क्षेत्रभित्रका अन्य पूर्बाधार निर्माण कार्य, बिद्युतीकरण लगायतका सबै काम सकिएका छन् । तारबारका काम सम्पन्न भएको छ भने पेरीफेरी रोड (इनर) निर्माण भएको छ । बाह्य सडक निर्माण भैरहेको छ । आयोजना प्रमुख अधिकारीले बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तिको समस्या परेको बताउनुभयो ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएशन कम्पनीले छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपिया“मा ग्लोबल टेन्डरबाट आईसिबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पहिलो चरणको अधिकांश काम सकिएसँगै अहिले दोस्रो चरणको काम चलिरहेको छ । गाेरखापत्र