आमाः एक महाआख्यान


[ss_social_share]
लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार १७:५८ मा प्रकाशित     
आमाः एक महाआख्यान

संसारमा मानिसले सबैभन्दा पहिले कसको दर्शन पाउँछ ? यो प्रश्नको सहज एवम् सरल उत्तर छ–आमा । यदि आमा नभएको भए यो संसार नै हुने थिएन । कुनै पनि मानिसका लागि सबैभन्दा महत्व आमाको छ ।

कतिपय मानिसले श्रृद्धाले आमाको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् भने कतिपयले देखासिकीमा आमाको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

आज हिन्दु धर्मावलम्बी मान्ने मानिसका लागि मातातीर्थ औंसी अर्थात आमा दिवस हो । यस पर्वमा विशेषतः आमा नहुनेले आफनी आमाको स्मरण गर्दछन भने आमा हुनेले आमालाई मिठो खानेकुरा खुवाउने एवम् उपहार दिने गर्दछन् । विवाह गरेर गइसकेकी छोरीहरू पनि आमालाई भेट्न आउँछन् । प्रविधिको विकाससँगै मानिसलाई एकआपसमा नजिक हुने मौका मिलेको छ । आज प्रविधिका माध्यमबाट देशविदेशका विभिन्न ठाउँमा रहेका मानिस एकआपसमा कुराकानी गर्ने गर्दछन् । यस्ता पर्व विशेषमा पनि मानिसले आफ्ना आमाहरूसँग कुरा गर्न प्रविधिको सहयोग लिने गर्छन् । आज सामाजिक सञ्जालमा आमाहरूका फोटा भरिएका छन् । कतिपय मानिसले श्रृद्धाले आमाको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् भने कतिपयले देखासिकीमा आमाको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । आजको दिन आमामय भएको छ । चारैतिर आमाहरू, थरिथरिका आमाहरूका फोटोले रंगिएको छ सामाजिक सञ्जाल । प्रविधिसँग जोडिएको सम्पन्न पुस्ताकी आमा भाग्यशाली छिन् । उनका सन्तानले उनको फोटोलाई दुनियाँका सामु प्रचारित गरिरहेछन् । जीवनलाई ढोँग, आडम्बर, दोहरो चरित्रबाट मुक्त राख्ने हो भने आस्था, सम्मान र श्रृद्धाका साथ स्मरण गर्ने हो भने ह्दयमा मातृस्नेह बाँकी रहेको मानिन्छ । यसर्थमा यस किसिमको आमाको फोटो प्रदर्शनी स्वागतयोग्य छ । आफना सुखसुविधा र स्वार्थमा भुल्ने, आमालाई दुःख, पीडा, प्रताडना दिने, बाहिर समाजसामु अनेकन स्वाँग लागिपर्छिन् हो भने आमाको सम्झना केवल आडम्बर मात्र हुन्छ । आफ्नो खुनपसिना र रगतले सिंचेर सन्तानको भविष्य सपार्न लागिपर्छिन् आमा । जीवनमा अनेकन दुखकष्ट सहेर सन्तानको भविष्यका लागि अनेकन अपमान सहेर पनि चुपचापचुपचाप जीवन संघर्षमा लागिरहन्छिन् आमा । घरपरिवार एवम् श्रीमानको उपेक्षा सहेर पनि सन्तानको भविष्यका नाममा दःखका अनेकन पहाड चढिरहन्छिन आमा । आमा जीवनको मूल आधार हुन, सन्तानको भविष्यकी स्वप्नदृष्टा हुन् । आफ्नो जीवनका समस्या र दुःखसँग लड्दै सन्तानको भविष्य सपार्न लागिरहने आमा आदर्श आमा हुन् ।

आँखामा आँसु सुकिसकेको छ, पीडाको महासागरमा डुब्नु परेको छ । आमाहरूको आँखामा आँसु ल्याइरहने यस्तो महामारी किन आइरहन्छ ?

आज महामारीका कारण कति आमाहरू दुःखमा छन् । कति महामारीको चपेटामा छन् भने आफ्ना परिवारजन महामारीमा परेर कष्ट भोगेको एवम् मृत्युवरण गरेको हेर्न बाध्य छन् । आँखामा आँसु सुकिसकेको छ, पीडाको महासागरमा डुब्नु परेको छ । आमाहरूको आँखामा आँसु ल्याइरहने यस्तो महामारी किन आइरहन्छ ? आमाका आँखामा आँसु ल्याइरहने महामारी कहिल्यै नआओस् र यसले आमाहरूलाई नरोओस् यही कामना गर्नुपर्छ सबले ।

आफूले खाई नखाई, कष्ट गरेर हुर्काएका छोराछोरी बुढेसकालमा शत्रुको झै व्यवहार गर्दछन् । कति भक्कानिँदो होला आमाको मन ।

अहिलेको मानिस आफ्नो स्वार्थ मात्र पार्ने । आफू कसको बलले कसरी यो अवस्थामा पुगैँ, उनीहरूलाई वास्ता नै हुँदैन । म र मेरीको मोहजालमा फस्दाफस्दै आफनै जन्मदातृी आमालाई भुल्न पुग्छन् मानिस । धन र शिक्षाको सिढीँमा चढेर आमाका आँखामा आँसु ल्याइरहने कुसन्तान धर्तीका कलंक हुन् । कति आमा सन्तानका गलत कर्मले पिरोलिएका छन् । घरमा भएका आमालाई दुख दिएर बजारमा मम्मी खोज्दै हिँडने कति छन् कति । आफ्नी आमालाई घर निकाला गने, दुःख दिने, र्दुव्यहार  गर्ने अनि श्रीमतीकी आमालाई सँधै पुजिरहने कुपुत्रका कारण कति आमाहरू वृद्धाश्रममा बस्न बाध्य छन् । आफूले खाई नखाई, कष्ट गरेर हुर्काएका छोराछोरी बुढेसकालमा शत्रुको झै व्यवहार गर्दछन् । कति भक्कानिँदो होला आमाको मन ।

आमाप्रति कृृतज्ञ नहुने सन्तानले जतिसुकै प्रगति गरेपनि ती अधुरा हुन्छन्, अपुरा हुन्छन् ।

आजको समयमा मानिस एक ठाउँमा बसेर उसको प्रगति सम्भव छैन । उमेर पुगेपछि, शैक्षिक योग्यता हासिल गरेपछि आफ्नो मातृथलो छोडेर देशविदेशका अनेक स्थानमा दुखको भारी बोकिरहेका सन्तानको सुखद भविष्यको कामना गर्ने आमाहरू आफ्नै गाउँठाउँ, आफ्नै  भूमिमा बसेर जीवन निर्वाह गर्दछन् । असल सन्तानले आमाको सम्झना, सम्मान र आदर गर्दछन् । बेलाबखतमा गएर भेट्छन् र आफूसक्दो सहयोग पनि गर्दछन् । आफू जन्मेदेखि हुर्केबढेको, अध्ययनअध्यापन एवम् काममा लाग्दासम्म आमाले भोगेका कष्ट नसम्झने मानिसले आमा भुल्छन र प्यारीको मायामा भुलेर जीवनका खुसी खोजिरहन्छन् । आमाप्रति कृृतज्ञ नहुने सन्तानले जतिसुकै प्रगति गरेपनि ती अधुरा हुन्छन्, अपुरा हुन्छन् । मानिस जहाँसुकै होस्, आफ्ना जन्मदाता आमाबुवा एवम् राष्ट्रप्रति कृतज्ञ हुनैपर्दछ ।

आमाहरू हाँस्न सकुनँ, आमाहरू सही अर्थमा स्वाभिमानका साथ बाँच्न सकुन् र उनीहरूले आफू र  आफ्ना सन्तानको भविष्य सपार्न सकुन् भन्नका लागि उनीहरूको जीवनमा उज्यालो ल्याउन हामी सबै सन्तानको कर्तव्य हो ।

कुनै पनि आमाले आफ्नो सन्तान गलत बाटोमा लागोस् र उसको प्रगति नहोस् भन्ने चाहँदैन । आफू जतिसुकै खराब बाटोमा लागेकी आमाले पनि सन्तानको भविष्य उज्वल होस्, उसको जीवन सफल होस् भन्ने चाहना राखेको हुन्छ । कतिपय आमाले जीवनमा कुनै गल्ती गरेर घरपरिवारबाट टाढा भएकी छिन भने उनीहरूका सन्तानलाई तिनकी आमाको नाम लिएर गाली गर्ने काम घरपरिवार एवम् समाजबाट भइरहेको हुन्छ । बाबु जतिसुकै खराब भएपनि उसको गल्ती गल्ती नमानिने तर आमा खराब भएपछि उनीहरूका सन्तानलाई पीडा दिने परपीडक प्रवत्तिका कारण आमा र उनका सन्तानको मन कति दुख्दो होला ? समाजमा परिवार, समाज एवम् देशको नेतृत्व पुरुषहरुको हुने र ती पुरुषमा विभेदकारी चरित्र रहिरहने हो भने आमा जातिको इज्जत, स्वाभिमानको अपहेलना बारम्बार भइरहन्छ । समाज र व्यवस्थाले पनि सन्तानहरूलाई पनि आमाको विरुद्धमा लाग्न लगाइरहन्छ । आमाहरू हाँस्न सकुनँ, आमाहरू सही अर्थमा स्वाभिमानका साथ बाँच्न सकुन् र उनीहरूले आफू र  आफ्ना सन्तानको भविष्य सपार्न सकुन् भन्नका लागि उनीहरूको जीवनमा उज्यालो ल्याउन हामी सबै सन्तानको कर्तव्य हो । नारीमाथि हुने तमामखाले विभेद र हिंसाको अन्त्य गर्ने हो आमाहरू सही अर्थमा बाँच्न सक्ने थिए । अपमान, उपेक्षा, गरिबीका दुष्चक्रमा परेर गलत बाटोमा लागेकाहरु  सही बाटोमा लागेर समाज विकासक्रममा आफ्नो योगदान दिन सक्ने की ?

मातृस्मृति दिवस मनाउनु, आमाको सम्झना गर्नुृको अर्थ आमाका आँखामा आँसु ल्याउन नदिनु पनि हो ।

आमाहरूको मन खराब सन्तानका कारणले दुख्ने गर्दछ । आफ्नो सन्तान बलत्कारी, बेइमान, भ्रष्ट, हत्यारा होस् भनेर कुनै पनि आमाले सोचेको हुँदैन । एकाध अपराधिक चरित्रका मानिस बाहेक हरेक आमाबाबुले आफ्ना सन्तानलाई असल नै बनाउन चाहन्छन् । मातृस्मृति दिवस मनाउनु, आमाको सम्झना गर्नुृको अर्थ आमाका आँखामा आँसु ल्याउन नदिनु पनि हो । आफ्ना सन्तानले प्रगति गरुन्, अघि बढुन् र समाजमा प्रतिष्ठित हुन सकुन्, सबै आमाले चाहेको कुरा यही हो । समय, परिस्थिति, मानिसको ज्ञानको चेतना, आर्थिक अवस्था आदिका कारण सबै मानिस एकै अवस्थामा पुग्दैन । संसारमा सबै मानिस एकनास प्रगति गर्दैनन् । सबै मानिस सबै क्षेत्रमा दक्ष पनि हुँदैनन् । एक असल सन्तानले आफू जेजस्तो अवस्थामा भएपनि आफ््ना आमाबुवाको आँखामा आँसु ल्याउने काम गर्नुहुँदैन । समाजमा कसैले नराम्रो काम गरेको छ भने सबभन्दा पहिले फलाना वा फलानीको सन्तान भनेर दोष दिइन्छ । दुनियाँले यसो भनिरहँदा कुन चाहिँ आमाको मन दुख्दैन होला ? हरेक मानिसले सकेसम्म राम्रो काममा लाग्नुपर्छ । असल सन्देश प्रवाह गर्नसक्ने, समाजको, देशको नेतृृत्व गर्न सक्नु बन्नुपर्छ । ठुलो पदप्र्रतिष्ठा पाएर मात्र मानिस सफल हुने हैन । हरेक सन्तानले आफू लागेको ठाउँमा निरन्तर, सृजनशील बन्ने हो, नवीन ज्ञान र चेतनालाई पछ्याउने असल कर्मको वाहक बन्ने हो भने कुन चाहिँ आमाको मन नरमाउला ?

संसार देखासिकीले मात्र चल्दैन । जीवनलाई असल मार्गमा लग्नका लागि त सार्थक कर्मको आवश्यकता छ ।

संसारमा आमाको बारेमा नलेख्ने, नबोल्ने को होला ? सबैले  आफ्नी आमालाई सम्झन्छन् । आज संसारमा जेजति साहित्य कलाको निर्माण भएको छ, त्यसमा आमाको विषय प्राथमिकताका साथ प्रस्तुत हुने गर्दछ । आमा कहिले नटुंगिने महाआख्यान हो । आमाको बारेमा जति भने पनि, जति लेखे पनि कम हुन्छ । आमा छिन् त जीवन छ । आमा नै नभए जीवनको अर्थ के छ र ? आज हामीले हाम्र्री घरकी आमा मात्र नभएर संसारभरकी आमाको मुहारमा प्रसन्नता ल्याउन प्रयत्नशील हुनुपर्छ । सबैभन्दा ठूली आमा धर्ती माता हुन् । आफ्नी जन्मभूमि आफ्नो राष्ट्र हुन् । आफ्नी आमाप्रति घात नगरौं, धर्तीमाता प्रति घात नगरौं, राष्ट्रमाता प्रति  घात नगरौं । यसो गर्न सक्यौ भने मात्र आमा दिवसको सार्थकता हुनेछ नत्र देखावटीपन र स्वागँले भरिएका प्रचार र कर्मले हाम्रो जीवनलाई सही मार्गमा लग्न सक्दैन । संसार देखासिकीले मात्र चल्दैन । जीवनलाई असल मार्गमा लग्नका लागि त सार्थक कर्मको आवश्यकता छ । असल मार्गको निर्माणका साथ असल यात्रालाई निरन्तरता दिने हो भने जीवनमा नयाँ उत्साह, उमंग र आशाको सञ्चार हुन्छ । जीवनका पीडाको अन्त्य हुन्छ । समाजमा असल सन्देश दिने कर्मले सबैका मनमा प्रसन्नता सञ्चार हुन्छ । घर प्रसन्न भए समाज प्रसन्न हुन्छ । समाज प्रसन्न भए देश प्रसन्न हुन्छ । देश प्रसन्न भए विश्व प्रसन्न हुन्छ ।

हामीले हाम्रा असल कर्मले परिवार, समाज अनि राष्ट्रमा असल ज्ञान र चेतना दिन सक्यौं, परिश्रमका माध्यमबाट सामाजिक विकासमा नयाँ मार्ग पहिल्याउन सक्यौ भने आमाहरू त्यसै खुसी हुनेछन् । आमाको ह्दयमा खुसी ल्याउन आमाहरूलाई सदैव खुसी राखौं, उनीहरूको मुहार उज्यालो बनाउन सकौं । आमाहरूका असल सन्तानलाई दुःख नदिऊँ । वर्षको एकदिन मात्र नभएर हरेक दिन आमालाई सम्झिरहौं ।
आमा दिवसको सबैलाई शुभकामना ।


डा.पुष्करराज भट्ट
प्रधान सम्पादक, www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  • 768
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    768
    Shares