स्रष्टा सम्झना: नेपाली साहित्य र इतिहास जगतका अमर व्यक्तित्व


[ss_social_share]
लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार १३:०१ मा प्रकाशित     
स्रष्टा सम्झना: नेपाली साहित्य र इतिहास जगतका अमर व्यक्तित्व

नेपाली साहित्यका धुरन्धर विद्वान् श्रद्धेय सूर्यविक्रम ज्ञवालीको कडा अनुशासनमा जीवनलाई डोर्याउन खोज्ने वरिष्ठ साहित्यकार देवकुमारी थापाले वनिता विशेषांकमा आफ्नै हस्ताक्षरले उद्धृत गरेकी छन्–मेरा श्रद्धेय गुरू स्व. सूर्यबिक्रम ज्ञवालीका यी भनाई “यहाँ लोकप्रिय हुन सजिलो छ तर श्रद्धेय हुन् गाह्रो छ, त्यही श्रद्धा आर्जन गरेर बाँच्न सक्नुपर्छ ।”

१९५५ साल जेठ २९ गते भारतको काशीमा जन्मिएका सूर्यविक्रम ज्ञवाली डिठ्ठा तिलविक्रम ज्ञवाली तथा पार्वतीदेवी ज्ञवालीका सुपुत्र हुन् । त्यहीँबाट उनले प्रारम्भिक शिक्षा आर्जन गरे । आइ.ए पास गरेर सूर्यविक्रम ज्ञवाली २४, २५ वर्षको उमेरमा नै जागिरे जीवन दार्जीलिङ सरकारी विद्यालयबाट शिक्षण पेशा सुरु गरेको देखिन्छ । विद्यालयमा पढाउँदै आफ्नो अध्ययनलाई पनि अघि बढाएर उनले बी.ए. र बी.टी कलकत्ताबाट उच्च श्रेणीमा उत्तीर्ण गरे ।

ज्ञवाली साहित्यसँगै शिक्षाको आभा छरेर समृद्ध र सुसंस्कृत समाजको निर्माणमा जुट्ने एक सचेत व्यक्तित्व भएको कुरा हामीले पढदै आएका छौं ।

सूर्यविक्रम ज्ञवाली नेपाली साहित्यको विचार र चिन्तनबाट गहकिलो निचोड निकाल्ने उच्च क्षमताका धनी थिए । उनी साहित्यसँगै शिक्षाको आभा छरेर समृद्ध र सुसंस्कृत समाजको निर्माणमा जुट्ने एक सचेत व्यक्तित्व भएको कुरा हामीले पढदै आएका छौं । नेपाली भाषा साहित्यको उत्थानका लागि भारतमा नै रहेर संस्थागत र व्यक्तिगत रूपमा उनले गरेको योगदान निकै उच्च छ । नेपाल र नेपालीत्व मन भएका ज्ञवालीको चिन्तन नै नेपाली थियो र चेतनाको तह नेपालको थियो भने पनि हुन्छ । उनले नेपाली भाषाभाषीको सम्मानमा जुट्ने जोसुकैको गीत गाउँथे भन्ने कुरा धेरै विद्वानहरूले लेखेका छन् ।

उनी बनारसमा अध्ययन गर्ने बेलादेखि नै नेपाली भाषाको उन्नयनमा लागेका थिए । विद्यार्थीकालमा जब उनी १८ वर्षको उमेर थिए, त्यस बेलादेखि नै सम्पादन क्षेत्रमा पाइला राखेको पाइन्छ । उनले त्यहाँबाट प्रकाशित गोर्खाली र जन्मभूमि पत्रिकाको सम्पादन गरे । तीक्ष्ण बौद्धिकता भएका ज्ञवाली सानैदेखि नेपाली भाषा, साहित्य र इतिहासमा दक्ष थिए ।

ज्ञवाली साहित्य, इतिहास र संस्कृतिका ज्ञाता भएकाले गर्दा उनी भारतको नयाँ दिल्लीस्थित शाही नेपाली राजदूतावासमा सांस्कृतिक सहचारी पनि भए ।

भारतमा जन्मिएर भारतमै शिक्षण पेशामा समर्पित हुँदै नेपाली भाषा साहित्यको सेवामा लागिपर्ने इतिहासकार सूर्यविक्रम ज्ञवाली समयको पदचापसँगै वि.सं २०१३ मा नेपाल प्रवेश गरे । त्यसपछि उनी पुरातत्व विभागको निर्देशक बने । त्यसको तीन वर्षपछि उनी नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव भए । पछि उनी राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भए । ज्ञवाली साहित्य, इतिहास र संस्कृतिका ज्ञाता भएकाले गर्दा उनी भारतको नयाँ दिल्लीस्थित शाही नेपाली राजदूतावासमा सांस्कृतिक सहचारी पनि भए । राजनीति, प्रशासन, कूटनीति र प्राज्ञिक ठाउँहरूमा आफ्नो दक्षता देखाउन सक्ने प्रतिभाका खानी ज्ञवाली विभिन्न सरकारी र गैरसरकारी ओहोदामा कार्यरत हुँदै तत्कालिक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नेपालको कुलपति समेत भई बौद्धिकता र क्षमता प्रस्तुत गरेर नेपालीत्वको गौरव गाथा रच्ने एक अब्बल बहुआयामी व्यक्तित्वका रूपमा अमर रहे ।

ज्ञवालीलाई नेपाली समालोचना, जीवनी, निबन्ध, इतिहास र संस्कृति क्षेत्रमा नसम्झने हो भने यी क्षेत्रहरूमा निकै ठूलो खाडल पर्छ । राणा शासनले नेपालभित्र लगाएको कठोर प्रतिबन्धित कालमा विविध विषयमा कलम चलाउने उनी अग्रसर भएको देखिन्छ ।

पूर्णरूपले परिस्कृत नभइन्जेल कुनै पनि रचना छपाउनु हुन्न भन्ने चेतना आफुमा पनि थियो र अरूलाई पनि कडा निर्देशन दिनसक्ने आँटिला र खारिएका सर्जक ज्ञवालीको सर्वोच्च शक्ति नै परिष्कार मानिन्छ । सोही अनुरूप आफ्नो प्रतिभालाई अघि बढाएर साहित्यिक जगतमा नै इतिहास बनको कुरा सबैलाई छर्लङ्ग छ ।

‘नेपाली साहित्य सम्मेलनको स्थापना कालमा हरिप्रसाद प्रधान अध्यक्ष, उपाध्यक्षमा धरणीधर कोइराला र मन्त्रीद्वय पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवाली थिए ।

सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) को अग्रसारतामा सन् १९२४ मा नेपाली साहित्य सम्मेलनको स्थापना गरेर विशेष त दार्जीलिङ र त्यस आसपासका जनसमुदायलाई साहित्यप्रति सचेत बनाएर एउटा सुन्दर कार्यको निर्माण गरेको कुरा बिर्सनु हुँदैन । ‘नेपाली साहित्य सम्मेलनको स्थापना कालमा हरिप्रसाद प्रधान अध्यक्ष, उपाध्यक्षमा धरणीधर कोइराला र मन्त्रीद्वय पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवाली थिए । यसपछि नै सूधपाको जन्म भयो । यी तीनै व्यक्तित्वहरूका आफ्ना आफ्नै मौलिक विशेषता थियो । धरणीधरको कविता जागरण, पारसमणिको व्याकरण र पाठ्यपुस्तक, अनि सूर्यविक्रम ज्ञवालीको इतिहास, समालोचना लेखन र सम्पादनमा थियो । त्यसबेला एउटा गहकिलो साहित्यिक संस्थाको अग्रपङ्क्तिमा रहेर नेतृत्व सूर्यविक्रम ज्ञवालीले गरेको कुराबाट पनि उनको नेआली साहित्यप्रतिको प्रेम दर्साउँछ । अग्रजदेखि अनुजसम्मका स्रष्टा सम्वद्द त्यस संस्थाको माध्यमबाट १०० वर्षको अन्तरालमा गरेको साहित्यिक गतिविधिबाट साहित्यको सम्वद्र्धन र संरक्षणमा गरेको कार्य प्रशंसायेग्य छ ।

१९२० मा प्रकाशित ‘नैवेद्य’ कविता कृृतिमा पहिलो पटक सूर्यविक्रम ज्ञवालीले गरेकाे समालोचना सन् १९२२ मा उनैको सम्पादनमा बनारसबाट प्रकाशित हुने पत्रिका ‘जन्मभूमि’मा छापियो । यो नै नेपाली साहित्यको पहिलो समालोचना हो भनेर धेरै विद्वानहरूको भनाई छ ।

धरणीधर कोइरालाको सन् १९२० मा प्रकाशित ‘नैवेद्य’ कविता कृृतिमा पहिलो पटक सूर्यविक्रम ज्ञवालीले समालोचना गरेको देखिन्छ । त्यो समालोचना सन् १९२२ मा उनैको सम्पादनमा बनारसबाट प्रकाशित हुने पत्रिका ‘जन्मभूमि’मा छापियो । यो नै नेपाली साहित्यको पहिलो समालोचना हो भनेर धेरै विद्वानहरूको भनाई छ । त्यसपछि साहित्य सम्मेलनले सुरूमा नेपाली कथाहरूसङ्ग्रह ‘कथा कुसुम’ प्रकाशित गर्र्याे जसको सम्पादक थिए सूर्यविक्रम ज्ञवाली । सूर्यविक्रम ज्ञवालीले त्यो कथासङ्ग्रहको भूमिकामा आधुनिक नेपाली कथाको प्रारम्भिक स्थितिबारे गहन समालोचना प्रस्तुत गरेको भनाई विज्ञहरूबाट प्रष्ट हुन आउँछ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठबारे ‘नेपाली साहित्याकाशका दुई नयाँ तारा’ लेखेर सबैभन्दा पहिले ती आधुनिक कविलाई नयाँ काव्यधाराबाट परिचित गराउने काम पनि ज्ञवालीबाटै भएको पाइन्छ । उनले समालोचनालाई प्रमुखताका साथ महत्वबोध गराउँदै समालोचनाको अर्थ कृतिको गुणदोषको विवेचना गर्नु र गुणदोषमध्ये कुनचाहिँ बढी छ, त्यसबारे सहि विश्लेषण गरेर लेखिनु समालोचकको धर्म मान्ने ज्ञवालीले समालोचनाको मार्ग फराकिलो बनाएको पाइन्छ । प्रभाववादी समालोचक ज्ञवाली नेपाली साहित्यको समालोचनाको सम्र्वद्धनमा प्रमुख भूमिका रहेको पाइन्छ ।

नेपाली सङ्क्षिप्त शब्दकोश (२०४०) यिनले निर्माण गरेको महत्वपूर्ण ग्रन्थ हो ।

ज्ञवालीले समालोचना, जीवनी, इतिहास, सम्पादन, अनुवाद र शब्दकोशजस्ता क्षेत्रका जम्मा सत्रवटा ग्रन्थहरूको निर्माण गरे । भानुभक्तको जीवन चरित्र, पृथ्वीनारायण शाह, द्रव्य शाह, राम शाह, अमरसिंह थापा, वीर बलभद्र, नेपाली वीरहरू जीवनीमूलक र ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’, ‘नेपाली भाषाको सङ्क्षिप्त इतिहास’ र ‘पारे धर्तीको पुरुषार्थ’, डाँक घर (अनुवाद कृति) छन् । नेपाली सङ्क्षिप्त शब्दकोश (२०४०) यिनले निर्माण गरेको महत्वपूर्ण ग्रन्थ हो । उनी यी सबै क्षेत्रमा प्रसिद्ध पनि भएका छन् । यस्ता महत्वपूर्ण कृतिहरू लेखेर सम्पादन गरेर साहित्य र इतिहास लेखकको रूपमा अग्रस्थानमा स्थापित हुने अमर प्राज्ञ हुन् ।

ज्ञवाली प्रवासमा नै जन्मे, प्रवासमा नै बढे र प्रवासमा नै हुर्के र पनि उनले नेपाललाई माया गरे ।

उनले आफ्नो जीवनकालमा गरेको अथक परिश्रमका कारणले आज नेपाली समाज उनीबाट आलोकित छ । उनको यही योगदानको कदरस्वरूप गोरखा दक्षिण बाहु प्रथम, त्रिशक्तिपट्ट दोस्रा, पृथ्वी प्रज्ञा पुरस्कार र त्रिभुवन प्रज्ञा पुरस्कारबाट विभूषित र सम्मानित भएका थिए । उनले भारतबाट केशरी हिन्दी तक्मा पनि प्राप्त गरेका थिए । ज्ञवाली प्रवासमा नै जन्मे, प्रवासमा नै बढे र प्रवासमा नै हुर्के र पनि उनले नेपाललाई माया गरे । अमर प्राज्ञका रूपमा चिरस्थापित ज्ञवालीको नाउँ नेपाली धर्तीमा एउटा प्रेरकका रूपमा रहेको छ । उनको मृत्यु २०४२ साल मङ्सिर १६ गते ८७ वर्षको उमेरमा काठमाडौँमा भयो ।


लक्ष्मी उप्रेती

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •