फूलको थुँगा बगेर गयो…


[ss_social_share]
लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार १२:३२ मा प्रकाशित     
फूलको थुँगा बगेर गयो…

पुस महिनाको कुनै चिसो साँझ थियो । भेरी दोभानको माथिल्लो भंगालोमा चिसो सिरेटो बहिरहेको थियो । विशाल कर्णालीको पानीमा रत्तिभर घमण्ड थिएन । निलोकालो भएर पनि कर्णालीको पानी शान्त र निरन्तर बगिरहेको थियो । सुस्त तर अविरल बहनु जीवनको गन्तव्यसम्म पुग्ने सबैभन्दा मजबूत गति हो सायद । त्यस्तै बगिरहेथ्यो कर्णाली । हाम्रो डुंगा पूर्बी किनारमा तैनाथ थियो । स्याँठले चिसिएका हातहरू काखीमुनि च्यापेर डुंगा छेऊ उभिरहेका थिए बा ।

केही बेर अघि मात्रै त्यै ओख्रकोटको अग्लो टाकुराबाट सूर्य पश्चिमतिर बिलाएको थियो । त्यहीँबाट छुटेर मधूरो बन्दै गैरहेका घामका धर्साहरू पढ्दै थिए बा ।

उनी घरी पूर्वतिर घाटगाउँको बाटो त घरी पारी पश्चिमा ओख्रेकोटको अग्लो डाँडातिर टाउको घुमाउँदै थिए । केही बेर अघि मात्रै त्यै ओख्रकोटको अग्लो टाकुराबाट सूर्य पश्चिमतिर बिलाएको थियो । त्यहीँबाट छुटेर मधूरो बन्दै गैरहेका घामका धर्साहरू पढ्दै थिए बा । म भने बगरमा बालुवाका थरीथरी घरहरू बनाइरहेकी थिए । ढडियाबाट चारपाँच भुराहरू झिकेर अग्लो घरको छानामा सुकाए । चिसो बालुवामा भुराहरूको अन्तिम सास चलिरहेको थियो । कम्तिमा हाम्रो यात्रु आइपुग्दा सम्म म ती भुराहरूलाई जीवितै राख्न सक्थे । सबै भुरा बटुलेर ढडियामा राखे । ढडियाको मुख बन्द गरेर कर्णालीको पानीमा डुबाए ।

क्रान्तिका नानाभाँति कुरा गर्थे उनीहरू । समाज परिवर्तन, विभेदको अन्त्य, शासनसत्ता परिवर्तन जस्ता गहन कुरा हुन्थे । कता भिडन्त भयो, कता पुलिस चौकी आक्रमण भयो, कता ब्यारेक हानियो, कता कति कमरेड सहिद भए जस्ता कुरा पनि गर्थे ।

झिसमिसे साँझमा केही खास यात्रुलाई पर्खिनु र उनीहरूलाई कर्नाली तार्नु केही दिनदेखि हाम्रो दैनिकी बनेको थियो । निधारमा रातो फेटा बाँधेका र ससाना हतियार बमबारुद बोकेका युवायुवती थिए ती । कैलेकाहीं त कम्ब्याट ड्रेस लगाएका र ठूलठूला राइफल बोकेका लडाकु पनि मिसिएका हुन्थे समुहमा । उनीहरू क्रान्तिकारी थिए । क्रान्तिका नानाभाँति कुरा गर्थे उनीहरू । समाज परिवर्तन, विभेदको अन्त्य, शासनसत्ता परिवर्तन जस्ता गहन कुरा हुन्थे । कता भिडन्त भयो, कता पुलिस चौकी आक्रमण भयो, कता ब्यारेक हानियो, कता कति कमरेड सहिद भए जस्ता कुरा पनि गर्थे । कैलेकाहीं त अब को कताको युद्धमा जाने, कसरी लड्ने, कसरी शत्रुको सामना गर्ने र कसरी मृत्युलाई समेत जितेर फर्किने जस्ता कुरा निकै साहसका साथ गर्थे । त्यसो कुरा गर्दा उनीहरूको मुहारमा डर रत्तिभर हुन्थेन । बरु आक्रोश र उत्साहले उनीहरूका आँखा ठूला र निधार चौडा हुन्थ्यो । म चुपचाप उनीहरूका कुरा सुनिराख्थे । कति कुरामा डर पैदा हुन्थ्यो भने कति कुरामा उत्साह । उनीहरूका कुरामा मलाई निकै रुचि हुन्थ्यो । उनीहरू घाटगाऊँको बाटो भएर आउँथे, डुंगा तरेर पारी सोल्टातिर जान्थे ।

“मैले नमस्कार भनेको हो ? कि तिमी राजाकी छोरी हौ ? माझीकी छोरी हौ भने लालसलाम भन ।” मलाई झनक्क रिस उठ्यो ।

झिसमिसे अँध्यारो हुनै लाग्दा उनीहरूको समुह कर्णाली बगरमा पुग्यो । अरु दिन भन्दा निकै ठूलो थियो समुह । समुह डुंगा छेऊ पुग्यो । सधैं भैराख्ने एक युवकले बालाई ‘लाल सलाम कमरेड !’ भन्यो । सँगै अरु दुईचार जनाले पनि । बाले पनि जवाफमा लालसलाम भने । समुहको एक नयाँ युवक मेरै छेउमा आयो । उसले मलाई ‘लालसलाम मैया !’ भन्यो । मैले ऊतिर हेरेँ मात्र, जवाफ फर्काएन । ऊ फेरी हाँस्दै बोल्यो –क्या हो, लालसलाम भनेको नफर्काउनी ? मेरो मुखबाट ‘नमस्कार’ शब्द निस्कियो । ऊ मलाई जिस्क्याएझै गरी बोल्यो–“मैले नमस्कार भनेको हो ? कि तिमी राजाकी छोरी हौ ? माझीकी छोरी हौ भने लालसलाम भन ।” मलाई झनक्क रिस उठ्यो । मैले चर्को स्वरमा ‘लाल सलाम् !’ भनेँ । “वा ! यिनको त क्रान्तिकारी बन्ने लक्षण छ ।” अर्को युवक बोल्यो । “आजै लग्नुपर्छ यिनलाई त” सुरुमा बोल्ने युवक बोल्यो । “इस्, जान्छु तिमेरुसँग !” मैले जवाफ फर्काएँ । “नगए अपहरण गरेर लान्छम् नि !” –“हेरम्ला हाम्पनि !” जवाफ त मैले पनि फर्काए । तर भित्री मनमा उसको कुराप्रति समर्थन जागेको थियो । खासमा म पनि उनीहरूसँगै जान चाहन्थे, क्रान्तिकारी बन्न चाहन्थेँ ।

सुर्खेत, दैलेख, अछाम, डोटी र कैलालीका कर्नाली आसपासका गाऊँहरूबाट सयौंको संख्यामा कार्यकर्ता र शोषित उत्पिडित, निम्नवर्गिय सर्वसाधाणलाई पनि ओख्रेकोटमा ओसारिँदै रहेछ ।

बाले तीन खेप गरेर नदी तारे सबैलाई । चौथो खेपमा उनीहरूका झोला, अन्य भारी र भातका बोरा तारे । त्यो युवकले अन्तिम समयसम्म मसँग कुरा गर्याे । मलाई थाहा भयो–दुई दिन पछि ओख्रेकोटमा विशाल जनसभा र साँस्कृतिक कार्यक्रम रहेछ । पार्टीका ठूला नेताहरू पनि आउने रहेछन । सुर्खेत, दैलेख, अछाम, डोटी र कैलालीका कर्नाली आसपासका गाऊँहरूबाट सयौंको संख्यामा कार्यकर्ता र शोषित उत्पिडित, निम्नवर्गिय सर्वसाधाणलाई पनि ओख्रेकोटमा ओसारिँदै रहेछ । त्ये युवकले मलाई पनि कार्यक्रममा आउन आग्रह गर्यो, बालाई पनि । बाले सहमति जनाए । चौथो खेपमा युवक सहित सामान पल्लो किनार पुर्याएर फर्के बा । बा वारी किनार नपुग्दासम्म क्रान्तिकारीहरूको त्यो जत्थालाई नियालिरहे म ।

धेरै माझी जस्तै बा कर्णालीमा डुंगा खियाउँथे । जाल थापेर धेरथोर माछा पनि जम्मा गर्थे । सबै माझीहरू फरक फरक ठाऊँ र फरक बाटोमा डुंगा खियाउँथे ।

आफ्नै जीवनदेखि आजित भएका प्राणी थिए मेरा बाआमा । घाटगाऊँको दक्षिण किनारमा थियो हाम्रो घर । त्यसलाई घर के भन्नु, झिँगटीले बारेको र खरले छाएको मौसमी छाप्रो थियो त्यो । बर्सातमा कर्णालीको भेल बढे बगाउला की भन्ने डर सधैं हुन्थ्यो । त्यहाँ हाम्रो कटेरो एक्लो थिएन । त्यस्ता चौध कटेरा अरु माझीका पनि थिए । सबैको अवस्था हाम्रो जस्तै थियो । घाटगाऊँको सम्म परेको फराकिलो बेसीमा उर्वर खेतहरू थिए । तर ती सबै बाहून क्षत्रीका दशबाह्र परिवारको स्वामित्वमा मात्र थिए । बाँकी पैंतिस चालिस परिवार बाहुन क्षत्रीको अवस्था त मुश्किलले खानलाउन पुग्ने थियो । धेरै माझी जस्तै बा कर्णालीमा डुंगा खियाउँथे । जाल थापेर धेरथोर माछा पनि जम्मा गर्थे । सबै माझीहरू फरक फरक ठाऊँ र फरक बाटोमा डुंगा खियाउँथे । आमा गाऊँतिर गएर ज्याला मजदुरी गर्थिन । कैलेकाहीं त उनी पारी सोल्टा, बढीगाऊँ र वारी कुइने, तातापानी सम्म पुग्थिन । बाआमाको त्यही कामबाट हाम्रो साँझ विहानको चुलो बल्थ्यो ।

हामीलाई नानाथरी सपना देखाउन थालेका थिए । हामी तिनका सपनामा बहुत आशावादी बन्न थालेका थियौं ।

म आठ कक्षासम्म विद्यालय गएँ । मेरो पढ्ने रहरलाई बाको आर्थिक अवस्थाले धान्न सकेन । भाइले आफ्नै रहरले चार कक्षाबाट पढाइ छोड्यो । उसको बाल चेतनाले पढाइको महत्व के बुझ्थ्यो र ? ऊ आमासँग गाउँ चाहर्न मन पराउँथ्यो । म बासँगैकर्णालीको पानीमा खेल्न रुचाउँथे । बाको इच्छा भाइले डुंगा खियाउन सिकोस र मैले आमासँग गाऊँमा ज्यालामजदुरी सिकुँ भन्ने थियो सायद । हाम्रा स्वभाव ठिक उल्टा भए । छोरी भएर पनि मैले डुंगा खियाउन राम्रै सिकिसकेकी थिएँ, जाल हान्न पनि । कैलेकाहीँ बालाई थकाइ लाग्दा या बेसन्चो हुदा म सहयोग गर्थेँ । बाआमाको अवस्था देख्दा मलाई निकै पीर लाग्थ्यो । टोल छिमेकका सबैको अवस्था उस्तै थियो । तर पछिल्ला केही वर्षदेखि यिनै क्रान्तिकारीहरू गाऊँमा आउन थालेका थिए । हामीलाई नानाथरी सपना देखाउन थालेका थिए । हामी तिनका सपनामा बहुत आशावादी बन्न थालेका थियौं ।

पहिलो–गाउँटोल र घरपरिवारको दुर्दशाले मलाई क्रान्तिकारी बन्न उत्पे्ररित गरेको थियो । दोस्रो–त्यो युवकको प्रेमिल बातले मलाई कायल बनाएको थियो । उमेरका सोह्र बर्ष पूरा भएर सत्रमा टेक्दा पहिलो चोटि कुनै युवकले मसँग त्यसरी उदार भएर कुरा गरेको थियो ।

त्यो साँझ घर पुग्दासम्म युवकको बोली मेरो हृदयमा ठोक्किइरह्यो । उसको पहिलो ‘लाल सलाम’, उसले जिस्क्याएको, उसले गरेका अरु कुरा र कार्यक्रममा आउन गरेको निम्ताले मलाई काउकुती लगाइरह्यो । आजसम्म त्यति क्रान्तिकारीहरू भेटिए तर कसैले कहिल्यै त्यसरी मसँग कुरा गरेन । त्यो दिन पहिलो पटक कसैले मलाई महत्व दिएर कुरा गर्यो । त्यो रात सधैंभन्दा बहुत फरक कुराहरू सोचेँ मैले । राती सपनामा समेत मैले त्यो युवकसँग कुरा गरे । र विपनामा समेत मैले सपना देखेँ । जीवनको यो अवस्थामा पुगेर मैले के झुटा बोल्नु । साँचो भनम्–मलाई त्यो बेला दुई आकर्षक शक्तिले सँगै तानेको थियो । पहिलो–गाउँटोल र घरपरिवारको दुर्दशाले मलाई क्रान्तिकारी बन्न उत्पे्ररित गरेको थियो । दोस्रो–त्यो युवकको प्रेमिल बातले मलाई कायल बनाएको थियो । उमेरका सोह« बर्ष पूरा भएर सत्रमा टेक्दा पहिलो चोटि कुनै युवकले मसँग त्यसरी उदार भएर कुरा गरेको थियो । मेरो हृदयमा काउकुती लाग्ने गरी मलाई उसले जिस्क्याएको थियो । आज बुझ्छु –त्यसमा मेरो उमेरको प्रभाव पनि अलिअलि थियो कि ? जे होस् त्यसले मलाई गतिलै चेतनामा उकासेको थियो । त्यो रात मैले क्रान्तिकारी बन्ने सपना बुनेकी थिएँ । त्यसपछि मलाई जनसभा हुने दिनको पर्खाई थियो ।

कर्णालीको पश्चिम किनारमा डरलाग्दो भीर छ । भीरमाथी गजबको मैदान छ । मैदानको घाडीतिर भिरालोमा बस्ती छ । बस्तीको सिरानीतिर चुरे पर्वत अग्लिएको छ । आज तल कर्णालीदेखि माथि डाँडासम्म राता झण्डाहरू, तुल व्यानरहरू टाँगिएका छन । मूल बाटाहरूमा गेटहरू सजाइएका छन् । हँसिया हतौडा अंकित झण्डाहरूको बहार जस्तै छ । ओख्रेकोटको त्यही खुला चौरमा हजारौको संख्यामा जनसागर छ । चौरको उत्तर कुनामा आकर्षक मञ्च सजाइएको छ । मञ्चमा ठूला नेताहरू बसेका छन । कलाकारका गीत र नाच चलिरहेको छ । जनसागरको एक छेउतिर हामी पनि उभियौं । हाम्रो टोलछिमेकका सबैजसो बुढापाका र केटाकेटी त्यहाँ उपस्थित थिए । हाम्रो सामुन्नेम उही युवक झुल्कियो अकस्मात । खासमा ऊ भेटिए हुन्थ्यो भन्ने मेरो मनमा पनि थियो । ऊसले उस्तै पाराले कुरा सुरु गर्यो । त्यसपछि हामीले निकै बेर कुरा गर्यो। उसको नाम गौरव रहेछ ।

जनकलाकारहरूका नाचगानमा आँशू नझार्ने कोही थिएन होला । नेताका भाषणमा समर्थनको ताली नबजाउने र उत्साहको मुट्टी नउठाउने कोही थिएन होला ।

जनकलाकारहरूका नाचगानमा आँशू नझार्ने कोही थिएन होला । नेताका भाषणमा समर्थनको ताली नबजाउने र उत्साहको मुट्टी नउठाउने कोही थिएन होला । त्यस बखत सत्तालाई गाली नगर्ने र क्रान्तिलाई जयजयकार नगर्ने जन कोही थिएन होला सभामा । जनसभा त्यस्तो पो हुँदोरहेछ । मेरो छाती गर्वले फुलेको थियो । अटल साहस मेरो मनमा रोपिएको थियो । मेरा पैतला उत्साहले उचालिएका थिए । मेरो मनले त्यही दिन नयाँ प्रण गरेको थियो । त्यो दिनदेखि म आफ्नै नजरमा क्रान्तिकारी बनेकी थिएँ । मेरो भुमिगत लडाकु यात्रा सुरु भएको थियो । मेरा बाले मलाई रोकेनन, आशिष दिए । बा ! म पनि भुमिगत हुन्छु भन्दा बा खुशी भएका थिए । म त्यही युवकको समुहमा सहभागी भएकी थिएँ ।

हाम्रो मृत्यु केही हैन, बरु समाजको आमूल रुपान्तरण महान कुरा हो । महान कुराहरू सजिलै प्राप्त हुँदैनन । यस कारण त्यो यात्रामा जेजे दुःख कष्ट आइपरे, समाज रुपान्तरणको सुन्दर आशा सामु ती सामान्य थिए ।

सुरुवातका छ महिना पार्टीका औपचारिक प्रक्रिया र प्रशिक्षणमा बिते । त्यसपछि विभिन्न संगठनका विभिन्न जिम्मेवारी पाउने क्रम सुरु भयो । त्यो यात्राका दुःखकष्ट र पीरव्यथाका कुरा म गर्न चाहन्न । किनकी त्यो हुन्छ भन्ने थाहा पाएरै म त्यसमा सामेल भएकी थिएँ । मलाई थाहा थियो मृत्युसम्मका सबै दु:खकष्ट सामना गर्न रुचाउने मान्छे मात्र संघर्ष, क्रान्ति, युद्धमा हिँड्नसक्छ । हाम्रो मृत्यु केही हैन, बरु समाजको आमूल रुपान्तरण महान कुरा हो । महान कुराहरू सजिलै प्राप्त हुँदैनन । यस कारण त्यो यात्रामा जेजे दुःख कष्ट आइपरे, समाज रुपान्तरणको सुन्दर आशा सामु ती सामान्य थिए । विविध अनुभूतिका साथ मैले तीन वर्ष बिताएँ त्यो यात्रामा । ती तीन वर्ष निकै खुशीका दिन बिते । खुकुरीको धारको यात्रामा पनि कति गर्व र आनन्द आउँदो रहेछ भन्ने कुरा मैले उतिबेला महसुस गरेकी थिए ।

हामी क्रान्तिकारीहरू जति देशलाई माया गथ्र्यौ, उति नै एकअर्कालाई पनि माया गथ्र्यौ ।

गौरव र मेरो बीचमा प्रेमको सम्बन्ध बलियो बनिसकेको थियो । हामी क्रान्तिकारीहरू जति देशलाई माया गथ्र्यौ, उति नै एकअर्कालाई पनि माया गथ्र्यौ । हाम्रो प्रेमले हामीलाई यात्रामा अझै बढी हौसला थपेको थियो । हुन त पार्टीले पनि प्रेमको अनुशासन तोकिदिएको थियो । त्यो स्वभाविक थियो कि क्रन्तिको मोर्चामा हुँर्कदो बैंसका युवायुवती धेरै थिए । उनीहरूका बीचमा प्रकृतिप्रदत्त प्रेम पलाउनु स्वभाविक थियो । त्यसलाई व्यवस्थित गरी संघर्षमा अतिरिक्त उर्जाको रुपमा उपयोग गर्नु थियो । त्यो पार्टीले गर्यो । हामीले त्यसलाई सहर्ष स्विकार गरेका थियौं ।

तल कर्नाली शान्त बगिरहेको थियो । अकस्मात बेजोड हुरी चलेजस्तो भयो यात्रामा । जुन दिशातिर हामी अघि बढिरहेका थियौं, त्यतैबाट मेसिन गनहरू पड्केको गडगडाहट आवाज आयो ।

यात्राको सबैभन्दा अँध्यारो दिन सम्झन्छु । युद्धका गतिविधि चरम उत्कर्षमा थिए । दुश्मनका किल्लाहरूमा हमला तिव्र गतिमा भैरहेको थियो । गाउँघरमा सत्ताका सेनाहरूको ज्यादती पनि तिव्र गतिमा भैरहेको थियो । मेरा बा पनि गाऊँ छोडेर अभियानमै हिँडिसकेका थिए । माझीहरूलाई गाउँबाट लखेटेको थियो दुश्मनको सेनाले । म, गौरव लगायत हाम्रो समुहको खोजी व्यापक भैरहेको छ भन्ने सूचना पाइएको थियो । हामी धेरै सजग र सुरक्षित योजना सहित हिँड्ने गथ्र्यौं । हामीलाई हरेक मान्छेप्रति शंका हुन्थ्यो । हामी जहाँकहीं पनि यथेष्ठ पूर्वसूचना सहित जान्थ्यौं । तर त्यो दिन हामीलाई गलत सूचना प्राप्त भएको रहेछ । तर कसैले सुराकी गरेछ सायद । हमी त्यो दिन कुईनेमा अभियान सम्पन्न गरेर तल पितमारीतिर जाँदै थियौँ । त्यो दिन चिसापानीबाट शाहीसेना माथि बढेको छैन भन्ने सूचना थियो । पितमारी झरेर माथि राजकाँडा जाने हाम्रो योजना थियो । गौरव, म र दुई अरु सहकर्मी थियौं । हामी कालेभीरको जंगलमा हिँडिरहेका थियौं । तल कर्नाली शान्त बगिरहेको थियो । अकस्मात बेजोड हुरी चलेजस्तो भयो यात्रामा । जुन दिशातिर हामी अघि बढिरहेका थियौं, त्यतैबाट मेसिन गनहरू पड्केको गडगडाहट आवाज आयो । आकाशमा गोलीका बथानहरू उड्दै हामीतिरै आइरहेका देखिए । भन्ज्याङ पारीको घुम्तीमा शाहीसेनाहरूको ठूलै जत्था देखियो । ठिक त्यतिबेलै आकाशमा पनि दुष्मनको हेलिकप्टर देखियो । त्यसले एकोहोरो गोला खसाल्न थाल्यो ।

सब चिज अकस्मात भयो । कुनै योजना बनाउने समय थिएन हामीसँग । सोच्ने समयसम्म थिएन मात्र हामीले गोला र गोली छल्नु थियो, मृत्युसँग जोगिनु थियो । हामीले बाटोमुनिको भीरतिर हाम फाल्यौं । ढुंगा र झाडीमा छेलिदै दगुर्न थाल्यौं । झाडीमा लुकेको ओडार भेटियो । भागेर मात्रै ज्यान जोगाउनु मुश्किल थियो । म त्यै ओडारभित्र घुसें । मेरै पछि अर्को एक कमरेड पनि गुफाभित्र पस्यो । बाँकी दुई जना कता कुन दिशातिर भागे कुन्नि । गोला पड्केका आवाजले जमिन थर्किन थाल्यो । ओडारको साँघुरो कापबाट तल कर्नाली बगर देखियो । बाँच्ने आशा बहुत कम थियो त्यस बेला । एक गोलीको आवाज सँगै ‘ऐया मरें !’ को आवाज पनि मिसिएर कानमा ठोक्कियो । मेरो हृदयमा छुरा रोपियो । त्यो आवाज गौरवको थियो । दुई हातले टाउको छोप्दै रन्थनिदै तल बगरमा भाग्दै गरेको देखियो ऊ । ठिक त्यही बेला पछिल्तिरबाट तिब्र गतिमा उड्दै आएको गोली उसको टाउकोमा बजारियो । ऊ ढल्यो । उसको अनुहार बालुवामा भासियो । उसको मुखबाट ऐया शब्द पनि निस्केन । मेरो प्रिय कमरेड मेरै आँखा अघिल्तिर सहिद भयो । मेरो जीवनको आधा तुइन चुँडियो । मेरो जीवनमा फुल्दै गैरहेको एक फूल बग्यो कर्नालीको पानीमा । त्यो बेला गोली गौरबको टाउकोमा हैन, मेरै टाउकोमा बजारिए जस्तो भयो । मेरो चेतना निकै बेरसम्म हराएको थियो । त्यो पीडा मैले कसरी सहन गरेहम्ला, ऐले पो अचम्ममा पर्छु ।

देश समाजका लाग्नुपर्ने एउटा काम हामीले गरिसकेका थियौं । पार्टीका लागि गर्नैपर्ने योगदान गरिसकेका थियौं । यो नितान्त व्यक्तिगत रोजाइको कुरा थियो । मैले स्वेच्छिक अवकाश रोजें ।

समय सदा एकैनास रहँदैन । क्रन्तिको बाटो पनि फेरिँदै गयो । गौरवको शहादतको तीन महिनापछि युद्धविराम भयो । त्यसपछि शासनसत्तामा एकपछि अर्को परिवर्तन हुदै गए । हामीले चार वर्ष जनमुक्ति सेनाको सरकारी क्याम्पमा बितायौं । सेना समायोजनको समय आयो । मलाई बाँकी जीवन सेनाको शिविरभित्र कैदीजस्तो भई बिताउन पटक्कै मन थिएन । देश समाजका लाग्नुपर्ने एउटा काम हामीले गरिसकेका थियौं । पार्टीका लागि गर्नैपर्ने योगदान गरिसकेका थियौं । यो नितान्त व्यक्तिगत रोजाइको कुरा थियो । मैले स्वेच्छिक अवकाश रोजें । अबको समय गाउँमा बिताउनु पर्छ । गाऊँलाई काम गर्ने युवाको आवश्यकता छ । ऐले त सत्ता परिवर्तन गर्ने क्रान्ति मात्रै सकिएको हो । गाऊँ बनाउने क्रन्ति त अब पो सुरु गर्नुछ । यहि सोचेर म घर फर्किएँ । फेरी हाम्रो घर उही पुरानो घरबाट सुरु भयो ।

हाम्रा दुई डुंगा तयार भए । पुरानो भन्दा केही ठूला, मजबुत । एक डुंगा बा खियाउन थाले, अर्को म । हाम्रो पनी फेरी यात्रा सुरु भयो ।

बाको स्वभाव अनौठो थियो । युद्धविरामपछि उनले पुनः डुंगा खियाउन सुरु गरे । उनको जलयात्रा पुनः सुरु भयो । मैले अब कुनै अरु नै काम गरौ भनेर अनुरोध गरें, तर मानेनन । “मैले डुंगा खियाउन छोडेँ भने बिस्तारै अरुले पनि छोड्छन । अनि मान्छे तार्ने काम कस्ले गर्छ ? तिमेरु जेसुकै गर, म त कर्णालीमा पुल नबनुन्जेल डुंगा खियाउन छोड्दैन । ऊ बेला पनि छोड्न मन कत्ति थिएन । ज्यानै जोगाउन मुस्किल परेपछि मात्रै छोडेको हो । पुर्खादेखि गर्दै आएको काम हामीले नगरे अरु कस्ले गर्छ ? रोजगारी खोज्न सहरै जानुपर्छ, नोकरी नै गर्नुपर्छ भन्ने के छ र ? अनि गाउँमा बस्ने सबैले नेता नै बन्नुपर्छ भन्ने पनि छैन । देशलाई त सबै प्रकारका काम गर्ने मान्छे चाहिन्छ । देशलाई त असल माझीहरू पनि चाहिन्छ । देश चलाउने ठूला नेताहरूले हामी माझीहरूबाट सिकुन–देशलाई भंगलाहरूबाट कसरी सुरक्षित गन्तव्यमा पुर्याउनु पर्छ भनेर… ।” बाको तर्क कति महान लाग्यो मलाई । अनपढ भएर पनि बाको चेतना कसरी त्यति बलियो भयो होला ? मैले पनि बालाई ढाडस दिने विचार गरे । हाम्रा दुई डुंगा तयार भए । पुरानो भन्दा केही ठूला, मजबुत । एक डुंगा बा खियाउन थाले, अर्को म । हाम्रो पानी फेरी यात्रा सुरु भयो ।

हामीले युद्धकालमा कर्णालीमा पुल हाल्ने योजना पहिलो प्राथमिकतामा राखेका थियौं । तर पार्टी सरकारमा सामेल भएको दश वर्ष पूरा भैसक्दा पनि कर्नालीमा पूल बन्ने कुनै सुरसार थिएन ।

राजनीतिक रुपमा देशमा व्यापक उथलपुथल भयो । ठूल्ठूला परिवर्तनहरू भए । राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था, संघियता स्थापना आदि भैसकेका थिए । तीन पटकसम्म आम निर्वाचन । सम्पन्न भैसकेका थिए । ठूला कम्युनिष्ट पार्टीहरू एक भएका थिए । गाऊँ केन्द्रसम्म सर्वहाराको प्रतिनिधित्व गर्ने सरकार बनेका थिए । एक दशकभित्रै यति धेरै परिवर्तन हुनु भनेको सामान्य कुरा थिएन । तर यति हुदाँसम्म आम मान्छेको जीवनशैलीमा के परिवर्तन आयो त ? यो प्रश्न भने यथावत थियो । हुन त यो प्रश्न गर्ने समय भैसकेको थिएन । राष्ट्रको अन्तिम लक्ष जीवनस्तर सुधार हो, त्यसले समय अवश्य लिन्छ तर सुव्यवस्थाको सुरुवात भने भैसक्नुपथ्र्यो । जुन चित्तबुझ्दो गरी भैरहेको थिएन । हामीले युद्धकालमा कर्णालीमा पुल हाल्ने योजना पहिलो प्राथमिकतामा राखेका थियौं । तर पार्टी सरकारमा सामेल भएको दश वर्ष पूरा भैसक्दा पनि कर्नालीमा पूल बन्ने कुनै सुरसार थिएन । बाले अझै कैलेसम्म डुंगा खियाउनु पर्नेहो, केही अत्तोपत्तो थिएन ।

गाउँघरमा पनि मेला महोत्सबहरू सुरु हुन थालेका थिए । सोल्टामा पहिलो पटक साँस्कृतिक तथा व्यापार मेला सुरु हुने दिन थियो । कर्णाली वरपरका धेरै गाऊँबाट मान्छेका लहर सोल्टा पुगे । बेलुकातिर उसै गरी घर फर्के । त्यो दिन जीवनमा सबैभन्दा बढी पटक डुंगा खियाए बाले । सधैंभन्दा बढी मान्छे त्यही दिन तारे कर्नालीमा । मैले मात्रै तीस खेप गरेकी थिएँ । मलाई लाग्छ, बाले मेरो भन्दा बढि नै खेप गरेहोलान् । बेलुका सम्म उनी निकै थाकिसकेका थिए । मैले धेरै पटक आराम गर्न भनिसकेकी थिएँ तर उनले मानेनन् । किनारमा उभिएका मान्छेलाई धेरै कुराउन चाहन्नथे बा ।

मैले यात्रुलाई पल्लो किनारमा पुर्याएर फर्किँदा बाको डुुंगा तलै पुगिसकेको थियो । त्यहाँ डुंगा मात्रै थियो, बा थिएनन् ।

सायद त्यो अन्तिम खेप गर्ने विचार थियो बाको । उनी त्यसका लागि पल्लो किनारबाट फर्किँदै थिए । उनी अति नै थाकिसकेका देखिन्थे । म एक खेप मान्छेलाई पारितिर लग्दै थिए, बा खाली डुंगा बारी फकिँँदै थिए । अकस्मात बाको डुंगाको गति र दिशा दुवै फेरिएको देखियो । उनको डुंगा आफ्नो सही दिशा छोडेर तलतिर बहेको देखियो । बाका हात चलिरहेका थिएनन । उनी आत्तिएको मैले टाढैबाट देखें । मेरो मनमा अर्को आँधी चल्न सुरु भयो । मैले बुझिसकेकी थिएँ–बाले डुंगा खियाउन सकिराखेका छैनन् । बाको डुंगा पानीको वेगसँग बगिरहेको छ । डुंगासँगै बा पनि बगिरहेका छन् । मेरो डुंगामा दश यात्रु सवार थिए । मैले उनीहरूलाई सुरक्षित पारी पुर्याउनु थियो । केही गरी म आत्तिएँ र अनियन्त्रित भएँ भने दश जनाको ज्यान कर्नालीमा बग्न सक्थ्यो । मैले यात्रुलाई पल्लो किनारमा पुर्याएर फर्किँदा बाको डुुंगा तलै पुगिसकेको थियो । त्यहाँ डुंगा मात्रै थियो, बा थिएनन् । मैले डुंगाको गति बढाएँ । बाको डुंगा पछ्याएँ । डुंगा त भेटाए तर बालाई भेटाउन सकेन । बालाई डुंगाभन्दा छिटो बगायो सायद कर्नालीले । मेरो जीवनमा अर्को बज्र ठोक्कियो । मेरो जीवनको तुइनको अर्को छेऊ पनि चुँडियो । त्यसपछि मेरो तुइनविहिन यात्रा सुरु भयो कर्णालीमा ।

गौरव जाँदा जीवनको एक फूल मात्रै बगेको थियो कर्णालीमा । यसपटक सिंगै फुलको थुंगा बगेर गयो कर्णालीको पानीमा, सदा सदाको लागि ।

(जनक रसिक सुदुरपश्चिम प्रदेश कैलालीका बासिन्दा हुनुहुन्छ । उहाँ मूलतः कविता एवम् गजलमा कलम चलाउनुहुन्छ । जनक आख्यान लेखनमा पनि सिद्धहस्त मानिनुहुन्छ । यस कथामा उहाँले जनयुद्धकालमा पश्चिम नेपालका विपन्न नागरिक जीवनका अनुभूतिका साथै उनीहरुको संघर्षमय जीवन कथालाई प्रस्तुत गर्नुभएको छ )


जनक रसिक
कथाकार 


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  • 2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares