नियात्राः सम्झना सहिदको


[ss_social_share]
लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार ११:०० मा प्रकाशित     
नियात्राः सम्झना सहिदको

“हामी बुडर आइपुग्यौँ । कैलाली र डोटीको सिमाना हो यो ।” रमेशले चिनाए यस ठाउँलाई ।

“बुडर कसरी हुन्छ र सिमानाको ठाउँ ? यो त बोर्डर होला, बोर्डर !” बसबाट उत्रँदै मोहन चापागाईले अरूको ध्यान तान्न खोजे । सबैजना बुडरलाई आँखाभरि राख्न आआफ्नो तालमा लागिहाले । मोहनको कुराले खासै भाउ पाएन । शरद, म, सीताराम र मोहन भने खेल्यौ एकछिन बुडर शब्दसँग ।

बुडर गाउँ सानो रहेछ तर सुन्दर । मदिरा निषेध गर्ने काममा लागेका छन् रे यहाँका मानिसहरू । कति राम्रो कुरा ! सूचनापाटी टाँगिएको थियो ।

“मदिरा छुटाउन हो कि मदिरा बिकाउन यो अभियान चलेको हो कुन्नि ?”

सहिद भीमदत्त पन्तलाई मार्न भारतीय सेनाहरू यो ठाउँसम्म आएका थिए रे । यसकारण पनि यो भेगमा सिङ्गै छतिवनको निक्कै राम्रो इज्जत रहेछ ।

सीताराम बरालको जिज्ञासा सुनेर अलिअलि लाज मान्दै एकजना स्थानीय युवक हामी सामु आए “मदिरा निषेधका नारा, जुलुस, गोष्ठी, सेमिनार, पर्चा, पम्पलेट, ठुलाठुला सूचना बोर्ड टाँगेपछि कति ठाउँमा गोप्य रूपमा अझ बढी मदिरा बिक्ने गरेको पनि सुनिन्छ । कति ठाउँमा अझ चर्को मूल्यमा मदिरा बेचबिखन हुने गरेका पनि होलान् । त्यसैले कतै त्यस्तै पो हुने हो कि यहाँ पनि भनेर चिन्ता गरेको हो ।” सीतारामले सबै कुरा बुझाए ती युवकलाई । सायद उनको चित्त बुझ्यो नै होला । उनले खुला रूपमा मदिरा बिक्री हुन चाहिँ धेरै घटेको कुरा सुनाए ।

बुडर छतिवन गाविसमा पर्ने एउटा सानो गाउँ रहेछ ।

सहिद भीमदत्त पन्तलाई मार्न भारतीय सेनाहरू यो ठाउँसम्म आएका थिए रे । यसकारण पनि यो भेगमा सिङ्गै छतिवनको निक्कै राम्रो इज्जत रहेछ । यिनै युवकले बताए यी कुरा पनि ।

भीमदत्त पन्त भन्नेबित्तिकै मैले सम्झिएँ ती महान क्रान्तिकारी सहिदलाई । नेपाली स्पार्टाकस जसले सुदूरपश्चिममा किसानहरूको आन्दोलन उठाएका थिए । राजनीतिक र सामाजिक चेतनाको ज्योति बालेका थिए ।

मैले राजनीतिक ज्ञान प्राप्त गर्दै गर्दा सुनेको थिएँ यी नायकको कहानी । यिनै नायकको थलोमा आइपुगेको कुराले मैले आफूलाई गौरवान्वित ठानेँ ।

“कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो ।” उनको मूल नारा थियो रे ।
मैले राजनीतिक ज्ञान प्राप्त गर्दै गर्दा सुनेको थिएँ यी नायकको कहानी । यिनै नायकको थलोमा आइपुगेको कुराले मैले आफूलाई गौरवान्वित ठानेँ । मनमा घुम्न थाले सहिद भीमदत्त पन्तका बारेमा मैले सुनेका, पढेका धेरै कुराहरू चक्रझैँ फन्फनी ।

भारतमा अङ्ग्रेज भगाओ आन्दोलनमा लाग्दा त्यहीँ डेढ वर्ष जेल बसेका थिए उनी । नेपाली क्रान्तिलाई अगाडि बढाएर राणाहरूको अत्याचारबाट देश र जनतालाई मुक्त गर्ने महान् अभियानमा लाग्दा उनले आफ्नै सेना बनाएको मैले पढेको थिएँ ।

राणाहरूको जहानियाँ शासनको चर्को रूप प्रकट भइरहेका बखतमा जन्मिएका थिए पन्त । राणाहरूकै समयमा राजनीतिक र सामाजिक चेतनाले प्रज्वलित पनि भएका थिए । भारतमा अङ्ग्रेज भगाओ आन्दोलनमा लाग्दा त्यहीँ डेढ वर्ष जेल बसेका थिए उनी । नेपाली क्रान्तिलाई अगाडि बढाएर राणाहरूको अत्याचारबाट देश र जनतालाई मुक्त गर्ने महान् अभियानमा लाग्दा उनले आफ्नै सेना बनाएको मैले पढेको थिएँ । राणा शासन अन्त्य हुनुअगावै पन्तले आफ्ना सेना र सहयोद्धाको साथले डडेलधुरालाई केन्द्रीय शासनबाट मुक्त गराएका थिए । सरकारी संयन्त्र सरह संयन्त्र बनाएर गभर्नर भएका पन्तलाई सात सालको क्रान्तिपछि बनेको सरकारले गिरफ्तार गर्यो। गरिब किसान, मजदुर, दलित, जनजाति र महिलाहरूको समुच्च मुक्तिको कर्ममा लागेका पन्तलाई शत्रु देखेछ प्रजातन्त्र प्राप्त गरेको राज्यले ।

मलाई उनका सहयोद्धाहरूका बारेमा पनि जान्न त मन थियो तर कोसँग सोध्ने यहाँ ? न समय न उपयुक्त मानिस । गाडी दौडिरहेको थियो । मेरो मन पनि दौडिरहेको थियो । धेरै वर्षअघि एकपटक निरञ्जन गोविन्द वैद्यले काठमाडौँ, भोटाहिटीको आफ्नै पुस्तक पसलमा गर्नुभएको कुरा सुनेको थिएँ मैले । निरञ्जन गोविन्द वैद्य, शम्भुराम श्रेष्ठ, मनमोहन अधिकारीहरूसँग आफैँ सम्पर्क गरी भीमदत्तले विचारलाई अझ धारिलो बनाएका थिए रे ।

उनले हजारौँ किसानहरूको अगुवाइ गरेर कञ्चनपुर जिल्लाको ब्रह्मदेव मण्डीबाट गोदाममा लुकाएर राखिएका सयौँ बोरा नुन र चामल जनतालाई बाँडेका थिए रे ।

हिजो राति महेन्द्रनगरमा खाना खाँदै गर्दा कञ्चनपुरका लोकविक्रम थापाले सुनाएका कुराहरू सम्झनामा आए । जनताको हितमा लागिपर्दा जीवनको जस्तोसुकै जोखिम उठाउन सक्थे रे भीमदत्त पन्त । उनले हजारौँ किसानहरूको अगुवाइ गरेर कञ्चनपुर जिल्लाको ब्रह्मदेव मण्डीबाट गोदाममा लुकाएर राखिएका सयौँ बोरा नुन र चामल जनतालाई बाँडेका थिए रे । त्यस्तै त्यसबेलाको कञ्चनपुर र डडेलधुराको सदरमुकाम बेलौरीमा हजारौँ जनताको विद्रोहको नेतृत्व गर्दै बडाहाकिमलाई कुर्सीबाट हटाएका थिए रे । त्यतिमात्र हैन त्यो कुर्सीमा एकजना किसान भुख्खा राना थारूलाई बसालेका थिए रे । २००९ सालमा पन्तलाई गिरफ्तार गरेर सरकारले पछि २०१० सालमा जेलमुक्त गरेछ । त्यसपछि पनि उनी राजनीतिमै लागेछन् निरन्तर ।

मातृकाप्रसाद कोइरालाको सरकारले त्यसबेला भीमदत्तलाई पक्रेर या मारेर उनको टाउको सरकारलाई बुझाउनेले भा.रु. ५०००।– पाउने घोषणा गरेको थियो रे ।

शासकहरूलाई ठुलो चुनौती भएछ । जसरी पनि पन्तलाई पक्राउने वा मार्ने योजना बनाएछ, त्यस बेलाको सरकारले । भीमदत्तलाई नै समात्न भारत सरकारसँग सहयोग मागेको रहेछ नेपाल सरकारले । कसरी नेपालमा आफ्नो उपस्थिति कायम गरौँ भनिरहेको भारतलाई यो अवसर बनेछ । मातृकाप्रसाद कोइरालाको सरकारले त्यसबेला भीमदत्तलाई पक्रेर या मारेर उनको टाउको सरकारलाई बुझाउनेले भा.रु. ५०००।– पाउने घोषणा गरेको थियो रे । अहिले पनि खासगरी कञ्चनपुरका राना थारू किसान र धेरै जनताले भीमदत्त पन्तलाई आफ्नो महान् नेताका रूपमा सम्झना गर्दारहेछन् । लोकविक्रमले नै सुनाएका थिए यो पनि मलाई ।


नन्दु उप्रेती


(नन्दु उप्रेती मूलतः कविका रुपमा परिचित हुनुहुन्छ । यो नियात्रा लेखमा उहाँले पश्चिम नेपालका क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सम्झना गर्नुभएको छ । हालसालै उहाँको कालापानी यात्रा नामक नियात्रा कृति प्रकाशित भएको छ ।)

नन्दु उप्रेतीको नियात्रा–प्रेमपूर्ण सम्झना प्रिय प्रेमसिंह

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares